बुबाआमा डाक्टर बनाउन चाहनुहुन्थ्यो


शारदा शर्मा, साहित्यकार एसएलसी पास हुदा कस्तो अनुभूति गर्नुभएको थियो ? भविष्यमा के बन्ने सपना देख्नुभएको थियो ? बिरामी थिएँ त्यतिखेर । सेकेन्ड डिभिजन आएकाले खुसी त थिइनँ, तैपनि राम्ररी नपढी पास भएकोमा ठीकै लागेको थियो । त्यतिखेर हामी केटाकेटीको भविष्यको सपना प्रायः बाबुआमाले नै देख्थे । हामी पनि त्यसलाई सामान्य नै ठान्थ्यौँ । त्यसमाथि तेह्र वर्ष पुगेकी मात्र थिएँ एसएलसी दिँदा । शैक्षिक परामर्श दिने चलन थिएन । आफैंले के गर्ने भन्ने निर्णय लिन सक्षम पनि थिइनँ क्यारे । मेरी आमाले पनि पढ्नुभएको थिएन, घरमा उच्च शिक्षित मान्छे बुबा नै हुनुहुन्थ्यो । बुबाले नै निर्णय गर्नुभयो । छोरीलाई डाक्टर बनाउने रहर थियो बुबालाई, उहाँको त्यो सपनाचाहिँ मैले पूरा गर्न सकिनँ । सपना त अहिले पनि मैले खासै देखेकी छैन, तर जीवन भने ठीकै चलिरहेछ । 

छोराछोरीको सपना बाबुआमाले नै देखिदिनु कत्तिको राम्रो हो ?केटाकेटीको पढाइले राम्रो बजार पाओस्, पढेर तिनले प्रतिष्ठित जीवन बिताउन सकून् भन्ने चाहना अभिभावकको हुनु अन्यथा होइन । तर, केटाकेटीको पनि त्यसमा रुचि र सहमति हुनुपर्छ भन्ने मात्रै कुरा हो । अचेल एसएलसी दिँदासम्म केटाकेटी तुलनात्मक रूपमा बढी परिपक्व भइसक्छन् जस्तो लाग्छ मलाई । तुलनात्मक रूपमा शैक्षिक सूचनाहरू पनि बढी उपलब्ध छन् अहिले । केटाकेटीले आफ्नो छनोट गर्न सक्ने वातावरण पनि बन्दै छ क्रमशः । यद्यपि शैक्षिक परामर्श पर्याप्त र विश्वसनीय भएजस्तोचाहिँ अझै लाग्दैन । अझै पनि एसएलसीमा राम्रो अंक ल्याएका विद्यार्थी डाक्टर, इन्जिनियर नै बन्छौँ भनेर अन्तर्वार्ता दिइरहेका हुन्छन् । मुलुकभित्र अन्य क्षेत्रमा गरिखाने त्यति सम्भावना नदेखेर पनि हुनसक्छ । 

एसएलसीपछि कुन विषय लिएर पढ्नुभयो ? विज्ञान विषय लिएर अमृत साइन्स कलेजमा भर्ना भएँ । साइन्स पढाउने राम्रा कलेज त्रिचन्द्र र अमृत नै थिए । सामान्य थियो कलेज-शुल्क । प्राइभेट कलेज थिएनन् । विज्ञानमा भर्ना हुने विद्यार्थी प्रायः राम्रो अंकमा पास हुनेहरू राम्ररी पढ्नुपर्छ भन्ने हुन्थ्यो । विज्ञानइतरका विद्यार्थीजस्तो अरू बाह्य क्रियाकलापमा त्यति संलग्न हुँदैनथ्यौँ हामी । त्यसमाथि हामी काठमाडौंबाहिरबाट आएर डेरामा बसेर पढ्नेलाई यहीँका रैथाने विद्यार्थीको भन्दा थप चुनौती हुन्थ्यो नै । पास भए पनि नभए पनि घरमा भात पाकिरहने अवस्था हाम्रो हुन्नथ्यो ।

तपाईंको समयको प्रमाणपत्र तह र अहिलेको प्लस टु तहबीच के भिन्नता छ ?हामीले पढ्दा कमसेकम मुलुकभित्र एकै किसिमको शिक्षा उपलब्ध थियो सबैलाई । प्राइभेट प्लस टु र कलेज यसरी खुलेका थिएनन् । सक्नेले आफ्ना केटाकेटी बाहिरै पढ्न पठाउँथे । प्रमाणपत्र तहमा विज्ञान पढ्ने हामी मध्यमवर्गीय परिवारका केटाकेटीको ध्यान धेरै नम्बर ल्याएर कोलम्बो प्लान वा अरू छात्रवृत्ति पाउनेसम्म हुन्थ्यो । अचेल भने धेरै विद्यार्थीको ध्येय जसरीतसरी देशबाहिर विकसित मुलुकमा जाने हुने गर्छ । देशभित्रै राम्रो काम पाएर राम्रो जीवनयापन हुनसक्छ भन्ने धेरैलाई लाग्दैन । 
यतिखेर प्रस्ट दुई किसिमको शिक्षा उपलब्ध छ मुलुकभित्र, दुईथरी नागरिक तयार भइरहेछन् । एकथरीले सरकारी र सामुदायिक स्कुल, कलेजमा मात्रै पहुँच राख्न सक्छन् । यी शैक्षिक संस्थामा भने पार्टी-राजनीति बढी हुन्छ । पढाइ हुनेभन्दा हडताल हुने दिन बढी हुन्छन्, शिक्षक आउँदैनन्, न्यूनतम सुविधा पनि हुँदैन । शिक्षाको स्तर पनि निकै कमजोर छ । सरकारी र सामुदायिक कलेजका शिक्षक प्राइभेट कलेजमा गएर त राम्रो पढाउँछन् तर यी संस्थामा भने प्रायः जागिर टिकाउन मात्रै बसेको देखिन्छ । यस्ता कलेजबाट निस्केका विद्यार्थीले प्राइभेट कलेजका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यसैले राम्रो रोजगारीका अवसरबाट यिनीहरू वञ्चित हुनु परिरहेको छ । 

दुईथरी शिक्षाको प्रभाव कस्तो देखिएको छ समाजमा ?प्राइभेट कलेज निकै महँगा छन् । पैसा तिर्न सक्नेले आफ्ना छोराछोरी प्राइभेट कलेजमै पढाउँछन् । सरकारी र सार्वजनिक कलेजको घट्दो साखका कारण साधारण मध्यमवर्गीय परिवारले पनि अनेक तारतम्य मिलाएर ऋणधन गरेर आफ्ना केटाकेटी प्राइभेट कलेजमै पढाइरहेछन्, जति नै दुःख भए पनि केटाकेटीको शिक्षामा सम्झौता गर्न चाहँदैनन् उनीहरू । यी केटाकेटीले बढी एक्स्पोजर पाउँछन्, बढी बाठा र मुखर पनि छन् त्यतिखेरका हामीभन्दा । धनाढ्य परिवारका केटाकेटीसँग नयाँनयाँ फेसन, मोबाइल, ल्यापटपदेखि लिएर सबै कुरामा प्रतिस्पर्धा गर्न नसक्दा त्यहीँ पढ्ने मध्यमवर्गीय केटाकेटीमाथि प्रशस्त मनोवैज्ञानिक दबाब परेको पनि देखिन्छ । त्यसको मार मध्यमवर्गीय परिवारका अभिभावकले भोगिरहेछन् । 
पैसाका निम्ति मिहिनेत गर्न नपर्ने धनाढ्य बाबुआमाका धेरै प्लस टुका केटाकेटी संकटमा पनि छन् । धेरै केटाकेटीमा लागुपदार्थको लत बढेको देखिन्छ । परम्परागत नैतिक मूल्यमाथि तिनको विश्वास छैन, आफू परिपक्व छैनन्, संसारभरिका कुरा नक्कल गर्न र प्रयोग गर्न खोज्छन् । उमेरकै हिसाबले पनि धेरै संवेदनशील हुन्छन् । साथीभाइको संगतले नचाहिने लतमा फस्न पनि पुग्छन् । यस्ता केटाकेटी र तिनका अभिभावकलाई समेत परामर्श दिने, मार्ग निर्देशन गर्ने व्यवस्था न स्कुलमा छ न प्लस टुहरूमा ।
अहिलेका सबै केटाकेटीले हामीले भन्दा बढी प्रतिस्पर्धा व्यहोर्नु परिरहेको छ, तिनका सामु बढी चुनौती छन् र बोझ पनि बढी छ जस्तो लाग्छ मलाईचाहिँ । 

अहिले प्लस टु तह फेसनजस्तै बनेको छ । शिक्षामा व्यापारीकरण बढ्यो भन्ने गुनासो पनि उत्तिकै बढेको छ । यस्तो किन भएको होला ?प्रतिस्पर्धा नराम्रो कुरा होइन, विद्यार्थीलाई छनोटको अवसर प्राप्त हुन्छ यसबाट । शिक्षाकै व्यापारीकरण पनि पूरै रोक्न सकिने कुरा होइन । बजार देखेरै मान्छेले व्यापार सुरु गर्छ । व्यापार गर्नेहरूले आफ्नो उत्पादनको विज्ञापन गर्नु सामान्य हो । शिक्षाका निम्ति विदेशमा खर्च हुने नेपाली पैसा नेपालकै कलेजमा खर्च गर्नुलाई सकारात्मक रूपमै लिनुपर्छ । तर, शैक्षिक संस्थाहरूमा शिक्षाको गुणस्तर कायम राख्न र तिनलाई ठगीको केन्द्र बन्नबाट रोक्ने दायित्व राज्यको हो । यस्ता शैक्षिक संस्था खोल्न अनुमति दिँदा निश्चित मापदण्ड र सर्तहरू तोकेर नियमित अनुगमन गर्नु जरुरी पर्छ । विश्वसनीय शैक्षिक परामर्श दिने ठाउँहरू भएमा यस्ता प्रचारप्रसार र तानातानले केही फरक पार्दैन । एसएलसी दिएका विद्यार्थी र तिनका अभिभावकलाई त्यतिखेरै यस्ता विषयमा परामर्श दिने व्यवस्था हुनु सबैभन्दा राम्रो हुन्छ ।
यसबाहेक सामान्य आर्थिक अवस्थाका केटाकेटी पढ्ने सरकारी र पब्लिक कलेजको शिक्षाको स्तरलाई उन्नत बनाउन अनिवार्य छ । यतिखेर यस्ता स्कुल-कलेजमा पार्टी-राजनीति बढी भइरहेछ । पैसा तिरेर पढ्न नसक्नेका निम्ति पनि राज्यको सहयोग चाहिन्छ । नाफामुखी प्राइभेट कलेजले यसमा सघाउने नीति बन्नुपर्छ । स्तरीय शिक्षा मुलुकका सबै हैसियतका नागरिकको न्यूनतम आधारभूत आवश्यकता हो ।
यतिखेर शिक्षाक्षेत्रमा भएका यी अव्यवस्था मूलतः राज्य गैरजिम्मेवार भइदिँदा पैदा भएका हुन् । केही शिक्षाविद्ले राजनीतिज्ञलाई सही बाटो हिँड्न प्रेरित गर्नुपर्नेमा मिलेमतोमै पैसा कमाउने उद्योग गर्दा पनि यो अवस्था आएको हो । प्लस टुमा पुगेका केटाकेटी सबैभन्दा संवेदनशील हुन्छन् । तिनलाई बहकाउन र ठग्न अरू कुनै पनि उमेर समूहका मान्छेलाई भन्दा सजिलो हुन्छ । किनकि ती आफ्ना अभिभावकलाई पनि आफ्ना कलेजका मामिलामा हस्तक्षेप गरेको मन पराउँदैनन् । 

सरकारले १२ कक्षासम्मलाई माध्यमिक तह भनेको छ र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क लिन पाउने संवैधानिक व्यवस्था पनि छ । तर, निःशुल्क पढ्न पाउने एउटा पनि प्लस टु छैन । यो समस्यालाई सरकारले कसरी समाधान गर्नुपर्ला ?हुन त १२ कक्षालाई उच्च माध्यमिक तहका रूपमा स्कुलभित्रकै शिक्षामा समावेश गर्ने हेतुले प्रमाणपत्र तह खारेज गर्ने निर्णय गरिएको थियो क्यारे । त्यो हुन सकेन र १२ कक्षा भनेको स्कुलभन्दा माथिको उच्च शिक्षाकै आधार शिक्षाका रूपमा निकै महँगो बनाएर धमाधम छुट्टै विद्यालय खुल्न थालेपछि प्रमाणपत्र तह खारेज गर्ने निर्णय अपरिपक्व थियो भन्ने देखिँदै छ । खासगरी काम गरेर पढ्नेहरूलगायत कमजोर आर्थिक अवस्थाका केटाकेटीलाई त्यस निर्णयले निकै अप्ठ्यारो पारेको छ । 
यथार्थ के हो भने शिक्षा निःशुल्क हुन सक्दैन । निःशुल्क भने पनि या त राज्यले त्यसको भार उठाउनुपर्छ वा कुनै परोपकारी संस्था वा व्यक्तिले । आर्थिक भार उठाइदिनेले राम्रो अनुगमन गरेन भने निःशुल्क शिक्षा असफल हुने सम्भावना बढी हुन्छ । सरकारी भनेपछि जे पनि भत्कने-बिग्रने चलन भएको हामीकहाँ सरकारले चलाउने निःशुल्क प्लस टु भयो भने पनि त्यसको अवस्था के हुन्छ, ठूलो प्रश्न छ । सरकारी हुनेबित्तिकै त्यहाँ राजनीति हुन थाल्छ । तर पनि प्रवीणता प्रमाणपत्र तहको क्षतिपूर्ति त गर्नैपर्छ । आशा गरौँ, राज्यले राम्रो अनुगमन गरेर निःशुल्क वा सरल शुल्कमा प्लस टु शिक्षा चलाउला । 

कतिपय विद्वान् प्लस टु पुस्तामा अध्ययनप्रतिको गम्भीरता कम र उपभोक्तावादी संस्कृतिको प्रभाव बढी छ भन्छन् । यो पुस्ताको जीवनशैलीलाई कसरी हेर्नुभएको छ ? यो दोष विद्यार्थीलाई मात्र लगाउन मिल्दैन । यतिखेर उपभोक्तावादी संस्कृतिबाट हामी को प्रभावित छैनौँ ? अहिलेका केटाकेटीले अत्यधिक एक्सपोजर पाएका छन्, हामीले नै दिएका छौँ । त्यस्तैमा हुर्केका छन् ती । त्यसैले विद्यार्थीले कपाल पाल्नु, जेल हाल्नु, मुन्द्री लगाउनु वा छोटा स्कर्ट लगाउनुलाई नै हामीले समस्या ठान्नुहुँदैन कि ? यतिखेरको समस्या मूल्यपद्धतिको समस्या पनि हो जस्तो लाग्छ मलाई । हाम्रो पुस्ताको मूल्य-मान्यता र हाम्रा केटाकेटीले पाएको एक्स्पोजरबीच धेरै नै तालमेल नहुँदा पनि यस्तो भएको हो । 
प्लस टुमा पढ्ने केटाकेटी कुनै पनि नयाँ कुराबाट प्रभावित हुनु सामान्य हो । मूल कुरा तिनले शिक्षा आर्जन गर्ने आफ्नो मूल उद्देश्य नबिर्सून्, आफूलाई र अरूलाई हानि नपुर्‍याऊन्, जिम्मेवार बनून् भन्ने मात्रै हो । त्यसनिम्ति केटाकेटीलाई पढ्न रुचि र रहर लाग्ने वातावरण हुनुपर्छ कलेजमा । तिनका तनाव, द्विविधा र समस्यालाई पनि सुन्ने, बुझ्ने र सम्बोधन गर्ने सजिलो विश्वासिलो ठाउँ प्लस टु कलेजले बनाउनुपर्छ । 

राम्रो प्लस टु खोजेर भौँतारिइरहेका विद्यार्थी र अभिभावकलाई के सुझाब दिन चाहनुहुन्छ ?विश्वसनीय ठाउँ वा व्यक्तिबाट राम्रो जानकारी लिएर मात्र केटाकेटीलाई आफूले खोजेअनुसारको शिक्षा हासिल गर्न सघाउने प्लस टु कलेजमा भर्ना गर्नु उपयुक्त होला ।

प्रस्तुति : याम संगीतफोटो सौजन्य : अंशु शर्मा



source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login