अजिता घिमिरे सर्लाही श्रीमानको सहारा बेगर पनि बाँच्न सकिदैन भन्ने मान्यतालाई चुनौती दिंदै सर्लाहीको परवानीपुर गाविसकी एक महिलाले आफ्नै कमाईमा बाँचेर देखाई दिएकी छन् । ब्लड क्यान्सर भएर अस्पताल भर्ना भएका बेला अपस्तालमै छाडेर श्रीमान् वेपत्ता भए पछि बेसहारा बन्नु भएकी परवानीपुर गाविस वडा नं ९ घर भएकी गीता देवकोटाले आफ्नै संघर्षमा बाँचेर देखाई दिनु भएको हो । देवकोटाका अनुसार ब्लड क्यान्सर भए पछि काठमाण्डुको एक अस्पतालमा भर्ना भएका बेला गत २०६६ साल चैतमा अस्पतालमै अलपत्र छाडेर श्रीमान् भागेका थिए । त्यस पछि आफ्नो बुवाको सहारामा उपचार पूरा गरेर घर फर्किए पछि आफैले संघर्ष गरेर जीवन निर्वाह गर्न थालेको देवकोटा सुनाउनु हुन्छ । सय कडा दुई रुपैयाँ ब्याजमा साहु सँग १५ हजार रुपैयाँ ऋण झिकेर गत फागुन देखि देवकोटाले छिमेकी गाविस कालिञ्जोरको वडा नं।७ र ८ को सिमानामा रहेको पिपल चौतारोमा कटघेरा पसल गरेर आफ्नो एक्लो जीवन मात्र होईन दुई छोरीको समेत पालन पोषण गर्दै आउनु भएको छ । देवकोटाले किराना सामानका साथै चिया, चाउमिन, चटपटे समेत विक्री गर्ने गर्नु भएको छ । दैनिक पाँच सयदेखि हजार रुपैयाँ सम्मको व्यापार हुने गरेको र खर्च कटाएर दैनिक दुई सय देखि तीन सय सम्म खुद आम्दानी हुने गरेको उहाँको भनाई छ । यही व्यवसायबाट पसल सञ्चालनका लागि झिकिएको साहूको १५ हजार ऋण चुक्ता गरिसकेको उहाँ बताउनु हुन्छ । तर ब्लड क्यान्सरको उपचारमा लागेको दुई लाख मध्ये ५० हजार रुपैयाँ ऋण भने अझै बाँकी रहेको उहाँले बताउनु भयो । पसल गर्नु भन्दा अघि खसी बाख्रा पालन गरेर उपचारमा लागेको ऋण घटाएको उहाँले बताउनु भयो । परवानीपुरमै आफ्नो घर तथा माईती घर भए पनि कसैको सहयोग विना आफ्नै संघर्षले ११ वर्ष र ९ वर्षकी दुई छोरीलाई पढाउने खर्च समेत पुर्याई रहेको देवकोटाले जानकारी दिनु भयो । जीवनमा हार नखाईकन मेहनत र संघर्ष गर्ने हो भने श्रीमान् विना पनि बाँच्न सकिने उहाँको अनुभव छ
स्थानिय समाचार
»
श्रीमानको सहारा बेगर पनि बाँच्न सकिदैन भन्ने मान्यतालाई चुनौती i
श्रीमानको सहारा बेगर पनि बाँच्न सकिदैन भन्ने मान्यतालाई चुनौती i
Tags:
स्थानिय समाचार
0 commentaires