सार्वजनिक यातायातमा महिलालाई 'यौनजन्य दुर्व्यवहार'


यस्तो दुर्व्यवहार अपराध हो । यस्तो अपराधमा प्रहरीमा नगई सिधै अदालत जान पाइन्छ । एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुने प्रावधान छ तर महिलाहरूमा चेतनाको कमीले यो अपराध हो भन्नेसमेत थाहा पाउँदैनन् ।
काठमाडौं, कार्तिक २७ - अनामनगर घट्टेकुलोकी गीता खतिवडा सार्वजनिक सवारीमा हुने दुव्र्यवहारबाट हैरान छिन् । दिनहुँ यात्रा गर्दा दुर्व्यवहार भोग्नुपरेको उनले सुनाइन् । पाटनस्थित हिमाल मिडियामा कार्यरत उनले पुरानो बसपार्कदेखि पाटक ढोकासम्म दैनिक यात्रा गर्नुपर्छ । 'यात्रुहरूको भीडभाडमा ठेलमठेल गर्नेहरूले अनावश्यक दुःख दिएको उनले सुनाइन् ।  उनले भनिन्, 'हमेसा सचेत भएर यात्रा गर्दासमेत खराब आचरण भएका व्यक्तिबाट जोगिन मुस्किल पर्छ ।' यात्रामा असहज भएपछि त्यतिबेलै प्रतिकार गरे पनि प्रहरीमा निवेदन नगरेको उनले बताइन् । 'प्रहरीसम्म पुग्दा पीडक कहाँ पुगेको हुन्छ,' उनले भनिन्, 'प्रहरीमा निवेदन दिएर अलमलिने समय हुँदैन ।'    सार्वजनिक सवारीमा युवतीलाई जिस्क्याउनु, असहज हुने गरी धकेल्नु, छुनु, चलाउनु, अश्लील शब्दहरू प्रयोग गर्नु यौनजन्य दुर्व्यवहार भएको अधिवक्ता मीरा ढुंगानाले बताइन् । 'तर जनचेतनाको कमीले सार्वजनिक सवारीमा हुने दुव्र्यवहार अपराध हो भन्ने अधिकांशलाई थाहा छैन,' उनले भनिन्, 'यस्तो अपराध भएमा प्रहरीमा नगई सिधै अदालत जान सकिन्छ ।'  उनका अनुसार सार्वजनिक स्थलमा यौनजन्य अपराध गर्ने व्यक्तिलाई एक वर्षको कैद र दस हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ । मुलुकी ऐनको आशय करणीको महलमा यस्तो सजायको प्रावधान छ ।  सवारीमा हुने दुव्र्यवहार अपराध भए पनि पीडितले यसलाई ठूलो समस्याका रूपमा नलिएको उनको अनुभव छ । 'युवती र महिलाले तत्काल प्रतिकार गरे केही हदसम्म नियन्त्रण हुन सक्छ,' यात्रुहरू सचेत हुनु जरुरी भएको बताउँदै उनले भनिन्, 'सार्वजनिक स्थलमा हुने यौनजन्य दुव्र्यवहारबारे नयाँ र स्पष्ट कानुनको व्यवस्था गर्नुपर्छ ।'  सार्वजनिक सवारीमा दुर्व्यवहार भएको देखेर पनि प्रहरीले केही गर्न नसकेको उनले आरोप लगाइन् । 'आफ्नै आँखा अगाडि दुर्व्यवहारका घटना भएको देखे पनि प्रहरीले कारबाही गर्दैनन् । कहिलेकाहीँ परेका उजुरीको समेत कार्यान्वयन हुन नसक्दा यस्ता घटना दिन प्रतिदिन बढेको हो ।'  प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौं व्यक्तिसँग जोडिएको यस क्षेत्रलाई शिष्ट, मर्यादित र सुरक्षित बनाउनुपर्ने आचारसंहितामा उल्लेख छ ।   खासगरी यात्राका क्रममा महिला, युवती, बालबालिका, वृद्धवृद्धा तथा शारीरिक अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ ।   तर यसको कार्यान्वयनका लागि ट्राफिक प्रहरी नै सक्रिय देखिँदैनन् । सवारी नियम पालना गराउन चौबिसै घन्टा सडकमा तैनाथ रहने ट्राफिक प्रहरीले सवारीभित्र भएका यस्ता दुर्व्यवहारका घटना नहेर्ने बताए ।   महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले आफूहरूले सवारी र ट्राफिक नियमसम्बन्धी काम गर्ने जानकारी दिए ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login