एकको मृत्यु, १९ घाइते- ध्रुव दंगाल, सिन्धुपाल्चोक, कात्तिक २७ - बाह्रबिसेबाट काठमाडौँ गइरहेको बा २ ख ६२५९ नम्बरको यात्रुवाहक बस आज बिहान सवा ७ बजे अरनिको राजमार्गको सुकुटेबाट सुनकोशी नदीमा खस्दा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन्। ती मध्ये १५ जनाको धुलिखेल अस्पतालमा र ३ जनाको खाडीचौर अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते एक जनालाई धुलिखेल अस्पतालले काठमाडौँको टिचिङ अस्पताल रिफर गरी पठाएको छ। जिल्ला प्रहरी कार्यालय खाडीचौरका सई वीरेन्द्र रायमाझीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको बा ४६ प ८२२२ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा बस सुनकोशीमा नदी किनारमा खस्न पुगेको हो। घटनामा मृत्यु हुने दोलखा लोकथाङ २ का ३२ वर्षीय अर्जुन खड्का सोही मोटरसाइकल चालक हुन्। उनी तातोपानी जाँदै थिए। अस्पताल पुर्याएपछि उनको मृत्यु भएको थियो। बस भित्तामा ठोक्किदाँ ९ घाइते, ४ गम्भिर यसैगरी काकडभित्ताबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान चितवनको मुग्लिन नजिकै नाल्दी खोलामा दुर्घटना हुँदा ९ यात्रु घाइते भएको नागरिकन्युजकर्मी समुन्द्र पौडेलले जनाएका छन्। घाइते मध्ये ४ को अवस्था गम्भिर छ। घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। वर्षाका कारण सडकमा चिप्लिएर ना ३ ख ७३७५ नम्बरको बस सडक किनारको भित्तामा ठोकिएको हो। दुर्घटनाका कारण अवरुद्ध पृथ्वी राजमार्ग डेढ घण्टापश्चात् क्रसरले बस हटाएपछि बिहान ७ बजेदेखि सञ्चालन भएको थियो।
source:-nagriknews