विमानस्थलमा चेलीको लस्कर

होम कार्की/दिनेश रेग्मी काठमाडौं/कतार, अषाढ १८ - बल्ल आइयो,' लामो श्वास फेर्दै पोखराकी उजी तिमल्सिनाले भनिन्, 'स्वदेश आइन्छ भन्ने लागेकै थिएन ।' तिमल्सिनासहित ५९ जना महिलाले शुक्रबार साँझ आफ्नो भूमिमा पाइला राख्न पाउँदा खुसीको सीमा थिएन । उजीले सुनाइन्, 'घर आउनका लागि ८ महिना लामो समय प्रतीक्षा गर्नुपर्‍यो ।' त्रिभुवन विमानस्थलको आगमन कक्षबाट बाहिर निस्किरहेका युवती हर्षले एक अर्कामा अंकमाल गर्न व्यस्त थिए । सूचना नभएर थोरैको मात्र आफन्त विमानस्थल पुगेका थिए ।  कुवेतस्थित नेपाली दूतावासले उद्धार गरेर पठाएका उनीहरूका दुःख कथा आ-आफ्नै थिए । २५ दिन जेल बसेर दूतावासको शरणमा पुगेकी उजी कम्पनीको काम भनेर एजेन्टलाई एक लाख २५ हजार बुझाएर कुवेत गएकी रहिछन् । 'कहाँको कम्पनी हुनु र ? चार वर्ष घरको काममा बिताएँ,' उनी भन्दै थिइन्, 'तर एक महिनाको पनि तलब पाएकी छैन । अदालतमा मुद्दा हालेकी छु । दूतावासले लडिदिन्छु भनेर आएको ।'  उनीसँगै रहेकी धनकुटाकी ३९ वर्षीया रीता सापकोटा (नाम परिवर्तन) को झन् स्थिति दयनीय रहेछ । '६ वर्षअघि श्रीमान् बित्नुभयो । घरमा दुई छोरा र छोरी छन्,' उनीले भनिन्, बच्चाको शिक्षादीक्षाका लागि कुवेत हिँडेको दुःख शिवाय केही पाइनँ ।' दुई वर्षअघि कुवेत पुगेकी सापकोटाले आफू रित्ताे हात फर्केको बताइन् । 'आधा दर्जन घरमा काम गर्न पुगियो होला कसैबाट तलब पाइनँ । काम भने दिनको २० घन्टासम्म गर्नुपर्ने । पैसा जति सबै कम्पनीले राख्ने । तर हामीलाई नदिने ।' भनिन्, 'कसैले विदेश गएर राम्रो भविष्य देख्नु मूर्खता शिवाय केही रहेनछ ।'  दूतावासले राति स्थानीय समयअनुसार बिहीबार राति ८:४५ बजे पठाएको ६० जनामध्ये ५९ जनामात्रै काठमाडौंमा साँझ फ्लाई दुबईमार्फत ६:२० आइपुगेका थिए । एक जना भने दुबईमा छुटेका छन् । आउनेमा अधिकांश अविवाहित युवती थिए । खाडीबाट यति ठूलो संख्यामा एकै खेपमा घरेलु महिला फर्किएको यो पहिलो हो । उनीहरूलाई सुरक्षाका लागि सेल्टरमा लैजान पौरखी नेपाललाई समेत निकै गाह्रो परिरहेको थियो ।   'फर्केका सबै आफमाफीमा पाएका होइनन्,' कुवेतस्थित नेपाली राजदूत मधुवन पौडेलले कान्तिपुरलाई भने, 'एकदेखि ९ महिनासम्म दूतावासको सेल्टरमा बसेर आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर दूतावासले उद्धार गरी पठाएको हो ।' स्वदेश पठाउन ६१ जना विमानस्थल पुयाएमध्ये एक जनाको मुद्दा भएकाले उनी दूतावासकै सेल्टरमा फर्किएको दूतावासले जनाएको छ । पौडेलका अनुसार दूतावासको आश्रयस्थलमा करिब साढे ३ सय हाउसमेड रहँदै आएकोमा अहिले विभिन्न मुद्दा लागेका सहित १ सय १६ हाउसमेड छन् । आश्रयस्थलमा रहेकामध्ये करिब दुई सय महिला यसअघि विभिन्न समयमा स्वदेश फर्किसकेको राजदूत पौडेलले बताए । जसमध्ये लामो समयदेखि दूतावासको आश्रयस्थलमा बसेका ४० भन्दा बढी हाउसमेड दुई साताअघि फर्किएका थिए । त्यस्तै तीन साताअघि प्रहरीको घर फिर्ती केन्द्रबाट ४८ हाउसमेड स्वदेश पुगेका थिए ।  कुवेत सरकारले दिएको आममाफीमा ३ हजार ५ सयभन्दा बढी नेपाली लाभान्वित भएको समेत दूतावासले जनाएको छ । उनीहरूलाई स्वदेश फर्किन दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो । अनुमानित ५० हजारभन्दा बढी नेपाली कामदार रहेको कुवेतमा ८० प्रतिशत महिला कामदार छन् । कुवेत सरकारले भने औपचारिक रूपमा गएको दुई महिनाअघि ४० हजार कामदार रहेको जानकारी दिएको थियो ।  राजदूतका अनुसार ९५ प्रतिशत महिला कामदारहरू तेस्रो मुलुकबाट मानव तस्करको रूपमा कुवेत लगिएको छ । तस्करको रूपमा लगिएको धेरैजसो महिलाले बोकेको राहदानी समेत नक्कली छ । पौडेलले सेल्टरमा बाँकी रहेका महिलालाई कानुनी प्रक्रिया पूरा गरेर कमशः पठाउने बताए ।    

ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login