'फिल्म लाइन बेइमान नै बेइमानहरूको अखडा रहेछ । यो लाइनमा सीधा हुनै नहुने रहेछ । जति सोझो भयो उति शंकालु दृष्टिले हेर्ने र पेल्न खोज्ने व्यक्ति यहाँ थुप्रै रहेछन् ।... फिल्म लाइनमा त जतिसक्दो हामीलाई पेलेरै फाइदा लुट्न खोज्ने धेरै रहेछन्,' ०५० सालमा 'कामना' पत्रिकाको एउटा अन्तर्वार्तामा नायिका मेलिना मानन्धरले 'फिल्म लाइन'बारे यस्तो टिप्पणी गरेकी रहेछिन् । मेलिना अहिले घरजम गरेर बसेकी छिन् । तीन वर्षअघि उनको 'लाइफ पार्टनर' बन्न आइपुगे नायक मुकेश ढकाल । आठ महिनाकी छोरीकी आमा मेलिनाले छोरीको नामचाहिँ राख्न भ्याएकी छैनन् । 'प्रेयसी', 'मिलन', 'प्रेमपिण्ड', 'अर्पण', 'सिमाना'जस्ता हिट फिल्मकी नायिका मेलिनासँग अन्तर्वार्ता गर्न नयाँ बानेश्वर पुग्दा उनी छोरी र श्रीमान् मुकेशसँगै उपस्थित थिइन् । पारिवारिक जीवन पनि धान्दै गरेकी यी नायिका 'पुरुष'बारे के धारणा राख्छिन् ? उनीसँगको पुरुष संवाद: मेरा केटा र केटीसाथी बराबर छन् । तर, विवाह भइसकेपछि ती साथीसँगको भेटघाट र सम्बन्ध पहिलेजस्तो छैन । आठ महिनाअघि छोरी जन्मेपछि त म घरको घेराभित्रै सीमित भएँ । मेरा केही केटीसाथी छन्, जो मलाई धेरै नै ईष्र्या गर्छन् । केटासाथीचाहिँ समस्या बुझिदिने, समस्याको हल निकालिदिने हुँदारहेछन् । मेरा सर्कलका केटासाथी एकदमै रमाइला, सहयोगी र शिष्ट थिए । यति धेरै घुलमिल हुन्थ्यौँ कि हामी आफूलाई केटा सोच्थ्यौँ र उनीहरूचाहिँ आफूलाई केटी सोच्थे । केटा-केटीको वर्गविभाजनबारे भन्नुपर्दा मलाई होस भएदेखि नै मेरी असाध्यै मिल्ने साथी थिइन्- माला लामा । उनी मलाई असाध्यै माया गर्थिन् । हामीले धेरैपटक खाना पनि एक-अर्कासँग बाँडेर खाएका छौँ । लामो समय सँगै गुजारेका छौँ । उनको बिहे भइसक्यो, खासै सम्पर्क छैन । स्कुलमा राजु भन्ने निकै मिल्ने केटासाथी थियो । हामी सँगै पढ्थ्यौँ । ऊ एकदमै सोझो थियो । ऊ मलाई मनपथ्र्यो । एक दिन ऊसँग सामान्य विषयमा झगडा पर्यो । धेरैपछि राजुलाई एकपटक बाटोमा देखेकी थिएँ । तर, अहिले हाम्रो भेटघाट छैन । मैले त उसको अनुहार पनि बिर्सिसकेँ । मलाई सम्झना यति छ कि साथीभन्दा म मेरा भाइहरूसँग बढी रमाउँथेँ । उनीहरूसँगै बढी समय बित्थ्यो । दाइसँग अलि डर लाग्थ्यो, भाइहरू मभन्दा साना भएकाले म उनीहरूसँग बढी घुलमिल हुन्थेँ, मेरा सानोका मिल्ने साथी नै मेरा भाइ थिए । पुरुषको तुलनामा महिला चनाखो हुन थालेको धेरै पछि हो । अहिले पनि थुप्रै महिला चुलोचौकोमै सीमित छन् । पहिलेदेखि नै पुरुषले घरको जिम्मेवारी उठाउँथे, समाजमा अगाडि देखिन्थे, सबै क्षेत्रमा नेतृत्वदायी भूमिकामा देखिन्थे । त्यसैले पुरुष सधैं आफूलाई यो समाजको हर्ताकर्ता सम्झन्छ होला । यो समाज आफैंले मात्र निर्माण गरेको हुँ भन्ने भ्रममा बाँच्छ होला । त्यो सम्भिनुपर्छ पनि, उसले आफूले जिम्मेवारी लिएपछि 'म ठूलो हुँ' भन्ने घमण्ड हुन्छ नै । केटासँग कम्पिटिसन गरेको होइन, 'म पनि गर्न सक्छु' भन्दै अघि बढ्दा केटी पनि एउटै लेभलमा आइपुगेकी हो । शारीरिक रूपमा पुरुष बलियो हुन्छ । तर, दिमागी रूपमा महिला निकै अगाडि हुन्छन्, धेरै अघि सोच्न सक्छन् । उनीहरूबीच वैचारिक भिन्नता पनि धेरै हुन्छ । केटी सहनशीलताका मूर्ति हुन् । केटाहरू 'फ्रिडम' खोज्छन्, बढी नै स्वतन्त्र हुन चाहन्छन् । महिला बढी शंकालु हुन्छन् भनिन्छ, तर म त्यो मान्दिनँ । मैले यस्तो लोग्नेमान्छे पनि देखेकी छु जो केटीभन्दा पनि तुच्छ सोचाइ राख्छन् । धेरै महिला आफ्नो कपाल, अनुहार, शारीरिक बनोट, उचाइ र कस्तो कपडा लगाएकी छु भन्ने सोच्ने तथा त्यसैमा आधारित भएर आफ्नोबारे दृष्टिकोण बनाउँछन् । पुरुषचाहिँ यस्ता हुँदैनन् । नेपाली महिला भाग्यवादी हुन्छन् । तिजमा महिला पानीको थोपो पनि नखाईकन श्रीमान्को दीर्घायुको कामना गर्छन् । म पनि सधंै तिजको ब्रत लिन्छु । लोग्नेले कुनै स्वास्नीमान्छेलाई शान देखाएको, स्मार्ट भएको रुचाउँदैनन् । 'केटी भएर मेरोअगाडि शान देखाउने ? भन्नखाले 'इगो प्रोब्लम' हुँदोरहेछ लोग्नेमान्छेमा । मेरो सोचाइसँग मेल नखाने मान्छेलाई आफ्नो साथी नै बनाउँदिनँ । त्यसैले मैले संगत गरेका धेरै पुरुषसाथी मलाई 'बौद्धिक' लाग्छन् । फिल्म सर्कलमा मेरा साथी नै छैनन् । म फिल्मको सुटिङका क्रममा पनि एक्ली हुन्छु । रूपेश, सुमन, राजेशहरू केही यस्ता साथी हुन् जोसँग मेरो मन मिल्थ्यो । र, उनीहरूलाई म 'एकेडेमिक फ्रेन्ड' भन्न रुचाउँछु । साथी पनि फिल्टर गर्नुपर्छ । चिनेजति केटालाई साथी बनाउनुहुँदैन । अहिलेको समाजमा हामीले लोग्नेमान्छेबाट राख्ने सोचाइ र अपेक्षा निराशाजनक छ । असल पुरुषसाथी पाउनु निकै गाह्रो छ र त्यस्ता साथी खोज्न टर्च बाल्नुपर्छ । मेरो श्रीमान् मुकेश मलाई एकेडेमिक मान्छे लाग्छ । निकै व्यावहारिक हुनुहुन्छ उहाँ । फिल्मी यात्रामा म कसैको सहयोगविना यो स्टेजसम्म आइपुगेँ, पुरुष न महिला । मेरो विवाहअघिको जिन्दगी बिन्दास थियो । म कहाँ, कोसँग हिँडिरहेकी छु भन्ने घरपरिवारलाई थाहा हुन्थ्यो । त्यसवेलासम्म कुनै चिन्ता थिएन । कसैले पनि अहिलेसम्म मेरा लागि फिल्ममा एउटा सामान्य सिफारिस गर्नुपरेको छैन । विवाहपछिको कुरा अर्कै हो, मलाई श्रीमान्को साथ-सहयोग छ नै । तर, विवाहअघिको फिल्मी जीवनका बाटाहरू म एक्लै हिँडेकी हुँ । यो उद्योगमा मेरो बेस्ट 'गर्लफ्रेन्ड' नै छैन, 'व्बाइफ्रेन्ड'को त कुरै नगरौँ । यति लामो फिल्मी यात्रामा मलाई कसैले पनि प्रेम-प्रस्ताव राखेनन् । मेरो स्वभाव नै हक्की थियो । कसैलाई बाल दिन्नँथेँ । फिल्मलाइनमा आउँदा सुरुका दिनमा केटाहरू बाटोमा देख्दा पनि जिस्क्याउने, जिब्रो पड्काउने गर्थे । कोही 'हाई मेली' भन्दै हात हल्लाउँथे । कति साँच्चै फ्यान हुन्थे, कतिको नियत सफा हुँदैनथ्यो । नायिका बनेर सार्वजनिक रूपमा चिनिइसकेपछि आफ्नो निजीपन पूर्णरूपमा गुम्नेरहेछ । अहिले हिरोइनलाई जिब्रो पड्काउने वा जिस्क्याउने फुर्सद हुँदैन केटाहरूलाई । पहिले-पहिले 'लभलेटर' आउँथ्यो पोस्टबक्सबाट । 'म तिमीलाई मन पराउँछु' भन्ने व्यहोराका चिट्ठी आउँथे केटाहरूका । तर, अहिले चिट्ठी आउँदैनन् । न्यु जेनेरेसनका केटाकेटीमा पहिलाजस्तो 'केटीहरू चुलोचौकोमै सीमित हुनुपर्छ, उसले गुन्यु-चोलीमै मात्र सजिएर हिँड्नुपर्छ' भन्नेजस्ता पुराना धारणाले डेरा जमाएको हुँदैन । पुरुषका बारेमा अनेक परिभाषा हुन सक्छन् । बिहेपछिको कुरा गर्ने हो भने स्वास्नीका लागि पुरुष बाँच्ने आधार हो । जिन्दगीको जरा हो । त्यो विना स्वास्नीमान्छे केही पनि होइन । मलाई पुरुषका केही बानी-व्यहोरा एकदमै मन पर्छन् । उनीहरू मिहिनेती हुन्छन् । धेरै पुरुषले अरूलाई सम्मान गर्छन्, कतिपय पुरुष संवेदनशील हुन्छन्, जो नारीको भावनासँग खेल्दैनन् अनि सहयोगी हुन्छन् । पुरुषका नराम्रा पक्ष पनि छन् । उनीहरूमा 'इगो' प्ा्रोब्लम विश्वव्यापी रोग हो । महिलालाई दबाउने गर्छन्, पुरुषमा माफी माग्ने क्ष्ामता हुँदैन । घरमा श्रीमती भए पनि बाहिरतिर केटी घुमाउँछन् । यति हुँदाहुँदै पनि पुरुषविनाको संसार कल्पनासम्म गर्न सकिँदैन । त्यसैले लाग्छ- पुरुष आकाश हो, नारी धर्ती । म सानैदेखि भुवन केसी र गाैरी मल्लको फिल्म हेरेर हुर्कें । भुवन मलाई मनपर्ने हिरो हुन् । यो उमेरसम्म इन्डियन एक्टरमा चाहिँ सलमान खान मनपर्छ । तर, हिरोको पर्सनालिटी लोकेन्द्र कार्की र भुवन केसीको जस्तो हुनुपर्छ । किनकि भुवन दाइको जस्तो स्टाइलिस लुक्स् अरूमा छैन । विवाहपछि थाहा हुँदोरहेछ वास्तविक माया । एउटा जिन्दगी जोडिन्छ । दुवैबीच गाढा माया छ भने मात्रै यो सबै सम्भव हुन्छ । विवाह अघि अरूको झगडा परेको देख्दा विवाह पछिको लामो जिन्दगी कसरी सँगै बिताउने होला भन्ने लाग्थ्यो । तर, बिहेपछि मेरो विवाहप्रतिको दृष्टिकोण फेरियो । नानी हुनुअघि श्रीमान्सँग यति मीठो समय बितिरहेको थियो कि उहाँसँग घुम्ने, डेट जाने रहरै पुगेको थिएन । नानी चाहिएजस्तो मलाई नै अनुभव भएको हो । फिल्ममा प्रेम हुँदैन । डाइरेक्टरले भनेको खुरु-खुरु गर्ने मात्रै हो । यसमा वास्तविक प्रेमको अनुभूति हुँदैन । यो फिक्का हुन्छ, अझ भनौँ बेलायती गुलाबजस्तै । पैसा छ भन्दैमा नायिकालाई 'मिसयुज्ड' गर्न खोज्ने निर्मातालाई मेरो भनाइ छ- निर्दोष, कोमल मन भएका भर्खरका युवतीलाई बुरो नजरले हेरे निर्मातालाई महापाप लाग्नेछ । मजबुरीपनमा परेर नयाँ युवती निर्मातासँग सम्झौता गर्न बाध्य हुन्छन् भन्ने मैले पनि सुनेकी छु । हरेक क्षेत्रमा पुरुष नै अगाडि छन् । पुरुषकै नेतृत्व स्विकार्नुपर्ने बाध्यता अहिले पनि विद्यमान छ । पुरुषकै बोलवाला भएपछि उनीहरूसँग सम्झौता गर्न बाध्य हुन्छन् महिला । सार्वजनिक निकायमै काम गर्ने महिलामाथि समेत कहिलेकाहीँ विभिन्न लाञ्छना लाग्छन् । कुनै केटीसँग हल्का चिनजान हुँदा 'ऊ मेरो गर्लफ्रेन्ड हो' भन्न चुक्दैनन् पुरुष । यौन प्रेमबाट निस्केको सुन्दर फूल हो । प्रेममा यौन हुनै हुँदैन भन्ने म मान्दिनँ । यौन जान्यो, बुझ्यो, सिक्यो भने ठीक हो, अन्जानमा नबुझीकन कदम चलाएको गलत हो । उमेर पुगेका केटा-केटीले सोचेर अघि बढ्ने हो भने ठीक छ । तर, हामीले पत्रिकामा बोल्दैमा कसैले पनि ग्रहण गर्नेवाला छैन । कति पुरुषले महिलालाई 'युज एन्ड थ्रो' सोच्छन् । साँच्चै साथ चाहिएको वेला त्यस्तो पुरुषले धोका पाउँछ । प्रस्तुतिः दीपक सापकोटा तस्बिरः श्रीधर पौडेल
source:-nayapatrika