अर्जुन सुवेदी, काठमाडौं, असार २७- काठमाडौँमा चौबीसै घण्टा यातायात सञ्चालनको पहल गरिनेछ, पर्यटकीय क्षेत्र चौबीसै घन्टा खुल्ला हुनेछन्, पार्किङ गर्न बहुतले भवन निर्माण हुनेछ, १८ वर्ष मुनिकालाई चुरोट र मदिरा खरीद बिक्रीमा रोक हुनेछ, पाँच वर्षभित्र साक्षरता सतप्रतिशत हुनेछ, मुख्य सडक र भित्री गल्लीमा सौर्य बत्ती हुनेछन्। काठमाडौं महानगरपालिकाकाले सहर व्यवस्थित बनाउन सार्वजनिक गरेको १ सय ६१ बुँदे काठमाडौं घोषणाका केही बूँदा हुन् यी। प्रधानमन्त्री झलनाथ खनालले सार्वजनिक गरेको घोषणा पत्रमा राजधानीको फोहोरमैलाको नियन्त्रण र नियमन, सहरी प्रकोप व्यवस्थापन, वायु तथा नदी प्रदूषण नियन्त्रण, बढ्दो सहरीकरण र भवन निर्माणसंहिता पालनालगायतका कार्यक्रम छन्। त्यस्तै खानेपानी आपूर्ति र शुद्धीकरण, सडक पेटी र ट्राफिक व्यवस्था सुदृढीकरण, मदिरा नियमन र नियन्त्रण तथा रात्रि व्यवसायको नियन्त्रणमा गर्ने घोषणापत्रमा उल्लेख छ। महानगरपालिकाभित्र १८ वर्षमुनिलाई धूमपान खरिदबिक्रीमा रोक लगाइने छ। कानुनविपरीत बनेका घर भत्काइने छ भने सडक पेटीमा व्यापार गर्ने र जथाभावी पार्किङ गर्ने र बाटो काट्नेलाई कारबाही गरिने महानगरपालिकाले जनाएको छ। सहर अव्यवस्थाको प्रमुख कारण बन्दै आएको पार्किङ समस्या समाधान गर्न ठाउँठाउँमा बहुतले भवन बनाउने महानगरको योजना छ। त्यस्तै सहरभित्र शुद्ध खानेपानी व्यवस्था, खाली ठाउँमा रुखविरुवा रोप्ने, भूकम्पलगायत जोखिम न्युनीकरण गर्न खाली स्थानको पहिचान गरिनेछ। राति सवारी नचल्ने र सडकमा लुटपाट हुने समस्या रोक्न सडक र गल्लीहरूमा सौर्य बत्तीको व्यवस्था गर्ने र चौबिसै घण्टा यातायात सञ्चालनका लागि पहल गर्ने घोषणामा उल्लेख छ। त्यस्तै पाँच वर्षभित्र महानगरको साक्षरता सतप्रतिशत बनाइनेछ। घोषणा सार्वजनिक गर्दै प्रधानमन्त्री झलनाथ खनालले काठमाडौंको सभ्यताले सिंगो अन्तर्राष्ट्रिय क्षेत्रमा देशकै पहिचान जनाउने उल्लेख गरे। 'यो घोषणा मात्र नभएर कार्यान्वयन प्रभावकारी भएर काठमाडौंकै अनुहार फेरिने विश्वास लिएको छु,' उनले भने। कार्यक्रम सफल पार्न सबैले सहयोग गर्नुपर्ने उनले बताए। जनप्रतिनिधिविहीन हुँदा स्थानीय निकायको अवस्था बिग्रेको उल्लेख गर्दै प्रधानमन्त्री खनालले सरकारले अन्तरिम व्यवस्थापन गर्ने तयारी गरिरहेको जानकारी दिए। स्थानीय विकासमन्त्री उर्मिला अर्यालले पनि स्थानीय निकायलाई जनप्रतिनिधिविहीन अवस्थाको विकल्प दिने तयारी भइरहेको बताइन्। अधिकांश स्थानीय निकायले पछिल्लो समय विकास निर्माणका ठोस कार्यक्रम अघि बढाउन नसकेको उनको आरोप थियो। कार्यक्रममा सहभागीहरूले घोषणा कार्यान्वयनमा जोड दिनुपर्ने बताए। 'घोषणा मात्रै हेर्ने हो भने यसअघिकै घोषणा पर्याप्त छन्,' उपभोक्ता हित संरक्षण मञ्चका ज्योति बानियाँले भने, 'त्यसैले कार्यान्वयनमा जोड दिनु आवश्यक छ।' महानगरका प्रमुख कार्यकारी अधिकृत गणेश राईले घोषणा कार्यान्वयन गरेर काठमाडौंलाई सभ्य सहरको रूपमा विकसित गरिने प्रतिबद्धता व्यक्त गरे। 'सफा, सुन्दर, स्वस्थ, शान्त, सुरक्षित, सम्भ र समुन्नति गरी सात स को नीति लिएर काम गरिनेछ,' उनले भने, 'यसमा सबै महानगरवासीको सहयोग अपरिहार्य छ।' कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, बाग्मती सफाइमा लागिपरेका हुतराम वैद्य, उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ, बालबालिकाको क्षेत्रमा कार्यरत गौरी प्रधानलाई सम्मानित गरिएको थियो। त्यस्तै महानगरको विकासमा योगदान पुर्याएको भन्दै महानगरले पूर्वमेयर पिएल सिंह, सूर्यभक्त सांघाछे र तेजेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ। उत्कृष्ट करदाताका रूपमा इनभेस्टमेन्ट बैंक सम्मानित भएको छ भने मिस नेपाल सदिक्षा श्रेष्ठलाई महानगरपालिकाले वातावरण सद्भावना दूत घोषणा गरेको छ।
source:-nagriknews