धनलक्ष्मी यन्त्र बेच्ने पाँच पक्राउ

काठमाडौं, असार २७ - सहजै धन प्राप्त हुने प्रचार गरी धनलक्ष्मी यन्त्र बेचेर ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले आइतबार काठमाडौंबाट विकास अग्रवाल, हृदयजंग शाही, सुनील श्रेष्ठ, सागर श्रेष्ठ र जितेन महर्जनलाई पक्राउ गरेको छ। उनीहरूले सहजै धन प्राप्त हुने भन्दै पाँच हजार ७ सय ६० रुपैयाँमा सो यन्त्र बिक्री गरेर ठगी गरेको प्रयोगकर्ताको उजुरीपछि प्रहरीले आइतबार विशेष टोली परिचालन गरेको थियो।      पक्राउ परेकाहरूको साथबाट २५ थान धनलक्ष्मी यन्त्र, यसअघि नै प्रतिबन्धित शिवशक्ति यन्त्र पाँच वटा र २ वटा नवदुर्गा कवचसमेत फेला पारेको महाशाखाका डिएसपी राजकुमार लम्सालले बताए। सप्तऋषि संस्थानद्वारा उत्पादित कवच लगाएको १५ दिनमै धन लाभ हुने दाबी गर्दै उनीहरूले उपभोक्ता ठग्दै आएका थिए। उनीहरूले कवच बिक्री गर्न आधा घन्टाको टेलिभिजन कार्यक्रम बनाएर प्रशारण गराउँदै आएका थिए। झुठो विज्ञापन गरी भ्रम फैलाएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयले धनलक्ष्मी यन्त्रको विज्ञापन प्रशारणमा रोक लगाउने निर्णय गरेपनि टेलिभिजनहरूमा विज्ञापन आइरहेकै थियो।  यन्त्र निर्माण गर्ने कम्पनी सप्तऋषि संस्थान नेपालमा दर्ता नरहेको र दाबी गरिएअनुसार संस्थाको कार्यालय वीरगन्जको आदर्शनगरमा समेत नरहेको महाशाखाले जनाएको छ।  यस अगाडि शिवशक्ति कवचको नाममा यस्तै प्रकृतीको कवचको कारोवारीलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका शाही शिवशक्ति कवचका नेपाल प्रतिनिधी हुन। उनी ठगी र राजश्व छलीको अभियोगमा पांच लाख धरौटी बुझाएर रिहा भएर पुन धनलक्ष्मीको कारोवारमा संलग्न रहेको खुलेको प्रहरीको दावी छ।  यन्त्रको प्रचारमा प्रयोग गरिएका व्यक्तिको नाम र उनीहरूको कथा नक्कली रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। डिएसपी लम्सालका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट समेत धनलक्ष्मी यन्त्र बिक्रीको नाममा ठगी भइरहेकाले अनुसन्धान गर्न महाशाखामा पत्र आएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। '१० जना पीडितले समेत उजुरी दिएका थिए,' लम्सालले भने।  प्रहरीले कारोबारीसम्म पुग्न उनीहरूले विज्ञापनमा प्रयोग गर्ने मोबाइल नम्बरलाई नै आधार बनाएका थिए। प्रहरी आफैं ग्राहक बनेर फोन गरी २ वटा धनलक्ष्मी यन्त्र मगाएको थियो। यन्त्र बोकेर आएका सागर श्रेष्ठ र जितेन महर्जनलाई पक्राउ गरी प्रहरीले मुख्य व्यक्तिको खोजी गरेको थियो।  'एक सातादेखि यन्त्र मगाए पनि उनीहरू आइतबार मात्र आए,' डिएसपी लम्सालले भने, 'उनीहरू अर्डर आएको ठाउँमा पुर्‍याउने काम मात्र गर्ने खुलेपछि अन्य व्यक्ति खोज्यौं।' उनीहरूको बयानपछि जमलबाट यन्त्र दिने विकास अग्रवाल, हृदयजंग शाही र अजयकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको थियो। अग्रवाल स्थानीय डिलर र तामाङ यन्त्रको नेपाल प्रतिनिधि र शाही शिवशक्ति कवचको नेपाल प्रतिनिधि रहेको प्रहरीले जनाएको छ।   अर्को डिलर नयाँबानेश्वरमा रहेको खुलेपछि प्रहरीले सुनिल श्रेष्ठको घरमा छापा मारेर उनलाई पक्राउ गरेको थियो। प्रहरीले श्रेष्ठको साथबाट २० वटा धनलक्ष्मी यन्त्रका साथै माँ दुर्गा कवच र शिवशक्ति कवचसमेत बरामद गरेको छ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login