फेसबुक आन्दोलनमा संयमता

आशिष लुइटेल नेपालमा फेसबुकलाई भर्‍याङ बनाएर मुख्यतः दुई थरीका मान्छेहरू यतिखेर सडकमा आएर 'आन्दोलन'को नाटक गरिरहेका छन्, पहिलो व्यापारीहरू जो आफ्नो नेटवर्कलाई थप विस्तार गर्दै राजनीतिमा समेत आफ्नो अस्तित्व थप मजबुत बनाउन चाहन्छन् । उनीहरू आफूद्वारा निर्देशित समाजका केही 'चल्तीका' मान्छेलाई 'फ्रन्टलाइन'मा उतारिरहेका छन् । ती भनेजति पैसा खन्याउन हिच्किचाउँदैनन्, तर तिनलाई एउटै कुरा चाहिन्छ, ठूलो नेटवर्क ताकि चाहेको बेला धेरै सदस्यहरू जम्मा होउन् । अर्काथरी प्रचारका भोगीहरू देखिन्छन्, जो आजै या भोलि नै आफू 'हिट' हुने महत्त्वाकांक्षाबाट पुलकित छन्, ती जे पनि गर्न तयार हुन्छन्, तर एउटै चाहना हुन्छ, आफ्नो नाम जताततै आओस् । यसरी पनि बुझ्न सकिन्छ, काम नभएकाहरू जो समय कटाउने बहाना खोजिरहेका हुन्छन्, तिनले अल्लारे विद्यार्थीहरूलाई बटुल्छन् । बङ्क गरेर बेबिलोन डिस्कोतिर धाउनेहरू हुन् या एनजीओ, आईएनजीओका टेबलमा खुट्टा तेस्र्याएर जागिर खानेहरू नै किन नहुन्, तिनको झुन्ड यिनैको फेसबुक समूहमा गाभिएका छन् । यी तिनै जमात हुन्, जो नेपालको आमूल परिवर्तनका धेरै कालखण्डमा कहाँ थिए, थाहा थिएन । र यी दुई थरी 'नेतृत्वकर्ता'ले सामान्य जनतालाई भुङ्ग्रामा पारिरहेका छन् ।  द काठमान्डु पोष्टमा सोमबार एउटा फोटो छापियो, जसको क्याप्सनमा फेसबुकको एउटा 'ग्रुप'को नाम भूलवश अर्कै पर्न गयो । यसलाई यति चर्को मुद्दा बनाइयो कि त्यसले हामीलाई यिनको आन्दोलन समयमै संविधान बनोस् भन्नेमा केन्दि्रत छ कि आफ्नो फोटो पत्रिकामा आउँछ कि आउँदैन भन्नेमा, शंका जन्माइदियो ।  नेपालमा संविधान बनाउन नसक्नेका विरुद्ध 'दबाबमूलक (?) आन्दोलन' गर्ने काम फेसबुकबाट थाल्नेहरूले विदेशीहरूको नक्कल गरेका हुन् । केही अघि मध्यपूर्वी देश खासगरी इजिप्टमा तत्कालीन राष्ट्रपति मोहम्मद होस्नी सइद मुवारकको तानाशाहीपन विरुद्ध जनता सडकमा निस्किए । सेनको चर्को दबाब र स्थानीय मिडियाहरूमा लगाइएको बन्देजका सामु तिनले सामाजिक सञ्जाल साइट (फेसबुक र ट्विटर) लाई निर्विकल्प देखे । सबैजनाले एकअर्कालाई यसमा अनुबद्ध गराए । सूचना र विरोधका आवाजहरू घन्काए । अन्ततः तानाशाह ढालेरै छाडे । अहिले बहराइनमा यस्तै अभ्यास भइरहेको छ ।  तर नेपालमा वातावरण र अवस्था विलकुलै फरक छ । यो संवेदनशील बेला हो । सबैले आन्दोलनमात्रै गरिरहने हो भने निकास कसले दिने ? आफूलाई समाजका अगुवा र बुझक्कड भन्नेहरूले नाराजुलुस गर्दै सडकमा रमिता देखाउनुको सट्टा राज्य पुनःसंरचना, निर्वाचन पद्धति तथा शासकीय स्वरूपका विषयमा मिल्न नसकेका बुँदाहरूको समाधान खोज्ने कि ? संविधान कुनै बाली होइन, जो असारमा रोपेर मंसिरमा टिप्न सकियोस् भन्ने कुरा बुझपचाउनेहरूले सभासदलाई 'ज्यामी'को बिल्ला भिराउन छाडेर आरोप-प्रत्यारोपको खेल समाप्त पार्ने उपायबारे घोत्लिने कि ?  पछिल्लो तथ्याङ्कअनुसार, फेसबुकमा २ सय १३ देशका ७२ करोड २५ लाख सदस्यमध्ये ११ लाख २० हजार ८ सय ८० नेपाली छन् । यो अघिल्लो हप्ताभन्दा १ दसमलव ८४ प्रतिशत बढी हो, जहाँ १८ देखि २४ वर्ष उमेर समूहका सबैभन्दा बढी (४५ प्रतिशत) छन् । प्रयोगकर्ताको हिसाबमा नेपाल ७२ औं स्थानमा छ । पहिलो स्थानमा रहेको अमेरिकामा १५ करोड प्रयोगकर्ता छन् भने सबैभन्दा कमचाहिँ भ्याटिकन सिटी (२० प्रयोगकर्ता) मा छन् । छिमेकी भारत तेस्रो स्थानमा छ ।  यति धेरै फेसबुक प्रयोगकर्ता भएको नेपालमा तिनबाट सकारात्मकताको आशा गरिन्छ, तर त्यस्तो पाइएन । हरेक दिनको फोनमा उनीहरू भन्छन्, 'अरूका ग्रुपका बारेमा लेख्ने, हाम्रो बारेमा किन नलेख्ने ?' पत्रिकामा नाम आओस्, आफ्नो 'समूह'को बारेमा सबैले सुनुन् र आफूलाई 'सेलिबि्रटी' कोटीमा राखुन् भन्ने मानसिकताले ती ग्रस्त छन् ।  'के संविधान बनाउने जिम्मेवारी लिएकाहरूले समयमै यो काम पूरा गर्न नसकेपछि तिनलाई दबाब दिनु हाम्रो गल्ती हो ? अपाङ्गलाई ह्विलचियर संकलन गर्ने अभियान चलाउनु मूर्खता हो ? आँखा नदेख्नेलाई अडियो किताब बनाउनु सस्तो लोकपि्रयता भो ?' उनीहरूका प्रश्न हुन्छन् । झट्ट सुन्दा राम्रो काम हो । तर यसरी संकलन गरिएको रकम व्यवस्थित र वैधानिक हिसाबले खर्च हुनुपर्छ । त्यसका लागि उनीहरूले एनजीओ खोलेर काम गर्न सक्छन् । नेपालमा कडा साइबर कानुनसमेत नभएका बेला संयमता नअपनाई सस्तो भावुकता प्रदर्शन गर्नाले उनीहरू स्वयम्लाई अप्ठ्यारो पर्न सक्छ ।   
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login