काठमाडौं, साउन १६ - अन्तर्राष्ट्रिय आपराधिक समूहका लागि काठमाडौं उपत्यका सुरक्षित स्थल बन्दै गएको एक उच्च प्रहरी अधिकारीले बताएका छन्। हत्या, जबर्जस्ती असुलीजस्ता घटना बढिरहेका बेला उपत्यका सुरक्षाको जिम्मा पाएका एआइजी कुबेरसिंह रानाले 'उपत्यका अन्तर्राष्ट्रिय अपराधीको लागि सुरक्षित स्थल बन्दै गएको' टिप्पणी गरेका हुन्। अन्तर्राष्ट्रिय अपराधीहरूको सक्रियता बढे पनि निगरानी र नियन्त्रण प्रभावकारी हुन नसकेको उनले स्वीकार गरे। उपत्यकाको अपराधमा 'नयाँ समूह र शैली देखिएको' उनले उल्लेख गरे। 'उपत्यकामा संगठित आपराधिक समूहको विकास र विस्तारसँगै अन्तर्राष्ट्रिय आपराधिक समूहको सक्रियता बढेको छ,' महानगरीय प्रहरी आयुक्त कार्यालयको भावी योजनाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'राजधानीमा भएका हत्याको पछिल्लो घटनामा विदेशका आपराधिक समूहको सक्रियता प्रमाणित भएको छ।' गत वर्ष सञ्चार उद्यमी जमिम साहको हत्या, भारतीय व्यापारी नागेन्द्र पम्पाटीको हत्या प्रयास र केन्द्रीय कारागारभित्र युनुस अन्सारीको हत्या प्रयासलगायतमा अन्तर्राष्ट्रिय आपराधिक समूहको संलग्नता देखिएको थियो। भारतीय समूह छोटा राजन र बब्लु श्रीवास्तवको योजनामा जमिमको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ। पम्पाटीमाथि गोली प्रहारको घटनामा पनि भारतीय अपराधीको संलग्नता देखिएको थियो। फागुनमा केन्द्रीय कारागारभित्रै बन्दी अन्सारीको हत्या गर्ने योजनामा समेत भारतीय आपराधिक समूहको संलग्नता देखिएको प्रहरीले दोहोर्याएको छ। युनुसलाई गोली हान्न कारागार गएका मनमित सिंह भारतीय नागरिक हुन्। उनी कारागारमा छन्। जमिम हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले भारतीय संगठित आपराधिक समूह संलग्न रहेको निष्कर्ष निकाल्दै अनुसन्धानलाई निरन्तरता दिन सिफारिस गरेको छ। युनुस हत्या प्रयासमा संलग्न गिरोहका एकजनाबाहेक अन्य सदस्य पक्राउ परेका छैनन्। अनुसन्धानको जिम्मेवार निकाय केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले भने अनुसन्धानलाई निरन्तरता दिन सकेका छैनन्। महाशाखा स्रोतका अनुसार युनुस घटनाको अनुसन्धानमा जमिम घटनाकै अनुसन्धानको 'लिंक' प्रयोग गरिएको थियो। 'तर, त्यसपछि फलो गर्न सकिएको छैन,' स्रोतले भन्यो, 'दैनिक नयाँ अनुसन्धानको जिम्मेवारी थपिएकाले एउटै केसलाई लामो समय फलो गर्न सम्भव छैन।' कार्यक्रममा एआइजी रानाले अन्तर्राष्ट्रिय आपराधिक समूहको निगरानी र अनुसन्धानका लागि आयुक्त कार्यालय मातहतका निकायमार्फत् गरिने योजनासमेत सार्वजनिक गर्न सकेनन्। घटनापछि मात्र अन्तर्राष्ट्रिय अपराधीको सक्रियता खुल्ने गरेको उनले बताए। 'अपराध नियन्त्रणका लागि अनुसन्धानमा प्रविधिको प्रयोग गर्न आवश्यक भइसकेको छ,' उनले भने। उनले सूचनाका आधारमा अनुसन्धान अगाडि बढाउने प्रयास भइरहेको जानकारी दिँदै उपत्यकाको सुरक्षा व्यवस्थामा सुधारका लागि प्रहरी परिचालन पद्धति र सुरक्षा प्रणालीको पुनरावलोकन सुरु गरिएको बताए।
एक प्रहरीलाई साढे सात सयको जिम्मा
उपत्यकाको अनुमानित जनसंख्या ४० लाख छ, तर प्रहरीको दरबन्दी यो अनुपातमा बढ्न सकेको छैन। महानगरीय प्रहरी आयुक्त कार्यालयले आफू मातहत ८ हजार ९ सय ८० दरबन्दी रहेको जनाएको छ। त्यसमध्ये ४ हजार ८ सय ४७ मात्र कार्यक्षेत्रमा खटिन्छन्। अन्य प्रहरी गण, विमानस्थल सुरक्षा र ट्राफिक कार्यालयमा कार्यरत छन्।
'अहिले उपत्यकाको सुरक्षाका लागि कम्तीमा २० हजार सुरक्षाकर्मीको आवश्यकता छ,' एआइजी रानाले भने, 'हामीले यसको एकतिहाइका भरमा सुरक्षा मिलाउनुपरेको छ।'
अन्तर्राष्ट्रिय मापदण्डअनुसार सहरी क्षेत्रको सुरक्षामा एक प्रहरीको भागमा करिब २ सयको सुरक्षा जिम्मेवारी हुनुपर्छ। उपत्यकामा भने एक प्रहरीले करिब ७ सय ३२ को सुरक्षा सम्हाल्नुपर्ने स्थिति छ। त्यो पनि रिङरोड क्षेत्रभित्र बढी केन्द्रित रहेको आयुक्त कार्यालयको तथ्यांकले देखाउँछ।
एआइजी रानाले जनशक्ति अभावमा एकै प्रहरीलाई विभिन्न स्थानमा खटाउनुपर्ने बाध्यता रहेको बताए। 'यसले उपत्यकाको ग्रामीण क्षेत्रमा सुरक्षा कायम गर्न धौधौ परेको छ,' उनले भने। उनका अनुसार रिङरोड क्षेत्रबाहिर १९ प्रहरी इकाईमार्फत् जम्मा २ सय २१ प्रहरी परिचालित छन्। 'ग्रामीण क्षेत्रमा सहरीकरण बढिरहे पनि हामी रिङरोडभित्रै बढी केन्द्रित छौं,' रानाले भने, 'काठमाडौं, भक्तपुर र ललितपुरका कोर-क्षेत्रमा विशेष सुरक्षा कार्ययोजना लागू गरिएको छ, तर ग्रामीण क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन धौधौ छ।'

source:-nagriknews

0 commentaires