ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, जेठ १८- पश्चिमी भेगको ज्यामिरेस्थित जनता माविका छात्राहरु बेहोस भएर कक्षा कोठामै ढल्न थालेपछि विद्यालयमा त्रास फैलिएको छ। सातादेखि देखापरेको यो क्रम नरोकिएपछि शिक्षक, अभिभावक र विद्यार्थी त्रसित बनेका हुन्। विद्यालयको पठनपाठन प्रभावित भएको छ। पढाउँदा-पढाउँदै छात्राहरु काम्दै रुने, कराउने र एक्कासि बेहोस भई ढल्ने गरेको सहायक प्रधानाध्यापक केदार बिष्टले बताए। उनले कक्षा आठमा अध्ययनरत् छात्राहरुमा मात्रै यस्तो समस्या देखिएको भन्दै आश्चर्य जनाए। 'अहिलेसम्म १५ जनाभन्दा बढी छात्रा बेहोस भएर ढले'- उनले भने। अधिकांश छात्रामा दोहोरिएर समस्या देखिएको उनले बताए। बिष्टका अनसार सुरुमा छात्रा कविता गिरी बेहोस भएपछि शृंखलाबद्धरुपमा अरुमा पनि फैलिरहेको छ। विद्यालयमा बेहोस हुने छात्राहरु घरमा भने सामान्य अवस्थामा हुन्छन्। घरमा केही नहुने तर विद्यालयमा भने बारम्बार बहोस भई ढल्न थालेपछि कविता विद्यालय जान छाडेकी छिन्। एकै छात्रामा बारम्बार दोहोरिएर यो समस्या देखापरिरहेको छ। 'विद्यालयमा त्रास फैलिएको छ'- बिष्टले भने। विद्यालयले भने 'मासहिस्टेरिया' को शङ्का गर्दै मनोपरामर्शका लागि विज्ञ खोजी गरेको छ। जिल्लाका विद्यालयमा गर्मी सिजनका बेला यस्तो समस्या देखा पर्दै आएको छ।
समाचार
»
छात्रा कक्षामै बेहोस हुन थालेपछि विद्यालयमा त्रास
छात्रा कक्षामै बेहोस हुन थालेपछि विद्यालयमा त्रास
Tags:
समाचार
0 commentaires