सडकमा ट्राफिक प्रहरी कतै देखिँदैन, तर यातायात अत्यन्त व्यवस्थित देखिन्छ कोही कसैले ट्राफिक नियम मिचेको देखिदैन । सडकमा हर्न बजाएको त सुन्नै पाइँदैन । सहर बजारमा बर्दीधारी पुलीस शून्य छ, तर शान्ति सुरक्षा एकदमै राम्रो छ, अपराध कर्म निकै कम छ, महिलाहरू मध्यरातमा समेत निस्फिक्री हिँडिरहेको भेट्न सकिन्छ । राजधानी भनिन्छ ओस्लोलाई, तर राजधानीको मुख्य बजारमा समेत मानिसहरूको आवतजावत निकै पातलो छ । त्यहाँको शान्ति, सुव्यवस्था र विकास हेरेपछि मेरो देश यस्तै बनाउन पाए कति आनन्द हुन्थ्यो भनेर मनमा बारम्बार लागिरह्यो । कैयन् कुरामा त डाहा पनि लाग्यो ।
यो वर्णन कुनै काल्पनिक सहरको होइन, नर्वे भन्ने उत्तरी गोलार्द्धको एउटा सानो युरोपेली देशको हो, जहाँ केवल ४९ लाख मान्छे बसोबास गर्छन्, यद्यपि देशको आकार भने नेपालभन्दा झण्डै डबल छ ।
गएको महिना त्यही मुलुकको भ्रमणमा थिएँ, रेड् पार्टी नाम गरेको त्यहाँको एउटा स्थापित वामपन्थी राजनीतिक दलको निमन्त्रणामा । नेपालको पछिल्लो राजनीतिक परिस्थिति, शान्ति प्रक्रिया र संविधान निर्माणको स्थितिबारे त्यहाँको ओस्लो, बर्गन र ट्रोण्डहेम जस्ता तीनवटा मुख्य सहरमा सार्वजनिक कार्यक्रममा बोल्न मलाई नर्वेमा निम्त्याइएको थियो । भ्रमणको खर्चबर्च सबै नोराड नामक नर्वेली परराष्ट्र मन्त्रालय अन्तर्गतको एउटा सरकारी निर्देशनालयले नै व्यहोर्ने गरी यो भ्रमणको आयोजना गरिएको थियो ।
के थाहा पाएर अचम्म लाग्यो भने वर्षको पाँच महिना केही पनि नउम्रिने गरी हिउँले ढाक्ने, कहिले चौबीसै घण्टा रातैरात त कहिले दिनैदिन हुने यो मुलुक आजभन्दा ५० वर्षअघिसम्म नेपाल जत्तिकै गरिब मुलुक रहेछ तर आज यसको समग्र विकासको स्तर हेर्दा जिव्रो नटोक्ने कोही हुँदैन । राजधानी ओस्लोमा आज पनि अग्ला अग्ला गगनचुम्बी भवन ज्यादै कम देखिन्छन्, धेरैजसो घर तीनचार तले मात्र देखिन्छन् तर शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिव्यक्ति आय र समग्र मानवीय विकासका सूचकको हिसाबले नर्वे अमेरिकाभन्दा पनि सम्पन्न र विश्वकै सबैभन्दा विकसित मुलुकका रूपमा स्थापित छ । आखिर पाँचै दशकमा के गरेर यो विपन्न मुलुक त्यति सम्पन्न भयो ? मेरो भ्रमणको दौरानमा मलाई यो प्रश्नले लगातार चिमोटिरहृयो । मलाई भेटेकामध्ये धेरै मानिसलाई मैले सोधेको मुख्य प्रश्न नै यही थियो ।
मैले भ्रमणबाट थाहा पाएको कुरो के हो भने नर्वेका मानिस हामीभन्दा ज्यादा तेज र बुद्धिमान भएकाले नर्वे यति विकसित भएको होइन । नर्वे विकसित भएको अरु कुनै कारणले होइन, तीनवटा तत्वको संयोजनले त्यो मुलुक यति चाँडै यति विकसित भएको रहेछ । ती तीनवटा तत्वहरूलाई यसरी राख्न सकिन्छ – पहिलो, त्यहाँको लोकतान्त्रिक समाजवादी राजनीतिक प्रणाली तथा त्यसले ल्याएको समतामूलक सामाजिक न्याय, मानवीय विकास र राजनीतिक स्थिरता, दोस्रो, देश विकासको लागि हुरुक्कै हुने खालका देशभक्त नेताहरू तथा कामप्रति इमान्दार नागरिकहरू, र आफ्नो देशमा रहेको प्राकृतिक स्रोतसाधनको प्रचूर उपयोग तथा असल बजार व्यवस्थापन ।
नर्वेमा अहिले लोभलाग्दो शान्ति र राजनीतिक स्थिरता छ । त्यो शान्ति र स्थिरता दमन र तानाशाहीबाट होइन, त्यहाँको समता र सामाजिक न्यायमूलक राजनीतिक प्रणालीले ल्याएको देखिन्छ । नर्वेले लोकतन्त्र र समाजवादका आधारभूत तत्वलाई मिश्रित गरेर जुन लोकतान्त्रिक समाजवादी राजनीतिक/आर्थिक प्रणाली अपनायो त्यसले नै त्यहाँ शान्ति र राजनीतिक स्थिरता पैदा गरेको रहेछ । खाली स्वतन्त्रतापूर्वक बोल्न मात्र पाइने तर खान लाउन नपाइने नेपालको र अरु कैयन् देशको पुँजीवादी राजनीतिक प्रणालीको तुलनामा नर्वेको प्रणाली नितान्त भिन्न देखिन्छ । त्यहाँ निस्फिक्री बोल्न पनि पाइन्छ, आवश्यकता अनुसार खानलाउन पनि पाइन्छ ।
नर्वेमा शिक्षा लगभग निःशुल्क छ, स्कुलदेखि विश्वविद्यालयसम्मै । कम्तीमा तीन महिना नर्वेमा बसेका कुनै पनि विदेशी मानिसले समेत निःशुल्क शिक्षाको सुविधा उपभोग गर्न पाउँछन् ।
छ वर्ष पुगेको हरेक नागरिकका लागि दश वर्षको अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । दश वर्षे शिक्षाको दुईवटा भाग छ- पहिलो, एकदेखि सात कक्षासम्मको प्राथमिक शिक्षा र दोस्रो आठदेखि दशकक्षा सम्मको निम्नमाध्यमिक शिक्षा । यो तह सिध्याएपछि फेरि तीन वर्षको उच्चमाध्यमिक शिक्षाको प्रबन्ध गरिएको छ । यो तहको शिक्षा पनि निःशुल्क छ तर किताब र जरुरी उपकरणहरू चाहिँ बाबुआमाले किन्नुपर्छ । त्यसपछि पाँच वर्षको विश्वविद्यालय शिक्षाको व्यवस्था गरिएको छ जसमा ब्याचलर तह तीन वर्षको र मास्टर्स तह दुई वर्षको हुन्छ । यो तहको शिक्षा पनि निःशुल्क छ तर किताब र बस्नेखाने प्रबन्धका लागि राज्यले हरेक विद्यार्थीलाई ऋणको व्यवस्था गरेको छ, जुन पछि काम गरेर किस्ताबन्दीमा सरकारलाई तिर्नुपर्छ । कुनै पनि नागरिकले बाबुआमासित पैसा भएन र उच्च शिक्षामा पढ्न पाइएन भन्ने स्थितिको अन्त्य गरिएको छ । अठार वर्ष नाघेका हरेक नागरिकले बाबुआमासित भर नपरेर राज्यसित सिधै आफैंले ऋण लिएर उच्च शिक्षा हासिल गर्न सक्छन् र रोजगारी भएपछि किस्तामा तिर्न सक्छन् । तीन वर्षको पिएचडीको व्यवस्था पनि नर्वेमा छ जसलाई नर्वेमा रोजगारीसहितको शिक्षाको रूपमा हेरिन्छ ।
नर्वेमा कुनै पनि नागरिकले बिरामी पर्दा के गर्ने भनेर चिन्ता गर्नु नपर्ने व्यवस्था गरिएको छ । त्यहाँको कुनै पनि स्तरको स्वास्थ्यसेवा प्रायशः निःशुल्क छ । हरेक नागरिकका लागि नगरपालिकामार्फत निःशुल्क प्राथमिक स्वास्थ्य उपचार र क्षेत्रीय स्वास्थ्य अधिकारीमार्फत विशेषज्ञस्तरको स्वास्थ्य सेवाको प्रबन्ध पनि नर्वेमा गरिएको छ । यी जम्मै कुराका लागि सरकारले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्छ र केही रकम अनुदानका रूपमा दिन्छ । स्वाथ्य बीमाका लागि हरेक नागरिकले आफ्नो आयको ७/८ प्रतिशत रकम र बिरामी शुल्क भनेर छुट कार्ड पाउन थोरै रकम र ओखती खर्च आफैले तिर्नुपर्छ तर त्यति गरेपछि स्वास्थ्य सेवामा पहुँच सिधै हुनजान्छ ।
काम गर्न सक्षम हरेक नागरिकका लागि नर्वेको संविधानको धारा ११० ले रोजगारी पाउने र रोजगारीमार्फत मानवीय जीवन जिउन पाउने हक सुनिश्चित गरेको रहेछ । रोजगारीको हक भएकै हुनाले नर्वेमा बेरोजगारी दर युरोपमै सबैभन्दा न्यून अर्थात् तीन प्रतिशतको वरपर रहेछ । युरोपका मुलुकमध्ये नर्वेमा ज्याला दर पनि सबैभन्दा उच्च रहेछ ।
purbelitimes
0 commentaires