जितेन्द्र साह काठमाडौ, जेष्ठ ३० - पशुपतिनाथ मन्दिरमा पुजारीहरूलाई मुख्य तनाव केले दिएको होला ? तपाईंलाई लाग्ला- दैनिक उर्लिने भीडले ।तर होइन, उनीहरूलाई त मुसा र साङ्लाले हैरानै बनाएको रहेछ !
मूल भण्डारी र कर्मचारी (बिसेट) ले आइतबार बुझाएको प्रतिवेदनमा हजारौं मुसा र साङ्लाले मूल मन्दिरको ज्योतिर्लिंगमा बाधा पुर्याएको औंल्याएका छन् ।
उनीहरूले मन्दिरको गजूर ढल्केको, टुँडाल र झ्याल खस्ने क्रममा रहेको, मन्दिरका काठ र इँटा खस्ने क्रम बढेको, मन्दिरभित्रको चाँदीको बसाहा मर्मत गर्नुपर्ने देखिएको, मन्दिरको पेटीभरि साङ्ला र मुसाको बास रहेको र पशुपतिको गर्भ गृहमा राखिएका चाँदीका डलरहरू खिइएको बेलिबिस्तार लाएका छन् । यसले गर्दा समग्र मन्दिर अशोभनीय देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उनीहरूले पशुपतिनाथ मन्दिर जीर्ण र खतरापूर्ण रहेको २० बुँदे सुझावसहितको प्रतिवेदन आइतबार पशुपति अध्ययन व्यवस्थापन स्वतन्त्र अधिकारसम्पन्न समितिलाई बुझाएका हुन् । समितिका संयोजक सर्वोच्च अदालतका पूर्वन्यायाधीश केदारनाथ आचार्यले सुझावको ठेली बुझेका छन् । प्रतिवेदनमा पशुपति क्षेत्र विकास कोषले यस्ता समस्यामा केही नगरेको र मन्दिर जीर्णोद्धारको अत्यन्त आवश्यकता रहेकोसमेत देखाइएको छ ।
विक्रम संवत् ५१६ मा लिच्छविकालीन राजा मानदेवद्वारा निर्मित प्रसिद्ध यो मन्दिरको राजा भूपतिन्द्र मल्ल र चन्द्रशमशेरका पालामा गरी दुई पटक मात्र जीर्णोद्धार गरिएको प्रतिवेदनमा उल्लेख छ । मन्दिरभित्रका चाँदीका द्वारहरू भताभुंग देखिन्छन् । मन्दिरका बिसेट नाइके अरुण श्रेष्ठ र मूल भण्डारीहरू कवीन्द्र राजभण्डारी, कृष्ण राजभण्डारी, बलराम राजभण्डारी र देवमान राजभण्डारीले उक्त सुझाव तयार गरेका हुन् ।
सर्वोच्च अदालतको निर्देशनात्मक आदेशअनुरूप गठित स्वतन्त्र समितिको प्रतिवेदन नआउँदै मन्दिरको दुरवस्था हुने हो कि भन्ने आशय प्रतिवेदनमा व्यक्त गरिएको छ । माघ १० देखि काम थालेकाले समितिले असार मसान्तभित्र पशुपति सुधार र पारदर्शिताबारे प्रतिवेदन तयार गरिसक्नु पर्नेछ ।
मूल भण्डारी कवीन्द्र राजभण्डारीले पशुपति क्षेत्र विकास कोषलाई छ महिनाअघि लिखितपत्र बुझाएर यो स्थितिबारे अवगत गराएको र त्यसपछि पटक-पटक ताकेता गर्दा पनि ध्यान नदिएको बताए । 'तत्कालै मन्दिर ढल्ला भन्न खोजेको होइन, जीर्ण अवस्थामा देखिएकाले बेलैमा मर्मतसम्भार नगर्दा त्यो दिन पनि नआउला भन्न सकिन्न,' बिसेट नाइके अरुण श्रेष्ठले कान्तिपुरसँग भने ।
समितिका सदस्य एवं प्रवक्ता प्राध्यापक रामप्रसाद दाहालले सुझावसहितको प्रतिवेदन आउनेबित्तिकै मन्दिरको स्थलगत भ्रमण गरिएको बताए । 'बिसेट र मूल भण्डारीले भनेझंै मन्दिरको स्थिति देखियो, बाँदरलाई नियन्त्रण गर्न नसक्दा मन्दिरको गजूर ढल्केको पाइयो,' दाहालले भने, 'आज र भोलि नै मन्दिर ढलिहाल्दैन, राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायको नजरमा परिराख्ने थलो भएकाले तत्काल जीर्णोद्धार सुरु गर्न कोषलाई जानकारी गराएका छौं ।'
कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले यो विषयलाई संवेदनशील रूपमा लिएर एक वर्षअघि पशुपतिबारे जानकारहरू सम्मिलित विशेषज्ञ कार्यदल बनेको बताए । उनले विश्वसम्पदा सूची र प्राचीन स्मारक संरक्षण ऐनअन्तर्गत यो क्षेत्र परेकाले हतार र मनपरी ढंगले जीर्णोद्धार गर्न नमिल्ने बताए । उनले पशुपतिबारे स्वतन्त्र अधिकार समितिमा परेको प्रतिवेदनमा औंल्याएको झैं कोष 'सुतेर नबसेको' बताए । 'कार्यदलको प्रतिवेदनअनुरूप अघि बढ्ने हो,' उनले भने, 'यसबारे अध्ययन जारी छ, प्रतिवेदन आएपछि सोहीअनुरूप क्रमशः काम सुरु गर्नेछौं ।'
ekantipur
0 commentaires