जहाँसुकै इन्टरनेट


लिलानाथ घिमिरे काठमाडौ, जेष्ठ ३० - केही साताअघि सगरमाथा आरोहण गर्न गएका बेलायती नागरिक केन्टन कुलले चुचुरोमा पुगेर इन्टरनेटमार्फत टि्वट गरे । उनले टि्वटरमा लेखेका थिए, 'पूरै संसारलाई ३६० डिग्रीको कोणमा म जसरी देखिरहेको छु, त्यसको रोमाञ्चलाई वर्णन गर्न म असमर्थ छु ।' उनलाई श्रीमतीसँग संसारकै अग्लो स्थानमा उभिँदाको अनुभव साट्ने अवसर एनसेलको थि्रजी डाटा कार्डले जुटाइदिएको थियो । खुम्बु क्षेत्रमा स्थापना गरिएको टावरले पूरै सगरमाथा क्षेत्रमा इन्टरनेट चलाउन सकिने भएको छ । यसले आरोहीलाई यात्राको रोचक अनुभव परिवारका सदस्य र साथीभाइसँग साट्न सजिलो भएको छ ।
साँच्चै प्रविधिले छोटो अवधिमा मारेको फड्को ती आरोहीले सगरमाथाको टुप्पोमा पुग्दाको वर्णन शब्दमा गर्न नसकेजस्तै छ । टेलिफोनको तार जोडेर चलाइने डायलअप इन्टरनेट संग्रहालयमै खोज्नुपर्ने भइसक्यो । इन्टरनेट जमाना तार जोडेर चलाइने एडिएसएल, केबुल हुँदै ताररहित प्रविधिमा पुगिसकेको छ । खल्तीमा अट्ने मोबाइल सेट बोक्यो,  इन्टरनेट चलाउँदै हिँड्यो । त्यति साँघुरो किप्याडमा आंैला खेलाउँदा धीत नमरे झोलामा बोक्न सकिने ल्यापटप तपाईको इन्टरनेट साथी बन्न सक्छ । त्यसका लागि तपाईले डाटा कार्ड प्रदान गर्ने कम्पनीसँग कार्ड किन्नुपर्छ । बजारमा सजिलै पाइने (केही कम्पनीले आफैं उपलब्ध गराउँछन्) कार्डर् राख्ने डिभाइस गोजीमा बोकेर तपाई जहाँसुकै -नेटवर्क कभरेजभित्र) पुगेर इन्टरनेट चलाउन सक्नुहुन्छ ।
भर्खरै डाटा कार्ड किनेका राजधानीको एउटा कलेजका १२ कक्षाका विद्यार्थी लक्ष्मण खरेललाई त्यसले निकै साथ दिएको छ । केही साताअघि शैक्षिक भ्रमणमा जाँदा उनले आफ्नो ल्यापटपसँगै यसलाई लगेका थिए । हरेक साँझ अरू साथी मस्त निद्रामा भएका बेला उनी आफ्नो फेसबुक वालमा 'स्ट्याटस अपडेट' गरिरहेका हुन्थे । 'मैले हरेक यात्राको अनुभव आफ्नै ल्यापटपबाट दिनहुँ साथीभाइसँग साट्न पाएँ,' उनले भने, 'विज्ञानको यो आविष्कार मेरा लागि निकै उपयोगी भयो ।'
सिमकार्डबाट चलाउन पाइने भएपछि आम नेपालीबीच इन्टरनेटको पहुँच बढ्दै गएको छ । टेली कम्युनिकेसन कम्पनीहरूले मोबाइल सेवासँगै इन्टरनेटसमेत दिन थालेका छन् । मोबाइलमा मात्र चलाइने इन्टरनेटलाई जेनरल पकेट रेडियो सर्भिस (जिपिआरएस) भनिन्छ । त्यो सेवा कुरा गर्न मिल्ने सिमकार्डमा उपलब्ध हुन्छ । टेलिकम्युनिकेसन कम्पनीहरूले इन्टरनेट मात्र प्रयोग गर्न मिल्ने डाटा कार्ड उपलब्ध गराउन थालेका छन् । नेपालमा नेपाल टेलिकम, एनसेल र युटिएलले डाटा कार्ड उपलब्ध गराउँदै आएका छन् ।
बजारमा सिडिएमए (कोड डिभिजन मल्टिपल एक्सेस) र जिएसएम (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसनस) प्रविधिका डाटा कार्ड उपलब्ध छन् । दुवैका दोस्रो पुस्ता (टुजी) र तेस्रो पुस्ता (थ्रीजी) का डाटा कार्ड छन् ।
मुलुकको सबैभन्दा पुरानो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले सिडिएमए, इभिडिओ (इभोल्युसन डाटा अप्टिमाइज) र थि्रजी डाटा कार्ड उपलब्ध गराउँदै आएको छ । सिडिएमएमा इन्टरनेटको गति १५३.६ केबिपिएस छ । यसलाई डायलअप कनेक्सन जस्तै कम्प्युटरमा सफ्टवेयर सेटअप गरेर चलाउन सकिन्छ । यसको अवधि रिचार्ज कार्डको शुल्कअनुसारै हुन्छ । कार्डबाट इन्टरनेट चलाउन मोडेमयुक्त सिडिएमए मोबाइल सेटलाई मोडेमका रूपमा प्रयोग गरेर गर्न सकिन्छ । बजारमा डाटा कार्ड राखेर इन्टरनेट चलाउन मिल्ने सिडएमए युएसबी डिभाइससमेत उपलब्ध छन् ।
इभिडियो पनि सिडिएमए प्रविधिको उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सुविधा दिने कार्ड हो । यसलाई सिडिएमएको थि्रजी कार्ड पनि भनिन्छ । यो कार्ड दु्रत गतिमा इन्टरनेट चलाउने र धेरै डाटा आदानप्रदान गर्नुपर्नेहरूका लागि उपयुक्त रहेको टेलिकमको दाबी छ ।  यसलाई पनि युएसबी मोडेम, इभिडिओ मोबाइलमा राखेर चलाउन सकिन्छ । यसबाट इन्टरनेटको गति डाउनलिंक २.४ मेगाविट्स प्रतिसेकेन्ड र अपलिंक १५३ किलोवाइट्स प्रतिसेकेन्ड छ । यसको कभरेज क्षेत्र काठमाडौं, बनेपा र पोखरामा रहेको कम्पनीले जनाएको छ ।
टेलिकमले करिब एक महिनाअघि मात्र थि्रजी डाटा कार्ड भित्र्याएको छ ।  जिएसएम प्रविधिको यो कार्डबाट इन्टरनेट ३.६ एमबिपिएसको गतिमा चलाउन सकिने कम्पनीले जनाएको छ । 'यो उच्च गतिको इन्टरनेट चलाउनेहरूकै लागि ल्याइएको हो,' टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने । यसबाट इन्टरेटका साथै इन्टरनेटका माध्यमबाट हुने भ्वाइस, भिडियोलगायत डाटा आदानप्रदान गर्न सकिन्छ । यसको अर्थ यसबाट स्काइप, याहु मेसेन्जरलगायत माध्यमबाट भिडियो च्याटसमेत गर्न सकिन्छ । यसको कभरेज अहिलेका लागि काठमाडौं उपत्यका, बनेपा, पोखरा र लुम्बिनीमा मात्रै छ । 'हामी छिट्टै थि्रजी नेटवर्क विस्तार गर्ने तयारीमा छौं,' थिकेले भने ।
यो कार्ड किन्न सुरुमा ग्राहकले ३ सय रुपैयाँ तिर्नुपर्छ । यसबाट सय रुपैयाँ बराबरको डाटा प्रयोग गर्न पाइन्छ । यो कार्ड प्रयोग गर्न युएसबी इन्टरनेट एडप्टर चाहिन्छ । उपभोक्ताले यो डिभाइस बजारमा किन्न पाउँछन् । कम्पनीसँग १ लाख थि्रजी कार्ड वितरण गर्ने क्षमता रहेको टेलिकम प्रवक्ता थिकेले बताए । टेलिकमले सबै प्रकारका डाटा कार्डबाट चलाइने इन्टरनेट शुल्क प्रति १ सय किलो वाइट्सको १५ पैसा तोकेको छ ।
टेलिकमले बजारमा उपलब्ध सबै प्रकारको प्रविधिबाट इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएको प्रवक्ता थिकेले दाबी गरे । उनका अनुसार कम्पनीका इन्टरनेट प्रयोग गर्ने ग्राहक ९ लाख छन् । तीमध्ये मोबाइलबाट जिपिआरएस चलाउने ८ लाख १५ हजार, सिडिएमबाट चलाउने १ लाख, इभिडिओका १ हजार ५ सय छन् । थि्रजी सेवा भर्खरै सुरु गरिएकाले ग्राहक बढ्ने क्रममा रहेको उनले बताए ।
मुलुककै पहिलो निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले उच्च गतिमा चलाउन मिल्ने युएसबी डाटा कार्ड उपभोक्तालाई उपलब्ध गराउँदै आएको सञ्चार अधिकृत सञ्जु कोइरालाले बताइन् । यसको गति ३.६ मेगा बाइट प्रतिसेकेन्ड छ । डेक्सटप, ल्यापटप कम्प्युटर मोबाइलमा समेत प्रयोग गर्न सकिने यो कार्ड युएसबी डिभाइसमा जोडेर चलाउन सकिन्छ । जहाँसुकै बोकेर हिँड्न सकिने यो डिभाइसलाई घर, कार्यालय, घरबाहिर जहाँसुकै चलाउन सकिने उनले जानकारी दिइन् । एनसेलको जुनसुकै बिक्री केन्द्रमा यो कार्ड उपलब्ध छ । युएसबी डाटा कार्डको मूल्य एनसेलले सुरुमा १ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।
कम्पनीले सामान्य र प्याकेज गरी दुई प्रकारका डाटा उपलब्ध गराएको छ । साधारण प्रयोगकर्ताले प्रतिएमबी २ रुपैयाँ शुल्क तिर्नुपर्छ । प्याकेजअनुसार भने ५ सय एमबीको ३ सय ९९ रुपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसैगरी १ हजार एमबीको ६ सय ९९ रुपैयाँ र ५ हजार एमबीको १ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्छ । प्याकेजमा लिँदा भने उपभोक्तालाई प्रतिएमबी डाटाको ४० पैसादेखि ८० पैसासम्म पर्छ । प्याकेज नकिनी इन्टरनेट चलाउँदा भने प्रतिएमबी २ रुपैयाँ शुल्क तिर्नुपर्ने कोइरालाले जानकारी दिइन् । प्याकेज किन्न उपभोक्ताले मोबाइलबाट एसएमएस गरे पुग्छ । प्याकेज सिम कार्ड 'एक्टिभ' रहेसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । डाटा कार्डमा ब्यालेन्स बजारमा पाइने एनसेलका रिचार्ज कार्डबाट थप्न सकिन्छ ।
एनसेलले थि्रजी डाटा सेवा सर्वोच्च शिखर सगरमाथासहित मुलुकका विभिन्न १५ स्थानमा उपलब्ध गराउँदै आएको सञ्चार अधिकृत कोइरालाले बताइन् । पहिले लिइसकेको जिएसएम सिमकार्डमा समेत यो सुविधा थप्न सकिन्छ । 'थि्रजी सेवा नपुगेका ठाउँमा टुजी सिमबाट इन्टरनेट चलाउन सकिन्छ,' उनले भनिन् ।
युटिएलले असीमित अवधिको डाटा कार्ड उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । यसले चौबीसै घन्टा र राति मात्र चलाउन मिल्ने गरी सुविधा दिएको छ । चौबीसै घन्टा चलाउन सुरुमा ८ सय ४८ रुपैयाँ तिरेर जोडेपछि हरेक महिना भ्याटबाहेक ५ सय रुपैयाँ तिर्नुपर्छ । सुरुमै ५ हजार ९ सय ५३ रुपैयाँ तिरेपछि ग्राहकले एक वर्षसम्म २४ सै घन्टा चलाउन पाउँछ । राति मात्र चलाउने हो भने सुरुमा ६ सय २२ रुपैयाँ तिरेर जोडेपछि मासिक भ्याटबाहेक ३ सय रुपैयाँ तिरे पुग्छ ।
डाटा कार्डमार्फत इन्टरनेट चलाउन बजारमा थरिथरीका डिभाइसहरू उपलब्ध छन् । डंगोल, युएसबी डेटा कार्ड समेत भनिने यो डिभाइस चिनियाँ कम्पनी जेडटिईले नेपालमा भित्रयाएको छ । नेपालका लागि आधिकारीक बिक्रेता बिके टे्रडर्सका शिरीष मुरारकाका अनुसार यो डिभाइस कार्ड राखेर कम्प्युटरको युएसबी पोर्टमा जोडेपछि सीधै इन्टरनेट ब्राउज गर्न सकिन्छ । 'हाम्रो डिभाइसलाई सफ्टवेयर सेटिङ गर्नु पर्दैन,' उनले भने, 'जोड्नासाथ इन्टरनेट चलाउन सकिन्छ । यस्तो डिभाइस आफ्नो र्फमले नेपालमा पहिलोपटक भित्र्याएको उनले दाबी गरे । यसले इन्टरनेटको गति इन्टरनेट प्रदायक कम्पनी (आइएसपी) ले दिएअनुसार ३.६ एमबिपिएससम्म दिने उनले बताए । यसको मूल्य ३ हजार २ सय ९० रुपैयाँ छ । ट्रेडर्सले एउटै डाटा कार्डबाट एकै पटक ५ वटा कम्प्युटरमा इन्टरनेट चलाउन मिल्ने जेडटिइकै 'एमएस ३० थि्रजी वाइफाइ डिभाइस' समेत बजारमा बेच्दै आएको छ । 'यो डिभाइसमा थि्रजीको सिम राखेर ५ वटा कम्प्युटरमा एकैपटक इन्टरनेट चलाउन सकिन्छ,' मुरारकाले भने, 'वाइफाइयुक्त भएकाले कुनै तार जोड्नु पर्दैन । यसको मूल्य कम्पनीले ८ हजार रुपैयाँ तोकेको छ ।
बजारमा डाटा कार्डबाट इन्टरनेट चलाउन मिल्ने सस्ता डिभाइस पनि उपलब्ध छन् । ती सेट १ हजार रुपैयाँदेखि उपलब्ध हुने एक व्यापारीले बताए । तिनमा भने डाटा उपलब्ध गराउने कम्पनीले दिएकै गतिमा इन्टरनेट उपलब्ध हुने ग्यारेन्टी भने हुन्न । इन्टरनेटलाई तोकिएकै गतिमा चलाउन डिभाइसको छनोट महत्त्वपूर्ण हुने व्यापारीहरू बताउँछन् ।

ekantipur

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login