'अस्पतालको लापरवाही'ले गर्भवती महिलाको मृत्यु

पवित्रा सुनार, काठमाडौं, जेठ २९- सुरक्षित प्रसूतिका लागि राजधानीको थापाथलीस्थित परोपकार प्रसूति अस्पताल भर्ना भएकी एक महिलाको 'अस्पतालको लापारबाही' ले मृत्यु भएको छ।     नुवाकोट ककनीकी ३२ वर्षीया सरिता तामाङको शुक्रबार राति अस्पतालमै मृत्यु भएको हो। उनलाई व्यथा लागेको दुई घन्टाभित्र बिहीबार बिहान ६ बजे अस्पताल पुर्‍याइएको थियो। व्यथाले च्यापे पनि बेलैमा डाक्टर नआएका तथा डाक्टर बोलाउन अनुरोध गर्दा पनि नर्सले बेवास्ता गरेकाले सरिताको मृत्यु भएको आफन्तको दाबी छ। कुरुवा सुनिता लामाका अनुसार शुक्रबार राति ११ बजे सरितालाई गाह्रो भएको थियो। खबर गरेपछि आएका नर्स सामान्य समस्या भन्दै फर्केर सुत्न गएका थिए। व्यथा झन् बढेपछि फेरि बोलाउन गए पनि दुई घन्टापछि मात्र नर्सहरू उठेको सुनिताले बताइन्। उनले भनिन्, 'दुई घन्टापछि नर्सहरू बल्ल आएका मात्र थिए, पहिलोचोटी यस्तै गाह्रो हुन्छ भन्दै ध्यानै दिएनन्।' हारगुहार गरेको अढाइ घन्टा पछि डाक्टर आए पनि त्यसबेला बिरामीको अवस्था नाजुक भइसकेको सुनिताले जानकारी दिइन्।  बिरामीको अवस्था गम्भीर हुँदै गएपछि सुनिताले बाहिर बसेका सरिताका पति सञ्जयलाई फोन गरी भित्र आउन आग्रह गरिन्। सुरक्षाकर्मीले छिर्न नदिएपछि उनी तत्काल भित्र जान सकेनन्। सञ्जयले भने, 'केही बेरपछि म भित्र पुग्दा उनी (सरिता) गइ सकेकी रहिछन्।' प्रसूति वार्डमा राति पुरुष कुरुवालाई भित्र बस्न नदिने अस्पतालको नियम छ। ढिलो आएका डाक्टर र नर्सले मृत्यु भइसकेको बिरामीलाई पम्पिङ गरेको तथा थप उपचारका लागि भन्दै भेन्टिलेटरमा राखेको मृतकका आफन्तको आरोप छ। 'कहिले उच्च रक्तचापले मृत्यु भयो भन्छन्, कहिले क्षयरोग लागेको थियो भन्छ,' सञ्जयले भने।  लापरबाहीले नभई प्रसव व्यथाका बेला देखिएको उच्च रक्तचाप समस्याले बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ। 'बिरामीमा उच्च रक्तचाप रहेछ, त्यही समस्याले नै मृत्यु भएको हुनसक्छ,' अस्पतालकी निर्देशक डा. लता बज्राचार्यले भनिन्।  ड्युटीमा खटिएका नर्स समयमै उपस्थित नहुनु नर्सको कमजोरी भएको र यसबारे अस्पतालले छानबिन गर्ने नर्सिङ मेट्रोन साजना रञ्जितले बताइन्।  अस्पताल भर्ना हुनुअघि बालाजु बाइपासस्थित भावना फर्मामा सरिताको नियमित जाँच गरिएको थियो। फर्माले जेठ १४ मा प्रसूतिको मिति तोके पनि १२ दिन ढिलो व्यथा लागेको थियो। व्यथा लाग्ोको थाहा पाउनेबित्तिकै प्रसूति अस्पताल पुर्‍याएको सञ्जयको भनाइ छ।  ढिलो व्यथा लागेकाले अपरेसन गरी प्रसूति गराउन आग्रह गरेकोमा डाक्टरले नमानेको सञ्जयको आरोप छ। 'म डाक्टर कि तपाईं भनी मलाई हप्काए, त्यसपछि चुप लागेर बसेँ,' उनले भने। अस्पतालकी निर्देशक वज्राचार्यले बिरामीको आफन्तको मागभन्दा चिकित्सकको निर्णयले मात्र शल्यक्रिया गरिने बताइन्।' भन्नेबित्तिकै शल्यक्रिया गर्ने हो भने दैनिक प्रसूतिका लागि ८० जना आउँछन्, कतिको शल्यक्रिया गर्ने?' उनले भनिन्।  अस्पतालमा आएपछि गरिएको भिडियो एक्सरे रिपोर्ट सामान्य देखिएकोले सकेसम्म सामान्य प्रसूति प्रक्रिया सुरु गरेको निर्देशक वज्राचार्यले बताइन्। अस्पताल भर्ना भएपछि चिकित्सकले रगत जाँच गर्नुका साथै व्यथा लगाउने औषधी 'मिजापोस्ट्रल' दिएका थिए।  मृतकका आफन्तले अस्पतालको 'लापरवाही' ले मृत्यु भएको भन्दै क्षतिपूर्तिका लागि अस्पतालमा निवेदन दिएका छन्। क्षतिपूर्तिबारे केही निर्णय गर्न नसकिने भएकाले यसबारे स्वास्थ्य मन्त्रालयमा छलफल गरिने अस्पतालले जनाएको छ।

नागरिक
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login