देहरादुन (भारत), जेष्ठ २९ - विदेशमा रहेको कालोधन फिर्ता र भ्रष्टाचारविरुद्ध कानुनको माग गर्दै ८ दिनदेखि अनसनमा रहेका योग गुरु स्वामी रामदेवले आइतबार अनसन तोडेका छन् ।अध्यात्मिक गुरु श्री श्री रविशंकर र मुरारी बापुको आग्रहमा रामदेवले नवौं दिन अनसन तोडेका हुन् । अध्यात्मिक गुरु रविशंकरले जुस खुवाएर रामदेवको अनसन तोडाएको सहयोगी आचार्य बालकृष्णले पुष्टि गरेका छन् ।अनसन तोडेकोबारे जानकारी दिन देहरादुनस्थित हिमालयन अस्पतालमा चिकित्सक र आचार्य बालकृष्णले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् । चिकित्सकले रामदेवको स्वास्थ्य राम्रो भएको जनाएका छन् भने आचार्य बालकृष्णले अनसन तोडे पनि भ्रष्टाचारविरुद्धको लडाईं जारी रहने बताए ।राजधानी नयादिल्लीस्थित रामलीला मैदानमा रामदेवले अनसन सुरु गरे पनि सरकारले हटाएर हरिद्वार पुर्याएको थियो । हरिद्वारमा अनसन जारी रहेकाबेला उनी बिरामी भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।रामदेवको स्वास्थ्य बिग्रिएको भन्दै अनसन तोडाउन अखिल भारतीय सन्त समितिका अध्यात्मिक गुरुद्वय श्री श्री रविशंकर र मुरारी बापु अस्पताल पुगेका थिए । तीन दिनको प्रयासपछि रामदेवले अनसन तोड्न राजी भएका थिए । रामदेवले अनसन तोडेपछि उनका भक्तहरुले नयाँदिल्ली, हरिद्वार, देहरादुनलगायतका क्षेत्रमा स्वास्थ्य लाभको कामना गर्दै भजन सुरु गरेका छन् ।
ekantipur
0 commentaires