गाउँलेले पूर्ण अनुसन्धान नगरी लास लान नदिने अडान राखे पनि पोस्टमार्टमपछि प्रहरीले बल प्रयोग गरेर हतार-हतार दाहसंस्कार गराएको थियो
मोहन भट्टराई मोरङ, २९ जेठ हत्याको केसलाई प्रहरीले 'आत्महत्या गरेको' मिसिल तयार गरेको भन्दै मृतकका आफन्तले आपत्ति जनाएका छन् । डाँगीहाट-५ लक्ष्मीमार्गकी तुलसा परियारको हत्या भए पनि प्रहरीले आत्महत्याको मिसिल तयार पारेर घटना ढाकछोप गर्न खोजेको मृतकका आफन्तको दाबी छ । २२ वषर्ीया परियारको आफन्तले 'अनुसन्धान' झुटो भएको भन्दै पुनः अनुसन्धान गर्न माग गरेका छन् । तुलसाका श्रीमान्, सासू, ससुरा, देवर र जेठीसासू मिलेर हत्या गरेको मृतकका आफन्तको दाबी छ । शनिबार मोरङका प्रमुख जिल्ला अधिकारीलाई भेटेर तुलसाका बुबा सहवीर र आमा निलमाया घले-परियार)ले दोषीलाई कारबाहीको माग गरे । उनीहरूले जिल्ला प्रहरी कार्यालयमा शनिबार पुनः छानबिनका लागि निवेदन दिएका छन् । परियारको शव २५ जेठमा घरको कोठामा पासो लगाएको अवस्थामा भेटिएको थियो । तुलसाको चिउँडो र शरीरमा चोट भएको, झुन्डिएको अवस्थामा पनि मुन्टो पछिल्लतिर फर्किएको र घुँडा टेकेको अवस्थामा शव फेला परेको थियो । घटनाको सूचना पाएर अनुसन्धानमा गएको प्रहरीले भने घटना विवरणमा कुनै पनि कुरा नखुलाई आत्महत्या भन्दै कागजात तयार गरेर मामला सल्टाउन खोजेको बुबा सहवीर घलेको दाबी छ । पोस्टमार्टम रिपोर्टमा भने मृतकको पेट सुन्निएको र अन्य कतै चोटपटक नलागेको उल्लेख गरिएको छ । गाउँलेले पूर्ण अनुसन्धान नगरी लास लान नदिए पनि पोस्टमार्टमपछि प्रहरीले बल प्रयोग गरेर हतार-हतार दाहसंस्कार गराएको थियो । छिमेकी लोकबहादुर बस्नेतले घटनाको अघिल्लो राति चर्को झगडा भएको सुनिएको, तर सधैँ झगडा हुने गरेकाले धेरै चासो नलिएको बताए । यता, इप्रका बेलबारीका प्रहरी अधिकृत दुर्गाप्रसाद थापाले आफूले निष्पक्ष अनुसन्धान गरेको दाबी गर्दै किटानी जाहेरी दिएका ३ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताए । प्रहरीले स्थानीयवासीको चर्को दबाबपछि घटना भएको तीन दिनपछि बल्ल ससुरा प्रेमबहादुर, आमाजूहरू जैसरा, देवीमायालगायत देवर रमेश र श्रीमान् देवधनलाई पक्राउ गरेको छ । पीडित पक्षले भने तुलसाका श्रीमान्सहित देवर रमेश, ससुरा प्रेम र आमाजूहरू देवी सुन्दास तथा जैसरा दर्नाल मिलेर निर्घात कुटपिट गरी हत्या गरेर झुन्ड्याएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । चौध वर्षको उमेरमै देवधनसँग प्रेम-विवाह गरेकी तुलसाको पटक-पटक श्रीमान् र जेठानीहरूसँग झगडा हुँदै आएको थियो । उनलाई सामान्य विषयलाई लिएर पनि श्रीमान्ले निर्घात कुट्ने गरेको छिमेकी बताउँछन् । पछिल्लोपटक निर्घात कुटपिट गरेकैले तुलसा तीन महिनादेखि नजिकै रहेको माइत पनि गएकी थिइनन् । केही वर्षअघि घरझगडालाई लिएर तुलसालाई कुटपिट गरेकै विषयमा प्रहरी चौकी भाउन्नेमा उजुरी परेपछि १० हजार रुपैयाँ क्षतिपूर्तिसमेत उनीहरूले तिरेका थिए । मृतक तुलसाको २९ महिनाको एक छोरा छन् भने ४ महिनाको गर्भ रहेको आमा नीलमायाको दाबी छ ।
नयाँ पत्रिका
0 commentaires