बालकृष्ण नेपाली अपराधी हुन्: दिग्विजय
काठमाडौ, जेष्ठ २३ - योग गुरु रामदेवका तर्फबाट सरकारसँगको सहमतिमा हस्ताक्षर गरेका आचार्य बालकृष्ण बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले शनिबारदेखि उनी बेपत्ता भएको जनाएको हो ।
उनले रामदेवका तर्फबाट सहमति पत्रमा हस्ताक्षर गरेका थिए । उक्त सहमतिपछि पनि रामदेवको आमरण अनसन नरोकिएपछि सरकारले उनलाई दबाब दिएको बताइएको छ ।
यसैबीच कङ्ग्रेसले बालकृष्णलाई 'नेपाली अपराधी' रहेको र उनले भारतीय पासपोर्ट लिएको आरोप लगाएको पनि टाइम्सले जनाएको छ ।
'जो रामदेवसँग देखिन्छन् उनी नेपाली हुन् र अपराधी हुन् । उनी भारतमा शरणार्थी छन् भने कसरी उनले भारतीय पासपोर्ट लिए अनुसन्धान गरिनु पर्छ' भारतीय सत्तारुढ दल कङ्ग्रेसका महासचिव दिग्विजय सिंहले भनेका छन् ।
रामदेवले भने केही मान्छेहरुले विना कुनै आधार बालकृष्णको चरित्र हत्या गर्ने कार्यमा लागेको उल्लेख गर्दै उनी सुरक्षित र आफ्नो काममा रहेको बताएका छन् ।
सधै रामदेवको योग शिविरदेखि सबै क्रियाकलापहरुमा सँगै देखिने आचार्य बालकृष्ण नेपाली हुन् । उनको जन्म स्याङ्जामा भएको हो । रामदेव योगका गुरु हुन् भने उनी आयुर्वेदका ज्ञाता हुन् ।
ekantipur
0 commentaires