वि.सं. २०५४ साल असोज २ गते लौहपुरुष गणेशमान सिंहको निधन हुँदा देश नै शोकमा डुब्यो । प्रजातन्त्रका निम्ति त्याग र निष्ठाको राजनीति गरेका स्व. सिंहको निधनसँगै उनको नाममा विभिन्न प्रतिष्ठान खोल्ने क्रम पनि शुरु भयो । प्रजातन्त्रमा आस्था राख्ने, प्रजातन्त्रवादीहरुले उनको स्मृतिमा राम्रैसँग औपचारिक र अनौपचारिक ढङ्गबाट श्रद्धा व्यक्त गर्दै त्यस्ता काममा अगुवाई लिए ।
सोही क्रममा झापाको सतासीधाममा पनि कांग्रेस जिल्ला नेता सन्तोष मेन्याङ्वोको नेतृत्वमा गणेशमान सिंह अध्ययन प्रतिष्ठान स्थापना गरियो वि.स.२०५६ सालमा । प्रतिष्ठानका सल्लाहकार संयोजकमा स्वर्गीय सिंहकै पुत्र नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह रहेका छन् । प्रविधिक तथा व्यवसायिक शिक्षालयको भूमिका निर्वाह गर्ने गरी खोलिएको सो संस्थाको मूलभूत उद्देश्य, स्वर्गीय गणेशमान सिंहको स्मृतिमा एउटा मेडिकल कलेज नै स्थापना गर्ने थियो । प्रतिष्ठानका अध्यक्ष मेन्याङ्वोले भने, ‘शिक्षालयबाट हस्पिटल हुँदै एउटा सुविधा सम्पन्न मेडिकल कलेज स्थापना गर्ने लक्ष्य हो ।’ त्यो लक्ष्यसम्म पुग्न त्यसबखत राज्य स्तरबाटै प्रयास नभएको भने होइन, तर प्रयासलाई निरन्तरता नदिइँदा सो योजना अहिले लथालिङ्ग जस्तै भएको छ । प्रतिष्ठानले परिकल्पना गरेको मेडिकल कलेज स्थापनार्थ चाहिने १६ बिघा क्षेत्रफल जमिनमध्ये १० बिघा जमिन पाइसकेको छ । मन्त्रीपरिषदको निर्णयबाट अध्यक्ष मेन्याङ्वोका अनुसार स्थानीय रतुवामाई वृक्षारोपण आयोजनाको १० बिघा जग्गा प्रतिष्ठानको स्वामित्वमा आएको १२ वर्ष हुनै लाग्यो । तर मेडिकल कलेज स्थापनाको सुरसार अझै भएको छैन । मेची अञ्चलका पूर्वी पहाडी जिल्लासहित झापा, कोशी अञ्चलको मोरङ्ग तथा भारतको विहारका समेत सर्वसाधारण बिरामीलाई स्तरीय उपचार सेवा दिने उद्देश्यबाट स्थापना गर्ने लक्ष्य राखिएको मेडिकल कलेज निर्माण सम्वन्धी प्रस्ताव विभिन्न दातृ निकायहरुसमक्ष राखिएकोमा मुलुकको अस्थिर राजनीति र विगतमा रहेको सशस्त्र द्वन्द्वका कारण ती निकायहरुले रकम सहयोग गर्न नसकेको र छिट्टै विभिन्न दातृ निकायबाट सहयोग पाउने अपेक्षा गरिएको प्रतिष्ठानले जनाएको छ । अध्यक्ष मेन्याङवोले भने -’छिट्टै राजनीतिक स्थिरता कायम भएपछि हेल्प नेपाल र भारतीय दूतावासबाट समेत सहयोग आउने अपेक्षा छ ।’ सोका लागि सम्वन्धित पक्षसँग अनौपचारिक र औपचारिक ढङ्गबाट प्रस्ताव गरि छलफल भइरहेको उनले जानकारी दिए ।
प्रतिष्ठानका सह-सचिव पर्शुराम ढुङ्गानाले संस्थाको आजीवन सदस्य बनेवापत प्राप्त बजेटको व्याजबाट हाल जग्गाको मालपोत, कार्यालय भाडा र टेलिफोनको न्यूनतम महसुल तिर्ने गरिएको बताए ।
purbelitimes
0 commentaires