बुढेसकाल-खुला विश्वविद्यालय


मैले आफ्नो अध्ययन क्रममा बुढेसकाल एक डरलाग्दो, उराठलाग्दो र उदेकलाग्दो मात्रै सोच राख्नु गलत हो भन्ने पाएँ । जीवनप्रति उनीहरूको आशा देख्दा बुढेसकालको समय पनि रोमाञ्चक रुपमा बिताउन सकिन्छ भन्ने निस्कर्ष निकालेँ ।
 
डा. रामराज गौतम 
भिजिटिङ प्रोफेसर, युनिर्भसिटी अफ म्यासाच्युसेट्स
वृद्धवृद्धाको जीवनशैली कसरी सहज बनाउने ?
वृद्धवृद्धाहरूलाई मासिक भत्ता दिनु स्वागतयोग्य भएपनि आर्थिक रुपले यो अदुरदर्शी हुनसक्छ । उमेरको मात्र आधारभन्दा पनि शारिरिक रुपले अशक्त र आर्थिक रुपमा असक्षम व्यक्तिहरूलाई मात्र यस्तो सहयोग दिँदा यस कार्यक्रमको बढी प्रभावकारिता हुनसक्छ । 
वृद्ध-वृद्धासम्वन्धी विशेषज्ञता भएको मानव संसाधन विकासमा विशेष ध्यान पुर्‍याउनु पर्छ ।
वृद्ध-वृद्धासम्बन्धि समस्या हल गर्न राष्ट्रिय आयोग गठन गरि दुरदर्शि र हाम्रो सामाजिक-सांस्कृतिक मूल्य मान्यतालाई मिल्ने कार्यक्रमहरू तर्जुमा गर्नुपर्छ । 
शारिरिक रुपले अशक्त (पूर्ण वा आंशिक) र शसक्त वृद्ध-वृद्धाहरूको लागि छुट्टाछुट्टै कार्यक्रमहरू तर्जुमा गर्नुपर्छ । अशक्त वृद्ध-वृद्धाहरूलाई हेरचाह गर्ने परिवारलाई राज्यले केही सहयोग गरेमा ती परिवारलाई ठुलो राहत मिल्नेछ र पारिवारिक सम्बन्ध विकसित गर्न मद्दत पुग्छ ।
शारिरिक रुपले शसक्त वृद्ध-वृद्धाहरूको ज्ञान, सिप र अनुभवलाई सामाजिक र आर्थिक लाभमा परिचालन गर्न सके देश उँभो लाग्नेछ । 
 राष्ट्रिय र अन्तर्राष्ट्रिय बसाई-सराई (स्थाइ-अस्थायी) बाट वृद्ध-वृद्धाहरूलाई आवश्यक परेको समयमा पारिवारिक सहयोगको कमी हुने देखिन्छ । हाल धेरैजसो गाउँघरमा युवाहरू काम र अवसरको खोजीमा शहर र विदेश जाने क्रम बढ्दो छ । नेपालमा गरिएका केही वृद्ध-वृद्धाहरूका अध्ययनले उनीहरु परिवार (विषेशगरि छोरा-बुहारी) सँगै बस्ने चाहना गरेको पाइन्छ । यो चाहना पुरा नहुादा उनीहरुमा निराशा छाउछ । त्यसैले केही दिवा सेवा केन्द्रहरूको स्थापना गरिएमा दिउसोको समयमा उनीहरू आफ्नो उमेरका साथीहरूसँग घुलमिल हुन र वातचित गर्न सक्छन् ।
शारिरिक रुपले पूर्ण असक्त वृद्ध-वृद्धाहरूलाई छुट्टै औषधोपचार गर्ने ठाउँहरूको व्यवस्था गर्न सकिन्छ । 
कास्कीको अर्घौंमा वि.सं २०३१मा जन्मेका डा. रामराज गौतम हाल अमेरिकाको 'युनिर्भसिटी अफ म्यासाच्युसेट्स’मा अध्यापन गर्छन् । सन् २००८ देखि अमेरिकाको सो युनिर्भसिटीमा ँभिजिटिङ प्रोफेसर’को रुपमा कार्यरत उनी त्यहाँ  जेरोन्टोलोजी (स्टडीज अफ एजिङ) विषय पढाउँछन् । त्रिभुवन युनिर्भसिटीबाट समाजशास्त्रमा एम.ए गरेका उनले 'युनिर्भसिटी अफ टोकियो’, जापानबाट जेरोन्टोलोजी विषयमा पी.एच.डी गरेका हुन् । बृद्धावस्थाका विभिन्न आयामहरुमाथी उनका अनूभूति- 
 जब म अनुहारमा चाउरीको खात लागेका बृद्धबृद्धाहरु देख्छु, मलाई यस्तो लाग्छ मानौं जमिनको सानो टुक्रोमा फुल फुलेको छ । टाउकोमा हिउँ परेका, समयले जवानी खाइदिएका वा लौरो टेक्दै वर्तमान समयको लेखाजोखा गरिरहेका बुढा/बुढीहरूका 'गम्भिर अनि तिखा आँखामा' भर्खरको युवाको जस्तै चमक पाउछु म । 
तर, अचम्म लाग्छ, थुप्रै बौद्धिक बृद्धबृद्धाहरु शताब्दी उमेर खाइसक्न लाग्दा पनि जीवनबाट केही सिक्न नसकेको 'निस्सारबोधी' निचोड फेला पार्छन् । कति त अनुहारको सयौं चाउरी पन्छाउँदै भन्छन्, 'समयको लेखाजोखा भर्खरै सुरु भएको छ ।' 
म सधैं सोच्छु, उनीहरूको सारा जीवन एउटा खुला विश्वविद्यालय हो, जसमा हामी अनेकौं किताबका मोटा-मोटा ठेलीबाट पाउन नसकिने अजम्बरि ज्ञान पाउँछौं । वा यसो पनि भनौँ, उनीहरूको जीवन यस्तो शिक्षक हो, जसले अनेक कुरा सिकाउन सक्छ । उनीहरूले सिकाइटोपलेका, सिकिटोपलेका सबै ज्ञानगुनका कुरा हाम्रो जीवनको मार्गदर्शन बन्न सक्छन् । 
विश्वका अन्य देशमा जस्तो हामीकहाँ वृद्धवृद्धासम्बन्धि वैज्ञानिक अध्ययन भएको छैन, जुन साह्रै दुःखलाग्दो कुरा हो । मैले एमए पढ्दा लामो समय देवघाटका वृद्धवृद्धाको जीवन अध्ययन गरेको थिएँ । त्यसबेला मैले उनीहरूका आँखामा जीवनप्रति अविछन्न आशा र ज्ञानको विशाल भण्डार पाएको थिएँ । कठै ! ती बृद्धबृद्धाले हाम्रो समाज र परिवारमा पुर्‍याएको योगदानको उपयुक्त कदर नहुनु सबैभन्दा ठुलो बिडम्बना हो । 
मैले आफ्नो अध्ययन क्रममा बुढेसकाल एक डरलाग्दो, उराठलाग्दो र उदेकलाग्दो मात्रै सोच राख्नु गलत हो भन्ने पाएँ । जीवनप्रति उनीहरूको आशा देख्दा बुढेसकालको समय पनि रोमाञ्चकरुपमा बिताउन सकिन्छ भन्ने निस्कर्ष निकालेँ । 
थुप्रै वृद्ध/वृद्धा जीवनरुपी गाडि रमाइलोसँग हाँकिरहेका छन् । वृद्धाअवस्थामा आउने शारिरिक कमजोरिले उनीहरूमा केही 'डिप्रेसन' आउनु स्वभाविक हो । तर, यो सबैमा आउनैपर्छ भन्ने छैन । जस्तो हामीले देखेका छौं, सय वर्ष नाघेका बृद्धबृद्धा पनि नुहाउने, नङ काट्ने, सर्टमा टाँक हाल्नेसम्मका आफ्नो काम आफैं गर्छन् । उनीहरु जीवनदेखि खुसी छन् ।   
नेपालमा पनि बृद्धबृद्धाको ज्ञान, सिप, अनुभवलाई कसरी समाजको हित र विकासमा लगाउन सकिन्छ भनेर अध्ययन गर्नु जरुरी छ । उनीहरूले समाज र देशलाई दिन सक्ने कुराहरू धेरै छन् । हामी नयाँ पुस्ताले वृद्धवृद्धाहरूको ज्ञान, सिपलाई सदुपयोग गर्न सक्यौं भने हामीले विकासका आइडिया खोज्न अन्ततिर भौंतारिइरहनुपर्दैन । 

वृद्धाश्रमका अनुहारहरू
मैले भेटेका थुप्रै वृद्धवृद्धा जीवनलाई 'इन्जोय' गरिरहेका छन् । तर, जीवनदेखि परित्यक्त वा निरास वृद्ध/वृद्धा पनि यहाँ छन्, जो छोरा/छोरीको मायाबाट बञ्चित भएर वृद्धाआश्रममा बाकीँ जीवन बिताउन अभिशप्त छन् । उनीहरूलाई चाहिँ आफ्नो बाँकी जीवन पनि बोझ लाग्दोरहेछ । शरीरमा मृत्यु बलबान हुँदै गएको भान हुँदोरहेछ । शरीरबाट आत्मबल फुस्केको अनुभव हुँदोरहेछ । रोगले सताइएका वा शरीर नै औषधीको घरजस्तो भएका उनीहरू जीवनदेखि सााँच्चै निरास छन् । उनीहरुलाई न पछाडि फर्केर हेर्न मन छ, न भविष्यको कुनै लेखाजोखा । केही त बृद्धाआश्रममा मृत्यु कुरेर मात्र बस्दारहेछन् । जीवनमा उनीहरूलाई कुनै लालसा बाँकी छैन, कुनै आशा बाँकी छैन । आखिर जीवनको अर्थ र अनुभूति पनि उमेरसापेक्ष हुँदोरहेछ । 
छोराछोरीको मायाबाट बञ्चित वा बृद्धाआश्रमको जीवनमा रुपान्तरित वृद्धवृद्धा मनभरि गाउँघर र आफन्तको यादहरु संगालेर दिनरात छट्पटाउँदा रहेछन् । उनीहरूलाई कसैको भरोसा पनि छैन । छ भने मृत्युको मात्रै छ । छोराछोरीको मायाबाट टाढिएर विरानो संसारमा धकेलिनुको पिडाले जीवन साह्रै दुःखी हुन्छ । राष्ट्रले वृद्धवृद्धालाई सम्मानित नागरिक भनिरहे पनि थुप्रै वृद्धवृद्धाले आफूलाई अपमानित अनुभव गरिरहेका छन् । 

बढ्दो जनसंख्या
जनसंख्यामा वृद्ध-वृद्धाहरूको अनुपात संसारभरि नै बढ्दो क्रममा छ  । विकसित मुलुकहरूको तुलनामा अविकसित/विकासोन्मख मुलुकमा वृद्ध-वृद्धाहरूको वृद्धिदर दु्रत गतिमा बढिरहेको छ । जस्तो प|mान्समा वृद्ध-वृद्धाको जनसंख्या ७ बाट १४  प्रतिशत पुग्न ११५ वर्ष -इ.सं १८६५-१९८०) लाग्यो भने अमेरिकामा ६९ वर्ष -इ.सं १९४४-२०१३), बेलायतमा ४५ वर्ष -इ.सं १९३०-१९७५), अष्ट्रेलियामा ८५ वर्ष -इ.सं १८९०-१९७५) र जापानमा २६ वर्ष (इ.सं १९७०-१९९६) लाग्यो । तर, यही दरले वृद्ध-वृद्धाहरूको वृद्धि हुन सिंगापुरलाई मात्र १९ वर्ष -ई.सं २०००-२०१९), चीनलाई २६ वर्ष -सन् २०००-२०२६), दक्षिण कोरियालाई १८ वर्ष -२०००-२०१८) र श्रीलंकालाई २४ वर्ष -सन् २००२-२०२६) लाग्नेछ । नेपालमा सन् २०००को जनगणनामा वृद्ध-वृद्धाहरूको जनसंख्या ६.५ प्रतिशत थियो  र सन् २०२५/३०मा यो दोब्बर हुने अनुमान गरिएको छ । 
राष्ट्रको विकासको एक सूचकांक औसत आयुमा वृद्धि हुनु पनि हो । तसर्थ वृद्ध-वृद्धाहरूको संख्या बढ्नुलाई कुनै समस्या नभई विकासको प्रतिक मान्नुपर्छ । तर, अर्काे प्रमुख पाटोमा वृद्ध-वृद्धाहरू सामाजिक, आर्थिक, शारिरिक, मानसिक आदि रुपमा सुख-सम्बृद्ध र सन्तुष्ट जीवनयापन गर्नु पनि पर्छ । बृद्धबृद्धाको वृद्धिबाट उत्पन्न हुने नयाँ चुनौतीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने हो । 
विकसित मुलुकहरूले त्यस प्रकारका चुनौतीहरूलाई धेरै पहिल्यैबाट सामना गर्दै आएका छ । तथापी ती मुलुकहरूमा अहिलेपनि वृद्ध-वृद्धासम्बन्धि जटिल चुनौतीहरू विद्यमान छन् । यी चुनौतीलाई सामना गर्न उनीहरू अध्ययन-अनुसन्धानमा लागिपरिरहेका छन् । 
हाल विकासोन्मुख देशहरूले पनि वृद्ध-वृद्धासम्बन्धि विषयलाई केही प्राथमिकता दिन थालेका छन् । जस्तो भारत र चीनले । नेपालमा पनि केही मात्रामा यसको सुरुवात भएको छ-जस्तो वृद्ध-वृद्धाको विषयलाई महिला, बालबालिका मन्त्रालयले हेर्छ । वृद्ध-वृद्धा भत्ता बाँडिन्छ । केही गैरसरकारी संस्थाहरू यस विषयमा केन्दि्रत छन् । तर हालसम्म कुनैपनि विश्वविद्यालयमा यो विषय अध्यापन नगराइनु साह्रै दुःखलाग्दो र अन्तराष्ट्रिय समुदायबिच लाजमर्दो कुरा हो । विस्तृत अध्ययन-अनुसन्धानको कमिका कारण नेपालमा कस्तो मोडेलको वृद्ध-वृद्धासम्बन्धि निती तर्जुमा गर्दा उत्तम हुन्छ भन्नु ज्यादै मुस्किल, अवैज्ञानिक र अदुरदर्शि हुनसक्छ ।                

छोरीले हेर्छन् बाबुआमा
पश्चिमा मुलुकहरूमा वृद्ध-वृद्धाहरूको पारिवारिक अवस्था नेपालको भन्दा बिल्कुलै भिन्न हुन्छ । हामी पश्चिमा मुलुकमा वृद्ध-वृद्धालाई छोराछोरीले हेर्दैनन्, बरु नर्सिङ होम (वृद्ध-वृद्धाको मेडिकल हेरचाह गर्ने स्थान) मा राख्छन् भन्ने सोच्छौं । 
पश्चिमा मुलुकमा राज्यले वृद्ध-वृद्धाका लागि (विशेषगरि आर्थिक र शारिरिक रुपले असक्षमलाई) विभिन्न सहयोगका कार्यक्रम बनाएको हुन्छ । अमेरिकामा प्रायजसो वृद्ध-वृद्धाहरू आफ्नै घरमा बस्छन् । नर्सिङ होममा केवल ५ प्रतिशतजति मात्रै वृद्ध-वृद्धा बस्छन् । त्यहाँ बस्नेलाई  परिवारका सदस्यहरू नियमित भेटघाट गर्छन् र नर्सिङ होमको स्याहार सुसारबारे जानकारि लिइरहन्छन् । 
नर्सिङ होममा बस्ने वृद्ध-वृद्धाहरू शारिरिक रुपले आफ्नो दैनिक स्याहार-सुसार गर्न नसक्ने हुन्छन् । तर उनीहरू सकेसम्म अरूमा (आर्थिक, शारिरिकरुपमा) निर्भर हुन चाहँदैनन् । यो त्यहाँको सांस्कृतिक र सामाजिक मूल्य मान्यता हो । हाम्रोजस्तो संयुक्त परिवारको अवधारणा उनीहरूमा धेरै पहिले नै (औद्योगिकरण हुनुअगावै) अन्त्य भएको छ । तसर्थ झट्ट बाहिरबाट हेर्दा पश्चिमा मुलुकमा छोरा-छोरीले आफ्ना बाबु-आमा वृद्ध र असक्त भएपछि हेर्दैनन्, बरु वृद्धाश्रममा पठाउँछन् भन्ने देखिन्छ, सुनिन्छ । 
तर, त्यहाँ पनि आवश्यक परेको समयमा छोरा-छोरीले बाबु-आमालाई सम्पूर्ण रुपमा हेरचाह गर्छन् । सकेसम्म उनीहरु आफ्ना बाबु-आमालाई नर्सिङ होमहरूमा राख्न चाहँदैनन् । यसका केही कारणहरू छन्-पहिले उनीहरू नर्सिङ होममा राम्रो, भनेजस्तो हेरचाह हुन्छ भन्नेमा विश्वास गर्दैनन् । दोस्रो यो ज्यादै महँगो हुन्छ -जस्तो अमेरिकामा एक जना वृद्धलाई नर्सिङ होममा राख्दा बाषिर्क करिब ७८,००० डलर  पर्दछ । आर्थिक रुपले असक्षम र आ-आफ्नो दैनिक स्याहार-सुसार गर्न नसक्ने व्यक्तिलाई भने राज्य र केन्दि्रय सरकारले सहयोग गर्छ । तसर्थ आवश्यक परेको अवस्थामा छोरा-छोरीलेे बाबु-आमालाई सम्पूर्ण रुपले हेरचाह गर्छन् -६०-७० प्रतिशतभन्दा बढी सहयोग वृद्ध-वृद्धाले छोराछोरीबाटै पाउँछन् । 
एसियाली राष्ट्रहरूमा छोरा-बुहारीले बाबु-आमाको हेरचाह गर्छन् । तर अमेरिकामा चाहिँ छोरीले बुढा बाबुआमालाई बढी सहयोग गर्छन् । कतिपय अवस्थामा छोरा-छोरीले हेरचाह र स्याहार सुसार गर्न खोज्दा बाबु-आमाले त्यो सहयोग स्वीकार गर्न निकै अफ्ठेरो मान्छन्, किनभने, उनीहरूको संस्कृतिमा आफ्नै खुट्टामा उभिनु निकै महत्वपूर्ण मान्यता हो ।
अमेरिकामा आफ्ना बाबु-आमाको स्याहार-सुसार गर्नको लागि धेरै छोरा-छोरी -विषेश गरि छोरी) आफ्नो पूर्णकालीन जागिर छाडेर पार्ट टाइम काम गर्छन् । र, कत्ति महिला त आफ्नो जागिर छोडेर वृद्ध बाबुआमाको केयरगिभर भएर बस्छन् । 
प्रस्तुति: दीपक सापकोटा
spkt.deepak@gmail.com

नयाँ पत्रिका
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login