अबधेश कुमार झा इनरुवा, जेष्ठ ३० - हातहतियारसहित पक्राउ परेकाहरू सुनसरी जिल्लामा धमाधम छाडिएपछि हालै सरुवा भएका प्रमुख जिल्ला अधिकारीसँग यहाँका सुरक्षाकर्मी रुष्ट भएका छन् । गम्भीर प्रकृतिका अपराधीको सूचीमा समावेश भएका पनि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको आदेशमा छुटेका हुन् ।
हातहतियारसमेत पक्राउ गरी बुझाएको केही दिनमै प्रजिअ थपलियाले सामान्य जरिवाना गरेर छाड्न थालेपछि जिल्लाको शान्ति सुरक्षामा गम्भीर असर परेको सुनसरी प्रहरीका एक अधिकृतले बताए । गृह मन्त्रालयले शनिबार गरेको निर्णयअनुसार थपलिया सर्लाही सरुवा भएका छन् । सरुवा सूचना आउनु एक दिनअघि मात्र उनले हातहतियारसम्बन्धी तीन वटा मुद्दा छिनोफानो गरे । उनले ती मुद्दामा सामान्य जरिवाना तोकेर आरोपित मुक्त हुने आदेश गरेका छन् ।
कैद र जरिवाना दुवै गर्नुपर्ने प्रकृतिका मुद्दामा प्रजिअ थपलियाले राजनीतिक दबाब र आर्थिक प्रलोभनमा सामान्य जरिवानामात्र हुने गरी फैसला गर्दै आएको स्रोतको दाबी छ । झन्झटिला प्रक्रियाका कारण देखाएर आरोपितलाई थुनामै राखी लम्ब्याइने गरेका हातहतियार खरखजानाका उनले चालू महिनाका १८ दिनमा १० मुद्दा छिनोफानो गरिदिए । ०६६ कात्तिकदेखि सुनसरी आएका थपलियाको कार्यकालमा यस्ता प्रकृतिका सर्वाधिक ३४ मुद्दा छिनोफानो भएको प्रशासनको तथ्यांकमा छ ।
इटहरीबाट पेस्तोलसहित पक्राउ परेका गोपाल भन्ने नेत्र पौडेल एक लाख रुपैयाँ जरिवानामा छुटे । पौडेल फागुन ११ मा पक्राउ परेका थिए । यस्तै दुहबीबाट पेस्तोलसहित गत फागुन ७ मा पक्राउ परेका सुनिल लामिछाने ८० हजार जरिवानामा छुटे । माघ २२ गते भरुवा बन्दुकसहित पक्राउ परेका बराह क्षेत्रका काजी थापा २० हजार तिरेर छुटे । तीनै जनाको मुद्दा प्रजिअ थपलियाले शुक्रबारै छिनोफानो गरेका हुन् ।
यसअघि गत बिहीबार कटुवा पेस्तोलसहित पक्राउ परेका तीन जना रिहा गरिए । ०६४ सालमा पेस्तोलसहित पक्राउ परेका सुनसरीको चाँदबेला र औरावनीका वीरनारायण खवास, क्यावला मुसहर र झडिलाल मण्डल क्रमशः ४/४ र ६ हजार जरिवाना बुझाई प्रजिअको आदेशअनुसार छाडिए । उनीहरू ०६४ सालमा हातहतियार खरखजाना ऐन संशोधन हुनुअगावै पक्राउ परेकाले पुरानै ऐनअनुसार मुद्दा छिनेको प्रशासन कार्यालयले जनाएको छ । पेस्तोलसहित पक्राउ परेका धरानका हरिबल्लभ राईलाई २१ हजार जरिवाना लिई जेठ १६ मा रिहा गर्ने आदेश दिइयो भने यस्तै अवस्थामा समातिएका भारतीय नागरिक मुस्लिम मियाँलाई ९० हजार जरिवाना लिई छोड्ने आदेश दिइएको छ ।
३४ वटा मुद्दामध्ये अधिकांश पेस्तोलसहित पक्राउ परेकाहरूका थिए । फैसला भएमध्ये धेरैजसो जरिवाना तिरेर रिहा भइसकेका छन् । हतियारधारीलाई सामान्य जरिवाना लिएर छाड्न आदेश दिने प्रजिअ थपलियाले मन मिलेर लजमासँगै भेटिएका युगल जोडीलाई कारागार चलानको आदेश गरेका थिए । दुई महिनाअघि इनरुवास्थित एक होटेलबाट पक्राउ गरिएका दुई जोडीलाई प्रहरीले सुध्रने मौका दिन सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको थियो । त्यसमा प्रजिअले कारागार पठाउने फैसला गरेका थिए ।
हातहतियारसहित पक्राउ गर्दै हातहतियार मुद्दा दर्ता गरेकालाई प्रजिअले सामान्य जरिवाना लिएर छाड्न थालेपछि जिल्लाको शान्ति सुरक्षामा असर पर्ने भन्दै प्रहरी असन्तुष्ट थियो । एक प्रहरी अधिकृतले भने, 'अर्को अपराधी खोज्न हिँड्नुपर्ने पुलिस हातहतियारमा छुटेकाहरूकै पछिपछि लागिरहनुपर्ने भएपछि कसरी सञ्चो मान्न सक्छ ।' प्रजिअ थपलियाको कार्यकालमा सबैभन्दा बढी हातहतियारका ३४ मुद्दा छिनोफानो भएपछि सोमबार जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू पनि दिनभरि नै कागज मिलाउन व्यस्त रहे ।
ekantipur


0 commentaires