रेखा थापा, विगत केही वर्षयता सर्वाधिक सफल र व्यस्त हिरोइनका रूपमा परिचित छिन् । एक दशक बढी भयो उनको अभिनय यात्रा । उनले आफूलाई आजको दिनसम्म ल्याइपुर्याउन कस्ता नीति-नियमहरू लागू गरिन् होला ? आफूसँगै संघर्षको मैदानमा उत्रिएका अन्य दसौं युवतीको भीडलाई छिचोल्दै उनी आफ्नो स्थान बनाउन कसरी सफल भइन् ? रेखा आफ्नो सफलताको रहस्य केलाई मान्छिन् त ? उनी बताउँदै छिन् सफलताको शिखर चुम्ने दस काइदाः
1 मिहिनेतः सफलता हासिल गर्नका लागि मिहिनेतको विकल्प छैन । सफलता त्यत्तिकै प्राप्त हुदैन । सफल हुनका लागि साधना गर्नुपर्छ र त्यो साधना भनेकै मिहिनेत हो । मिहिनेत गर्न रत्तिभर हिचकिचाउनु हुँदैन । अल्छी गर्ने बानी छ भने त्यसलाई आजै, अहिल्यैदेखि त्याग्नुपर्छ । जुनसुकै काममा पनि मिहिनेतविना सफलता हात पर्दैन । म मेरो काममा निकै मिहिनेत गर्छु । आफूलाई अप टु डेट राख्नका लागि कुनै कसर बाँकी राख्दिनँ । सफलताको प्रमुख सूत्र नै मिहिनेत हो ।
2 अनुशासनः जुनसुकै पेसामा लागेको भए पनि अनुशासन निकै महत्त्वपूर्ण हुन्छ । तपाईं जुनसुकै पेसा गर्नुस् तर अनुशासित भएर गर्नुस् । अनुशासनले मान्छेलाई जिम्मेवार बनाउँछ । फिल्म क्षेत्रमा लागेकाले त अनुशासनको पालना अझै धेरै गर्नुपर्छ किनभने यो पब्लिक रिलेडेट प्रोफेसन हो । हामीले गर्ने हरेक गतिविधिप्रति दर्शकको चासो हुन्छ । हामी अनुशासनको मामलामा चुक्यौँ भने त्यसको सीधा असर समाजमा पर्छ । समाजले हामीलाई मन पराउन छाड्यो भने हामी बेरोजगार हुन्छौँ । त्यसकारण जुनसुकै काममा पनि अनुशासन अपरिहार्य हुन्छ ।
3 आफूलाई चिन्नुः आफू के कामका लागि योग्य छु ? त्यो कुराको पहिचान गर्नुपर्छ । आफूमा के खुवी, गुण, ट्यालेन्ट छ त्यसलाई चिनेर मात्र पेसा रोज्नुपर्छ । आफूलाई फिट नहुने, नसक्ने, इच्छा नभएको पेसा रोज्नुहुँदैन । नसुहाउने, घरपरिवारले साथ नदिने काममा हात हाल्यो भने सफल हुने सम्भावना न्यून हुन्छ । त्यसकारण आफू के हुँ, के गर्न सक्छु भन्ने कुरा बुझेर मात्र पेसा छान्नुपर्छ ।
4 सकारात्मक सोचः जुन काम गरिन्छ, त्यसप्रति सधैँ सकारात्मक सोच राख्नुपर्छ । हुन्छ कि हँुदैन, पाउँछु कि पाउँदिनँ भन्ने दोधारे मन गर्नुहुँदैन । आफ्नो पेसा र कामप्रति जहिले पनि सकारात्मक विचार राख्नुपर्छ । कतिपय सहकर्मी फिल्म लाइनलाई गाली गर्छन् । उन्नतिविहीन क्षेत्रमा लागेँ भनेर पछुताउँछन् । जहिले पनि नकारात्मक कुरा मात्र सोच्छन् । फिल्म लाइन खत्तम छ, बेकारमा लागेँ भन्दै हिँड्छन् । यसले गर्दा उसको मन विकृत हुँदै त जान्छ नै त्यसले समाजलाई पनि फिल्म लाइनप्रति वितृष्णा फैलाउने काम गर्छ । त्यसकारण हरेक मान्छेले हरेक कुरामा सकारात्मक सोच राख्नुपर्छ ।
5 पेसाप्रति लगावः जुनसुकै पेसा गरे पनि त्यसप्रति आस्था, विश्वास र लगाव हुनुपर्छ । काम गदर्ैै जाने क्रममा कहिलेकाहीँ असफल पनि भइन्छ । असफल भएँ भन्दैमा हरेस खानुहुँदैन । भनिन्छ नि, असफलता नै सफलताको सिँढी हो । त्यसकारण असफल भइयो भने पनि निरन्तरता दिनुपर्छ । पेसाप्रति इमानदार भई प्रयत्न गरिरहेमा एक दिन सफलता आफंै घुँडा टेक्न आइपुग्छ । यसको प्रत्यक्ष उदाहरण हुनुहुन्छ, विराज भट्ट । उहाँले हिरो बन्नका लागि झन्डै डेढ दशक निरन्तर प्रयास गर्नुभयो । उहाँले हरेस खानुभएन । फलस्वरूप अहिले सफलताले उहाँको ढोका ढकढक्याएको छ । यसको अर्का उदाहरण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि हुनुहुन्छ ।
6 अरूको सफलतामा इष्र्या नगर्नेः आज आफूभन्दा अर्काे मान्छे सफल छ भने उसको इष्र्या गर्नुहुँदैन । बरु आफूले उसबाट सिक्नुपर्छ कि ऊ के कारणले सफल छ । फिल्म लाइनमा अर्काको सफलताको डाह गरेर खुट्टा तान्नेहरू थुप्रै छन् । अर्काको डाह गर्नेले कहिल्यै पनि प्रगति गर्न सक्दैन । अर्काको डाह गरेर उसलाई खत्तम गराउने कुबुद्धि सोच्नुभन्दा आफूले उसबाट के कुरा सिक्न सकिन्छ भन्ने सोच्नुपर्छ । मेरो आजको पोजिसन देखेर रिस गर्नेहरू पनि छन् । तर, म हिजो पनि उनीहरूलाई सम्मान गर्दथेँ र भोलि पनि गरिरहनेछु । अर्काको इष्र्या गर्नेको भलो भएको अहिलेसम्म देखिएको छैन । उदाहरणका लागि टाढा जानैपर्दैन, निखिल उप्रेतीलाई नै हेरून् । उहाँले मेरो सफलताको डाह गर्नुभयो, मलाई खत्तम पार्छु भनेर अनेक कुबुद्धि लगाउनुभयो । आज हेर्नुस् न, निखिलजी कुन अवस्थामा हुनुहुन्छ ?
7 हरेक दिन नयाँ जीवनः प्रत्येक दिनलाई नयाँ जीवनको रूपमा लिनुपर्छ । हरेक दिन आफूले नयाँ जीवन पाएको ठानेर नयाँ जोस, जाँगर, उमंग र सोचका साथ काम गर्नुपर्छ । मैले प्रत्येक बिहान नयाँ जीवन र नयाँ अवसर पाएको महसुस गर्छु । मैले आफूलाई हरेक बिहानीसँगै नयाँ ठान्ने गर्छु । हरेक अवसरलाई चुनौतीका रूपमा लिनुपर्छ । म आफूलाई प्रत्येक बिहान नयाँ हिरोइन ठान्ने गर्छु र नयाँ संघर्ष सुरु गर्छु । नयाँ कुरा सिक्ने, बुझ्ने र जान्ने इच्छा राख्दछु । सबैले यसो गरेमा सफलता हात पार्न गाह्रो हुँदैन ।
8 कामको पूजाः आफूले गर्ने कामलाई भगवान् मानेर पूजा गर्नुपर्छ । आफ्नो कामप्रति भगवान्मा झैं विश्वास हुनुपर्छ । मेरा लागि यही काम सबथोक हो भन्ने सम्झनुपर्छ । जतिसुकै अवरोध, बाधा आए पनि आफूले गरेको कामप्रति विश्वास टुटाउनुहुँदैन । म कामको पुजारी हुँ । मेरो सफलताको एउटा सूत्र यो पनि हो ।
9 बोली र व्यवहारमा शुद्धताः कुनै पनि मान्छे कस्तो छ भन्ने कुरा उसको बोलीचाली र व्यवहारबाट थाह हुन्छ । सबै मान्छे समान हुन् । त्यसकारण सबैलाई उत्तिकै सम्मान गर्नुपर्छ । हामी कलाकारले त झन् यो कुरामा निकै ध्यान दिनुपर्छ । कलाकार हुनुको नाताले दिनहुँजसो अपरिचित मान्छेसँग बोल्नुपर्छ । त्यतिवेला उनीहरूसँग नरम व्यवहार गर्नुपर्छ । चासोका साथ कुरा गर्नुपर्छ । आफूप्रति पब्लिकको धारणा के छ, त्यो बुझ्नुपर्छ । म हिरो, म हिरोइन भनेर गमक्क पर्ने, वास्ता नगर्ने, ठालु पल्टिन थाल्यो भने दर्शकले घृणा गर्न थाल्छन् । त्यसकारण सफलताका लागि बोली, वचन र व्यवहार शुद्ध हुनु एकदमै जरुरी हुन्छ ।
10 आफू भलो त जगत् भलोः हरेक क्षेत्रमा नेगेटिभ र पोजेटिभ, दुइवटा पक्ष त भइनै हाल्छ । तर, फिल्म लाइन डाइरेक्ट मिडिया रिलेटेड भएकाले नभएका कुरा पनि चर्चामा आउने गर्छन् । अनि कतिपय अवस्थामा त तिलजत्रो कुरा पनि पहाड बनेर फैलिएको हुन्छ । त्यसकारण सबैभन्दा पहिला आफू के हुँ भन्ने बुझ्नुपर्छ । आफू सही हुनुपर्छ । भनिन्छ नि, आफू भलो त जगत् भलो । आफू सही छ भने सबै कुरा सही हुन्छ, सबैलाई सही देख्छ । त्यसकारण आफू सही भइरहने प्रयत्न गर्नुपर्छ ।
nayapatrika
0 commentaires