जंगलमा करिव ३५ वर्ग किलोमिटर क्षेत्र ओगटेर बस्छन् पोथी बाघ । (भालेको मूलत करिब ४२ वर्गकिमी भनिन्छ) । यति ठूलो जंगलमा आफ्ना चिचिला बच्चा जोगाउनपनि हम्मेहम्मे पर्छ बघिनीहरुलाई । यत्रो जंगलमा कतै सुट्ट लुकेपनि हुने हो जाबो एक दुई वटा आफ्ना डमरु च्यापेर ।
तर भालेहरु यति निष्ठूरी हुन्छन् तिनले डमरु बोकेका सुत्केरी बघिनीलाई पनि सास्ति दिन्छन् । यौनमा मैमत्त भएर पोथी खोज्दै हिँड्छन् । एक्ला पोथी पाएनन् भने डमरु सितकै पोथीमाथि जाइलाग्छन् र बलात्कार गर्छन् । पोथीहरुपनि के कम ! तिनकापनि त्यस्ता भालेलाई भ्रममा पार्ने, छक्काउने आफ्नै अक्किल छन् ।
ऋतुकाल (भाले पोथी संसर्ग हुने बेला) लाग्न थालेपछि जंगलमा बाघहरुले आआफ्ना सिमाना काट्न थाल्छन् । यस्तो बनाउने तिनीहरुको हर्मोनको खेलले गर्दा हो । ऋतुकाल अघि आआफ्ना क्षेत्र ओगटेर बस्ने भालेहरु पोथीको खोजिमा आफ्ना सिमाना काटेर निस्किन्छन् । पोथीहरुपनि भालेका क्षेत्रतिर लाग्छन् । रुखका थम्बामा कोतरेर छोडेका डोब, भूइँमा तुर्क्याएको पिसाव, खोस्रिएका डोब र गन्धले तिनको उपस्थिति एक अर्कालाई थाह हुन्छ । त्यसैले ऋतुकालका पोथी त्यस्तै बलिया, स्वस्थ भाले खोज्दै हिँड्छन्, लहसिन्छन् ।
जंगलमा बाघ र बघिनीले खोजे जस्ता जोडी पाउनुपनि सहज होइन । सबै भाले भाग्यमानी हुँदैनन् । अनि मरन्च्याँसे, कमजोर, छेरुवाहरुलाई कसले आँखा लगाउँछ ? बलिया, सुन्दर, निरोगी भालेहरु पोथीका छनौटमा पर्छन् । कमजोर भाले हेरेको हेर्यै । यता पोथीको खोजिमा पुग्छन् अर्को कुनै बलियाले ओगटिसकेको हुन्छ । फेरी भौंतारिएर अर्को पोथी खोज्छन् उ अर्कैसित लहसिएकि हुन्छे । अर्को खोज्यो झन बलियाले लघार्छ । यस्तो ऋतुकालको बेला कतिपय कमजोर भाले त पोथी नपाएर हद्दु भएका हुन्छन्।
पोथी नमिलेपछि के गर्ने ? तिनले जस्तो भेट्टायो त्यस्तै पोथी ताक्न थाल्छन् । अनि डमरुसितका पोथीलाइ तिनले निशाना बनाउँछन् । त्यसो त जंगलमा सबै बलिया भालेले पोथी पाउँछन् भन्नेपनि हुन्न । पोथी नपाएका भाले रिसले चुर हुँदै बच्चा सहितकै पोथीतिर जाइलाग्छन् । तिनले जबर्जस्तिपनि पोथीलाई यौनको लागि बाध्य बनाउन खोज्छन् ।
जबसम्म पोथीसित डमरु हुन्छन् तिनको सम्पूर्ण ध्यान तिनलाईनै जोगाउनु, हुर्काउनु, खुवाउनु, खेलाउनुमै बित्छ । त्यस्ता पोथीको मन भाले खोज्नमा जाँदैन । तिनको शररिरको शक्ति र पोषण त्यसैमा खर्च हुन्छ । यौनकालागि तयार बनाउने हर्मोनहरु कम सक्रिय हुन्छन् । त्यसैले डमरु देखेपछि भालेहरु आगो हुन्छन् र ति डमरुलाई मारिदिने कोसिस गर्छन् । किनभने डमरु मारिदियो भने त्यस्ता पोथी छिट्टै यौनकार्यका लागि तयार बन्छन् । तिनले खाएको सबै आफ्नैलागि पोषण बन्छ ।
भालेहरुले आफ्ना डमरु मार्ने कोसिस गर्छन् भन्ने कुरा पोथीहरुले बुझेका हुन्छन् । त्यसैले ति सकभर र तर्किन्छन् । छलिन्छन् । भाग्छन् । लुक्छन् । केहि दिनको फरकमा डमरुलाई सारेको सार्यै गरेर भालेबाट जोगाउँछन् । तरपनि पोथीहरुको खोजि गर्दै हिँड्ने भालेले कहिलेकाहिँ फेला पारिहाल्छन् । नजिकै पर्दा भालेबाट कसरि जोगाउने त ? यसलाई कसरि रोक्ने त ?
जंगलमा कुनैपनि पोथीलाई जबर्जस्ति गर्न पुग्नु अघि भालेहरुले त्यो पोथीसित अरु कुनै भाले छ कि छैन भनेर राम्रो सित पोथीको आनीबानी बुझ्छन् । अर्को भालेले ओगटिसकेको भए नजिक जाँदा आक्रमण गरेर ज्यान लेला भने डर हुन्छ तिनलाई । त्यसैले टाढैबाट पोथीको निगरानी गर्छन् । यो कुरो पोथीहरुले राम्रोसित बुझेका हुन्छन् । त्यसैले भालेहरुलाई छक्काउन पोथीहरुले हुर्किन लागेका आफ्नै डमरुलाई माथि चढाउने, ओराल्ने गर्छन् । आफू भूइँमा लडिबडि गर्ने, पल्टिने र आफ्ना बच्चालाई माथि चढाउने गरेर टाढाबाट निगरानी गर्ने भालेलाई देखाउँछन् ।
आफ्नो हुर्कनै लागेको भाले डमरुलाई शरिरमाथी चढाएर पोथीले आफु कुनै भालेसंग लहसिएको देखाउँछे । आफ्नै भाले डमरुलाई ढाडमा चढाएर उ पटक पटक झाडीभित्र पस्ने र निस्कने गर्छे । कहिलेकाहिँ हुर्किएका बच्चालाई नारिँदै हिँडाएर देखाउँछे बघिनीले ।ति डमरुहरु हुर्किएर माउबाट छुट्टिनेबेला नभएसम्म उसले त्यसै गरिरहन्छे। टाढैबाट यस्तो देखेपछि त्यो पोथीलाई अन्य कुनै भालेले ओगटिसकेको भालेहरुमा भ्रम पर्छ। यस्तो देखेपछि प्राय:भालेहरु तर्किएर सकभर अर्कै पोथीको खोजितिर लाग्छन ।
कहिलेकाहीं त्यस्ता डमरुले आफ्नी आमाको जुक्ति नबुझ्दा साँच्चिकै यौनाकांक्षा राखेको भ्रममा पर्छन। जब डमरुले लींग फुलाएर पछाडिबाट आमाको शरिर पञ्जाले अँठ्याउँदै संभोग गर्ने संकेत गर्छन तब माउले उसलाई रोक्न झगडा गर्छे। कुनैबेला त डमरुहरुले जबर्जस्तिनै गर्छन। माउले झाप्पड हानेरै ढाडबाट ओराल्नु पर्छ तिनलाई। यस्तोबेला माउसंग मुकाबिलागरी जित्नसक्ने अवस्थाका भैसकेका हुँदैनन डमरुहरु। यो कृयाकलाप भारतको पन्ना राष्टृय निकुञ्जमा देखिएपनि बैज्ञानिक पुष्टि हुनभने बाँकी रहेको बताएका छन बैज्ञानिकहरुले। तर डमरु साना छन् भने चाहिँ बघिनीले आफ्ना बच्चा मुखले टोकेर केहि दिनको अन्तरालमा बस्ने ठाउँ सारेको सार्यै गर्छे ।
0 commentaires