नयाँदिल्ली, जेष्ठ २५ - भारतीय योगगुरु रामदेवका प्रमुख सहयोगी आचार्य बालकृष्ण हरिद्वारमा मंगलबार सार्वजनिक भएका छन् । रामदेवले गत शनिबार नयाँदिल्लीमा गरेको अनशनको रातपछि सार्वजनिक रूपमा देखा नपरेका बालकृष्ण हराइरहेको खबर आएको थियो । हरिद्वारस्थित आश्रममा पत्रकार सम्मेलन गरी उनले आफूमाथि लगाइएका आरोपको खण्डन गरे । सत्तारूढ कंाग्रेस पार्टीका केही वरिष्ठ नेताहरूले उनीमाथि नेपालमा अपराध गरी भागेर भारत आएकोलगायत आरोप लगाएका थिए । उनी नेपाली नागरिक भएको र अवैध रूपमा भारतीय राहदानी बनाएको आरोप पनि लगाइएको थियो । आरोपको खण्डन गर्दै बालकृष्णले आमाबाबु नेपाली भए पनि आफू भारतीय नागरिक भएको बताए । 'यदि मेरा आमाबाबुले मलाई भारतमा जन्म दिनुभयो भने यसमा कसैलाई किन आपत्ति ?' उनले प्रश्न गरे । सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धि उल्लेख गर्दै उनले भने, '-जवाहरलाल) नेहरूको पालामा हस्ताक्षर भएको १९५० को इन्डो-नेपाल टि्रटीअनुसार भारतमा जन्मिएका नेपाली मूलका व्यक्ति र लगातार ११ वर्ष भारतमा बस्ने नेपाली स्वतः भारतीय नागरिक हुन्छन् ।' त्यस्तो कानुनी व्यवस्था हुँदाहँुदै आफ्नो राष्ट्रियतामाथि प्रश्न उठाइएकोप्रति कडा टिप्पणी गर्दै उनले त्यस्ता प्रश्न उठाउनेले भारतीय संविधान उल्लंघन गरेको दाबी गरे । 'मजस्तै डेढ करोड नेपाली मूलका भारतीय यहाँ बस्छन्, यस्तै नेपालमा ८० लाख नेपाली भारतीय मूलका छन्,' उनले भने । करिब आधा घन्टा लामो पत्रकार सम्मेलनमा पटक-पटक रोएका बालकृष्णले गत शनिबार अनशन कार्यक्रममा सरकारले हस्तक्षेप गरी क्रूरता प्रदर्शन गरेको टिप्पणी गरे । आफू त्यहाँबाट भाग्न नखोजेको प्रस्टीकरण दिँदै उनले स्वास्थ्य प्रतिकूल रहेकाले यसबीचमा सार्वजनिक नभएको बताए । उनले रामदेव भोकै बसुन्जेल आफूले पनि केही नखाने घोषणासमेत गरेका छन् ।
kantipur
0 commentaires