कृष्ण ज्ञवाली ललितपुर, जेष्ठ २९ - लगातार झरी पर्न थालेपछि राजधानी वरपरका किसानलाई असार नलाग्दै रोपाइँको चटारो सुरु भएको छ । पानीको अभावका कारण असारको पहिलो/दोस्रो सातापछि मात्रै रोपाइँ थाल्ने किसान यसपालि जेठमै रोपाइँ सक्न हतारिएका हुन् । सिँचाइको मूल नजिकै खेत हुने किसानहरूले एकैपटक मौका छोप्न खोज्दा कतिपय ठाउँमा ज्यामीको अभाव छ । ठैवको माखबु फाँटमा भेटिएका नरेन्द्र महर्जनले विगतका वर्षहरूमा भन्दा यसपालि निकै छिटो रोपाइँ सकिएको बताए । 'पोहोर पानी नभएर असारको तेस्रो साता बल्ल रोपाइँ सकिएको थियो,' खेतमा आली लगाउँदै गरेका उनले भने, 'यसपालि यो फाँटमा असार नलाग्दै रोपाइँ सकिने भयो ।' वैशाखदेखि नै दिनहुँजसो झरी पर्दा खोला र खोल्सामा पानीको अभाव नभएकाले चाँडै रोपाइँ सुरु भएको किसानहरूको भनाइ छ । यसपालि असार नलाग्दै रोपाइँ सकिएका गोदावरी र ठैवका फाँट हरियै देखिन थालेका छन् । असार लागेपछि सुरु हुने झरीको भेल छोपेर धान रोपाइँ गर्ने किसानहरूले बिना झन्झट पानी पाएको कृषि सेवा केन्द्र गोदावरीका प्राविधिक शम्भु सिलवालले बताए । 'पानी नपरेको भए असार लागेपछि मात्रै मुहान वरपरका किसानले रोपाइँ थाल्थे,' उनले भने, 'पानी नभएर साउन पर्खने किसनहरूले यसपालि बेलैमा रोपाइँ गर्न पाउने भए ।' स्थानिय बासिन्दाका अनुसार गोदावरीको सिमासार क्षेत्र वरपरका फाँटमा रोपाइँ सुरु भइसकेको छ । बडिखेल र ठैवका फाँटहरू पनि आधाभन्दा बढी हरियै भइसकेका छन् । टौखेलको डिंगाल फाँटमा पनि रोपाइँ आधाआधी भएको प्राविधिक सिलवालले बताए । लेलेमा पनि रोपाइँको चटारो छ । असारको मध्य नभई पानी नपुग्ने विशंखुनारायण र गोदामचौर गाविसमा पनि अब सुरु हुँदै छ । काठमाडौं र भक्तपुरका केही फाँटहरूमा पनि रोपाइँ हुन थालेको छ । फर्पिङको शेषनारायण र सातमूल वरपर खेतमा किसानहरूको चहलपहल देखिन थालेको स्थानीय निरोज श्रेष्ठले बताए । राणकालीन नियमअनुसार सिँचाइका लागि जलविद्युत् गृहको खानेपानी पाएका फर्पिङवासीहरू समयमै रोपाइँ सक्न हतारिएका छन् । गत वर्ष पानीको अभावले एक महिनामा नसकिएको रोपाइँ यसपालि त्यति समय नलाग्ने गाउँलेहरू बताउँछन् । मुहान नजिकैका भेगमा रोपाइँ सुरु भएपछि ढिलो गरी सिँचाइको पानी पाउने तल्लो भेगका किसान समेत उत्साहित भएका छन् । लेलेमा जेठमै सिँचाइ भए नल्खु खोलाको पानी मध्य असारमै पाइने बुङमतीका किसानहरू बताउँछन् । टीकाभैरव, छम्पी, कोञ्चपा, भैरवडाँडा र ठेंचो फाँटका किसानले पानी पुर्याएपछि मात्रै भोर्ले राजकुलोको पानी बुङमतीवासीहरूले उपयोग गर्न पाउँछन् । गत वर्ष वाग्मतीको फोहोर पानी पम्प गरेर रोपाइँ गरेकाहरू यसपालि बेलैमा रोपाइँ सक्ने आशामा छन् ।बेलैमा रोपाइँ सुरु भएकाले यसपालि धान उत्पादन राम्रो हुने कृषि कार्यालय ललितपुरको अनुमान छ । उमि्रनासाथ धानको बिरुवा सार्दा उत्पादन बढ्ने कार्यालयका निमित्त प्रमुख लेषबहादुर केसीले बताए । 'यस्तै अवस्था रहे पोहोरको भन्दै धेरै ठाउँमा रोपाइँ हुनेछ,' उनले भने, 'धान पनि छिटो पाक्ने भएकाले उत्पादन बढी हुन्छ ।'
kantipur
0 commentaires