मसँग थुप्रै धमाकेदार सृजना छन् । तर, अहिले समय उचित छैन । बजार राम्रो छैन । त्यसकारण म उचित समयको पर्खाइमा छु ।
शम्भुजित बाँस्कोटासंगीतकार
साढे तीन दशकअघिदेखि नेपाली संगीत क्षेत्रमा अनवरत शम्भुजित बास्कोटा विशेषतः संगीतकारका रूपमा चिनिन्छन् । फिल्म, आधुनिक, पप होस् या त लोकसंगीत सबैतिर उत्तिकै छाएका उनी संगीतकारका अलावा गीतकार, गायक, कथाकार तथा विभिन्न सांगीतिक कार्यक्रम तथा टेलिशंृखलाका परिकल्पनाकारसमेत हुन् । नेपालमा पहिलोपटक रियालिटी सो प्रतिभाको डबली र पछि सृजनाको आधा घन्टा प्रस्तुत गरेका शम्भुजित आफूले नेपाल टेलिभिजनमा गरेको रियालिटी सो विश्वमै पहिलो भएको दाबी गर्छन् । नेपालमा म्युजिक भिडियो बनाउने क्रमको सुरवात पनि उनैले गरेका हुन् । उनले ०४३ सालमा भुवन केसीले गाएको मायालु तिमी टाढा भइदियौ बोलको गीतको म्युजिक भिडियो बनाएका थिए । जसमा भुवनले नै अभिनय गरेका थिए ।
नेपाली फिल्म संगीतमा गोल्डेन टच संगीतकार रूपमा चिनिने उनलाई पारमणि संगीतकार पनि भनिन्छ । संगीतका हरेक विधामा उत्तिकै सक्रिय र सफल उनी आफूलाई संगीत महारथी भनिनुपर्ने मान्यता राख्छन् । शाही शासनकालमा चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष र पछि नेपाल टेलिभिजनको अध्यक्ष तथा महाप्रबन्धकको पदभार वहन गरेका उनी अचेल नेपाल प्रज्ञाप्रतिष्ठानमा संगीत प्रमुखका रूपमा कार्यरत छन् । उनीसँग वर्तमान नेपाली चलचित्र संगीतका बारेमा गरिएको कुराकानी:
अचेल के-केमा व्यस्त हुनुहुन्छ ?
म पछिल्लो समयमा नेपाली संगीतको बजार किन र कसरी ओरालो लाग्यो भन्ने कुराको कारण खोजीमा छु । हामीले स्थापना गरेको नेपाली संगीतको स्वर्ण युगमा बादलको घेरा किन र कसरी लाग्यो, त्यसलाई कसरी हटाउन सकिन्छ भन्ने कुराको अध्ययन र अनुसन्धानमा लागेको छु । यसका लागि मैले श्रोतासँग प्रत्यक्ष सम्पर्क गरी नेपाली गीत-संगीतको वर्तमान अवस्थाबारेमा उनीहरूको राय लिइरहेको छु । त्यसबाहेक अन्तर्राष्ट्रिय जगत्मा नेपाली कलाकार र कलाकारिताको स्थिति कस्तो छ भन्ने कुराको समेत अध्ययन गरिरहेको छु । बीचमा साथी म तिम्रो, मृगतृष्णा, राज, मेरो के गति हुने हो, ग्याम्बलर, देशले रगत मागे, मलाई मन पर्यो लगायतका फिल्ममा संगीत दिएँ । यसबाहेक आधुनिक संगीत, विभिन्न मुलुकमा सांस्कृतिक कार्यक्रम प्रस्तुत तथा प्रज्ञाप्रतिष्ठानको काम त निरन्तर छ ।
तपाईं केही वर्षअघिसम्म फिल्म संगीतमा निकै जम्नुभएको थियो । अधिकांश फिल्ममा तपाईंकै संगीत हुन्थ्यो र हिट गीत पनि तपाईंकै हुन्थे । तर, अचेल सुस्ताउनुभएको हो ?
म सुस्ताएको छैन । गीत-संगीतबाट टाढा हुन पनि सक्दिनँ । मैले निरन्तर काम गरिरहेको छु । म बगिरहने नदी हुँ । र, आफूलाई निरन्तर बगाइ पनि रहेको छु । म बर्खेभेल होइन । हो, बीचको केही समय मैले संगीत कर्म अलि कम गरेँ । त्यसको कारण हो, मलाई चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको जिम्मेवारी दिइयो । आफूलाई जुन जिम्मेवारी सुम्पिएको छ, त्यसमा पूर्ण रूपमा इमानदार र समर्पित हुनुपर्छ भन्ने मान्यता मेरो छ । त्यसकारण मैले त्यतिवेला संगीत कम गरेँ । चलचित्र विकास बोर्डको अध्यक्ष हुँदा मैले एउटा मात्र फिल्म गरेँ, हामी तीन भाइ । पछि, नेपाल टेलिभिजनको अध्यक्ष तथा महाप्रबन्धक हँुदा पनि मैले एउटा मात्र फिल्म गरेँ कर्मयोद्धा । त्यसपछि मैले पालेदाइ, म तिमीविना मरिहाल्छु, कहाँ भेटिएलालगायतका फिल्मको संगीत गरे । त्यसपछिका दिनमा भने फिल्म निर्माणको गतिमा निकै तीव्रता आयो । त्यही रूपमा अन्योल पनि छायो । म्युजिक पाइरेसी बढ्यो । एक समय हामीले नेपाली गीतलाई बिहे, व्रतबन्ध, भोजदेखि लिएर हरेक ठाउँमा बज्ने बनाएका थियौँ । तर, पछि त्यो विलय हँुदै गयो । संगीतलाई ख्यालठट्टाका रूपमा लिनेको बाहुल्य बढ्यो । जसकारण म स्थिति नियाल्न लागेँ । तर, अहिले पनि म उत्तिकै सक्रिय छु । उस्तै स्थापित ब्यानर र निर्माता, निर्देशकको फिल्ममा मात्र काम गर्छु । जसले संगीतको महत्त्व र भूमिका बुझेको होस् ।
फिल्म संगीतमा नयाँ-नयाँ संगीतकार आएका छन् । उनीहरूको प्रवेशले तपाईं ओझेल पर्नुभएको त होइन ?
होइन । नयाँ-नयाँ संगीतकार आउनु खुसी अनि गर्वको कुरा हो । एकताका अधिकांश फिल्ममा मेरै संगीत हुन्थ्यो । जो निर्माता, निर्देशक पनि सुरुमा मकहाँ आउँथे । एक समय त यस्तो पनि थियो कि कुनै फिल्म अवार्डमा नोमिनेसनमा पर्ने पाँचवटै गीत मेरा हुन्थे । त्यस्तो अवस्थामा नयाँ- नयाँ संगीतकारको आवश्यकता महसुस हुन्थ्यो । मेरो एउटा गीत मेरै अर्काे गीतसँग प्रतिस्पर्धा गरिरहेको हुन्थ्यो । म अहिले फिल्म संगीतमा भिजिरहेका जुनियर संगीतकार भाइहरूको कामबाट खुसी छु । केही संगीतकार वास्तवमै क्रियटिभ छन् । उनीहरूको सृजनाप्रति मलाई गर्व लाग्छ । तर, कतिपयले भने संगीतलाई लहैलहैमा लिएको पाइन्छ । त्यसमा भने दुःख लाग्छ । मैले नयाँ प्रतिभाले पनि नेपाली संगीतमा केही गरून् भन्ने चाहँे । जसकारण बीचको केही समय म प्रशासनिक काममा लागेँ । ओझेल परेको होइन । म अहिले पनि उत्तिकै सक्रिय र समर्पित छु ।
अहिले बजारमा चलिरहेका नयाँ पुस्ताका संगीतकारको सृजना र भविष्य कस्तो देख्नुहुन्छ ?
नयाँ पुस्ताका संगीतकार बजार जसरी हिँडिरहेको छ, त्यसरी नै हिँडिरहेका छन् । निर्माता, निर्देशक जसरी चलिरहेका छन्, त्यसरी नै उनीहरू चलिरहेका छन् । यीमध्ये अधिकांश संगीतकारले आफूलाई बिकाउमात्र बनाउन खोजेका छन् । टिकाउतिर ध्यान दिएका छैनन् । निर्माता, निर्देशकले जस्तो भन्छ, त्यसमै र्याङको ठ्याङ मिलाइरहेका छन् । उनीहरूले संगीतलाई न त व्यवसाय बनाउन सकेका छन्, न त सोखका रूपमा लिएका छन् । यसले एक दिन वितृष्णा जन्माउनेछ । त्यसकारण उनीहरूले आफूलाई टिकाउका साथै बिकाउ बनाउन अभ्यास गर्नुपर्छ । केही संगीतकारले भने वास्तवमै राम्रो काम गरिरहेका छन् । त्यसमा मलाई गर्व लाग्छ ।
अचेलका नेपाली फिल्मका गीत कस्ता लाग्छन् ?
केही गीत त सुमधुर, तारिफ गर्न लायक मेलोडीयुक्त छन् । तर, अधिकांश गीत भने वितृष्णा पैदा गराउनेखालका छन् । ३०/३५ वर्षअघि हामीले सृजना गरेकै मेलोडीका छन् । शैली उस्तै छ । पछिल्लो समय बजारमा आएका केही गीतमा भारतीय सुफी, पप संगीतको प्रभाव अत्यधिक पाइन्छ । केही नेपाली गीतमा ६० को दशकका हिन्दी फिल्मका गीतको सिधा प्रभाव देखेको छु । यो राम्रो कुरा होइन ।
अचेलका फिल्मका गीतले पहिलाका गीतले जस्तो श्रोता/दर्शकको मन जित्न सकेको पाइँदैन, कारण के होला ?
केही गीत त चलेकै छन् । तर, पहिलाजस्तो एउटै गीत महिनौँ, वषार्ंै श्रोताको ओठमा झुन्डिरहने भने देखिएको छैन । यसमा धेरै कारण छन् । फिल्म निर्माणमा आएको बाढीले संगीतलाई गौण रूपमा लिइयो । फिल्ममा संगीतको भूमिका भुल्नेको भीड बढ्यो । बलिउडमा अहिले मुन्नी बदनाम हुई, सिलाकी जवानी जस्ता गीत हिट भएका छन् । करोडौँ कमाएका छन् । उनीहरूका यस्ता गीत मैले उहिल्यै प्रस्तुत गरिसकेको थिएँ । हाम्लाई पनि मायाले हेर पार्वती, हे संगीता, सुनसुन सनम, चट्ट रुमाल क्या मालुमलगायतका गीत उहिल्यै हिट भएका थिए । पछिल्ला दिनमा फिल्म निर्माता तथा क्यासेट कम्पनीले पनि फिल्मी गीतको उचित पब्लिसिटी गर्न सकेका छैनन् । मसँग यस्ता थुप्रै सृजना छन् । तर, अहिले समय उचित छैन । बजार राम्रो छैन । त्यसकारण म उचित समयको पर्खाइमा छु । गीत-संगीतको खस्किएको बजार कसरी सुधार्न सकिन्छ भनेर अनुसन्धानमा छु । केही समयमै यसको निक्र्याेल निस्कनेछ र नेपाली फिल्म संगीतको बजार पहिलाझँ मौलाउनेछ ।
via nayapatrika
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!