'म बगिरहने नदी हुँ , बर्खेभेल होइन'



मसँग थुप्रै धमाकेदार सृजना छन् । तर, अहिले समय उचित छैन । बजार राम्रो छैन । त्यसकारण म उचित समयको पर्खाइमा छु ।

शम्भुजित बाँस्कोटासंगीतकार 
साढे तीन दशकअघिदेखि नेपाली संगीत क्षेत्रमा अनवरत शम्भुजित बास्कोटा विशेषतः संगीतकारका रूपमा चिनिन्छन् । फिल्म, आधुनिक, पप होस् या त लोकसंगीत सबैतिर उत्तिकै छाएका उनी संगीतकारका अलावा गीतकार, गायक, कथाकार तथा विभिन्न सांगीतिक कार्यक्रम तथा टेलिशंृखलाका परिकल्पनाकारसमेत हुन् । नेपालमा पहिलोपटक रियालिटी सो प्रतिभाको डबली र पछि सृजनाको आधा घन्टा प्रस्तुत गरेका शम्भुजित आफूले नेपाल टेलिभिजनमा गरेको रियालिटी सो विश्वमै पहिलो भएको दाबी गर्छन् । नेपालमा म्युजिक भिडियो बनाउने क्रमको सुरवात पनि उनैले गरेका हुन् । उनले ०४३ सालमा भुवन केसीले गाएको मायालु तिमी टाढा भइदियौ बोलको गीतको म्युजिक भिडियो बनाएका थिए । जसमा भुवनले नै अभिनय गरेका थिए । 
नेपाली फिल्म संगीतमा गोल्डेन टच संगीतकार रूपमा चिनिने उनलाई पारमणि संगीतकार पनि भनिन्छ । संगीतका हरेक विधामा उत्तिकै सक्रिय र सफल उनी आफूलाई संगीत महारथी भनिनुपर्ने मान्यता राख्छन् । शाही शासनकालमा चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष र पछि नेपाल टेलिभिजनको अध्यक्ष तथा महाप्रबन्धकको पदभार वहन गरेका उनी अचेल नेपाल प्रज्ञाप्रतिष्ठानमा संगीत प्रमुखका रूपमा कार्यरत छन् । उनीसँग वर्तमान नेपाली चलचित्र संगीतका बारेमा गरिएको कुराकानी: 
अचेल के-केमा व्यस्त हुनुहुन्छ ? 
म पछिल्लो समयमा नेपाली संगीतको  बजार किन र कसरी ओरालो लाग्यो भन्ने कुराको कारण खोजीमा छु । हामीले स्थापना गरेको नेपाली संगीतको स्वर्ण युगमा बादलको घेरा किन र कसरी लाग्यो, त्यसलाई कसरी हटाउन सकिन्छ भन्ने कुराको अध्ययन र अनुसन्धानमा लागेको छु । यसका लागि मैले श्रोतासँग प्रत्यक्ष सम्पर्क गरी नेपाली गीत-संगीतको वर्तमान अवस्थाबारेमा उनीहरूको राय लिइरहेको छु । त्यसबाहेक अन्तर्राष्ट्रिय जगत्मा नेपाली कलाकार र कलाकारिताको स्थिति कस्तो छ भन्ने कुराको समेत अध्ययन गरिरहेको छु । बीचमा साथी म तिम्रो, मृगतृष्णा, राज, मेरो के गति हुने हो, ग्याम्बलर, देशले रगत मागे, मलाई मन पर्‍यो लगायतका फिल्ममा संगीत दिएँ । यसबाहेक आधुनिक संगीत, विभिन्न मुलुकमा सांस्कृतिक कार्यक्रम प्रस्तुत तथा प्रज्ञाप्रतिष्ठानको काम त निरन्तर छ । 
तपाईं केही वर्षअघिसम्म फिल्म संगीतमा निकै जम्नुभएको थियो । अधिकांश फिल्ममा तपाईंकै संगीत हुन्थ्यो र हिट गीत पनि तपाईंकै हुन्थे । तर, अचेल सुस्ताउनुभएको हो ?
म सुस्ताएको छैन । गीत-संगीतबाट टाढा हुन पनि सक्दिनँ । मैले निरन्तर काम गरिरहेको छु । म बगिरहने नदी हुँ । र, आफूलाई निरन्तर बगाइ पनि रहेको छु । म बर्खेभेल होइन । हो, बीचको केही समय मैले संगीत कर्म अलि कम गरेँ । त्यसको कारण हो, मलाई चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको जिम्मेवारी दिइयो । आफूलाई जुन जिम्मेवारी सुम्पिएको छ, त्यसमा पूर्ण रूपमा इमानदार र समर्पित हुनुपर्छ भन्ने मान्यता मेरो छ । त्यसकारण मैले त्यतिवेला संगीत कम गरेँ । चलचित्र विकास बोर्डको अध्यक्ष हुँदा मैले एउटा मात्र फिल्म गरेँ, हामी तीन भाइ । पछि, नेपाल टेलिभिजनको अध्यक्ष तथा महाप्रबन्धक हँुदा पनि मैले एउटा मात्र फिल्म गरेँ कर्मयोद्धा । त्यसपछि मैले पालेदाइ, म तिमीविना मरिहाल्छु, कहाँ भेटिएलालगायतका फिल्मको संगीत गरे । त्यसपछिका दिनमा भने फिल्म निर्माणको गतिमा निकै तीव्रता आयो ।  त्यही रूपमा अन्योल पनि छायो । म्युजिक पाइरेसी बढ्यो । एक समय हामीले नेपाली गीतलाई बिहे, व्रतबन्ध, भोजदेखि लिएर हरेक ठाउँमा बज्ने बनाएका थियौँ । तर, पछि त्यो विलय हँुदै गयो । संगीतलाई ख्यालठट्टाका रूपमा लिनेको बाहुल्य बढ्यो । जसकारण म स्थिति नियाल्न लागेँ । तर, अहिले पनि म उत्तिकै सक्रिय छु । उस्तै स्थापित ब्यानर र निर्माता, निर्देशकको फिल्ममा मात्र काम गर्छु । जसले संगीतको महत्त्व र भूमिका बुझेको होस् । 
फिल्म संगीतमा नयाँ-नयाँ संगीतकार आएका छन् । उनीहरूको प्रवेशले तपाईं ओझेल पर्नुभएको त होइन ? 
होइन । नयाँ-नयाँ संगीतकार आउनु खुसी अनि गर्वको कुरा हो । एकताका अधिकांश फिल्ममा मेरै संगीत हुन्थ्यो । जो निर्माता, निर्देशक पनि सुरुमा मकहाँ आउँथे  । एक समय त यस्तो पनि थियो कि कुनै फिल्म अवार्डमा नोमिनेसनमा पर्ने पाँचवटै गीत मेरा हुन्थे । त्यस्तो अवस्थामा नयाँ- नयाँ संगीतकारको आवश्यकता    महसुस हुन्थ्यो । मेरो एउटा गीत मेरै अर्काे गीतसँग प्रतिस्पर्धा गरिरहेको हुन्थ्यो । म अहिले फिल्म संगीतमा भिजिरहेका जुनियर संगीतकार भाइहरूको कामबाट खुसी छु । केही संगीतकार वास्तवमै क्रियटिभ छन् । उनीहरूको सृजनाप्रति मलाई गर्व लाग्छ । तर, कतिपयले भने संगीतलाई लहैलहैमा लिएको पाइन्छ । त्यसमा भने दुःख लाग्छ । मैले नयाँ प्रतिभाले पनि नेपाली संगीतमा केही गरून् भन्ने चाहँे । जसकारण बीचको केही समय म प्रशासनिक काममा लागेँ । ओझेल परेको होइन । म अहिले पनि उत्तिकै सक्रिय र समर्पित छु । 
अहिले बजारमा चलिरहेका नयाँ पुस्ताका संगीतकारको सृजना र भविष्य कस्तो देख्नुहुन्छ ? 
नयाँ पुस्ताका संगीतकार बजार जसरी हिँडिरहेको छ, त्यसरी नै हिँडिरहेका छन् । निर्माता, निर्देशक जसरी चलिरहेका छन्, त्यसरी नै उनीहरू चलिरहेका छन् । यीमध्ये अधिकांश संगीतकारले आफूलाई बिकाउमात्र बनाउन खोजेका छन् । टिकाउतिर ध्यान दिएका छैनन् । निर्माता, निर्देशकले जस्तो भन्छ, त्यसमै र्‍याङको ठ्याङ मिलाइरहेका छन् । उनीहरूले संगीतलाई न त व्यवसाय बनाउन सकेका छन्, न त सोखका रूपमा लिएका छन् । यसले एक दिन वितृष्णा जन्माउनेछ । त्यसकारण उनीहरूले आफूलाई टिकाउका साथै बिकाउ बनाउन अभ्यास गर्नुपर्छ । केही संगीतकारले भने वास्तवमै राम्रो काम गरिरहेका छन् । त्यसमा मलाई गर्व लाग्छ । 
अचेलका नेपाली फिल्मका गीत कस्ता लाग्छन् ? 
केही गीत त सुमधुर, तारिफ गर्न लायक मेलोडीयुक्त छन् । तर, अधिकांश गीत भने वितृष्णा पैदा गराउनेखालका छन् । ३०/३५ वर्षअघि हामीले सृजना गरेकै मेलोडीका छन् । शैली उस्तै छ । पछिल्लो समय बजारमा आएका केही गीतमा भारतीय सुफी, पप संगीतको प्रभाव अत्यधिक पाइन्छ । केही नेपाली गीतमा ६० को दशकका हिन्दी फिल्मका गीतको सिधा प्रभाव देखेको छु । यो राम्रो कुरा होइन । 
अचेलका फिल्मका गीतले पहिलाका गीतले जस्तो श्रोता/दर्शकको मन जित्न सकेको पाइँदैन, कारण के होला ? 
केही गीत त चलेकै छन् । तर, पहिलाजस्तो एउटै गीत महिनौँ, वषार्ंै श्रोताको ओठमा झुन्डिरहने भने देखिएको छैन । यसमा धेरै कारण छन् । फिल्म निर्माणमा आएको बाढीले संगीतलाई गौण रूपमा लिइयो । फिल्ममा संगीतको भूमिका भुल्नेको भीड बढ्यो । बलिउडमा अहिले मुन्नी बदनाम हुई, सिलाकी जवानी जस्ता गीत हिट भएका छन् । करोडौँ कमाएका छन् । उनीहरूका यस्ता गीत मैले उहिल्यै प्रस्तुत गरिसकेको थिएँ । हाम्लाई पनि मायाले हेर पार्वती, हे संगीता, सुनसुन सनम, चट्ट रुमाल क्या मालुमलगायतका गीत उहिल्यै हिट भएका थिए । पछिल्ला दिनमा फिल्म निर्माता तथा क्यासेट कम्पनीले पनि फिल्मी गीतको उचित पब्लिसिटी गर्न सकेका छैनन् । मसँग यस्ता थुप्रै सृजना छन् । तर, अहिले समय उचित छैन । बजार राम्रो छैन । त्यसकारण म उचित समयको पर्खाइमा छु । गीत-संगीतको खस्किएको बजार कसरी सुधार्न सकिन्छ भनेर अनुसन्धानमा छु । केही समयमै यसको निक्र्याेल निस्कनेछ र नेपाली फिल्म संगीतको बजार पहिलाझँ मौलाउनेछ ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login