किन छिटो सकिन्छ ग्यास ?


काठमाडौ, जेष्ठ ९ - बबरमहलकी गृहिणी सीता पोख्रेललाई एउटा ग्यास सिलिन्डरले झन्डै डेढ महिनाभन्दा बढी खाना पकाउन पुग्थ्यो । तर वैशाखमा किनेको सिलिन्डर एक महिना पनि टिकेन । रित्तो सिलिन्डरसहित ग्यास डिपोमा भेटिएकी उनले भनिन्, 'लोडसेडिङ घटेपछि राइस कुकरमै भात पकाउने गरेकी छु, तैपनि ग्यास टिकेन ।'
सिलिन्डरमा लेदो थिगि्रंदा उपभोक्ताले तिरेको मूल्यअनुसार पूरा ग्यास उपभोग गर्न पाउँदैनन् । सिलिन्डर सफा नगरी ग्यास रिफिलिङ गर्दा उपभोक्ता ठगिएका छन् भने उद्योगीहरूले नाफाका अतिरिक्त लाखौं रुपैयाँ कमाइरहेका छन् । वाणिज्य विभाग र प्रशासनको अनुगमनबाट पनि ग्यास लिक र सिलिन्डरको पिँधमा लेदो भरिएका दर्जनांै उदाहरण भेटिंदासमेत ठगी नियन्त्रण हुन सकेको छैन ।
ग्यास सिलिन्डरको अनुगमनमा खटिने गुणस्तर तथा नापतौल विभागका मनोज उपाध्यायका अनुसार दुई/तीन पटक दोहोर्‍याएर रिफिलिङ भइसकेपछि सिलिन्डरको पिँधमा लेदो जम्ने समस्या भेटिएको छ । 'सिलिन्डर ग्यास तरल अवस्थामा रहने क्रममा धूलोका कणसमेत मिसिएको हुन्छ,' विभागका रसायनशास्त्री उपाध्यायले भने, 'लेदोले गर्दा उपभोक्ताले तौलअनुसार ग्यास प्रयोग गर्न पाउँदैनन् ।' रिफिलिङकै क्रममा उद्योगहरूले रित्ता सिलिन्डर सफा नगर्दा पिँधमा जम्ने लेदो बढिरहेको उनले बताए ।
सिलिन्डरको अनुगमनमा खटिइरहने कर्मचारी तथा उपभोक्ता अधिकारकर्मीहरूका अनुसार सिलिन्डर सफा नगरी ३/४ पटक ग्यास रिफिलिङ गर्दा पिँधमा थिगि्रने लेदो सय ग्रामभन्दा बढी हुन्छ । त्यही सिलिन्डर लगातार ३ वर्ष प्रयोग गर्दा लेदोको तौल एक/डेढ किलो पुग्ने ग्यास बिक्रेताहरू स्वीकार्छन् । 'त्यसपछि उद्योगीहरूले लगातार लेदो बेचेर नाफा कमाउन थाल्छन्,' एक बिक्रेताले भने । जाडोको समयमा बढी परिमाणमा ग्यास र लेदो जम्नेगरेको प्राविधिकहरू बताउँछन् । घरको भान्सामा भन्दा होटल र क्याटरिङबाट फिर्ता हुने सिलिन्डर पनि बढी तौलका हुने उनीहरूको भनाइ छ ।
गुणस्तर तथा नापतौल विभागका एक कर्मचारीका अनुसार सिलिन्डरमा एक किलोग्राम लेदो भरिंदा झन्डै उद्योगीलाई एक सय रुपैयाँ नाफा हुन्छ । चार/पाँच वर्ष पुराना अनि सफा नगरिएका एक हजार सिलिन्डर बजारमा पठाउँदा उद्योगीले वास्तविकबाहेक थप एक लाख रुपैयाँ नाफा गर्छन् ।
दस वर्षपछि म्याद गुज्रेका सिलिन्डरसमेत बजारमा पठाएका उद्योगका सिलिन्डरबाट साढे २ किलोसम्म लेदो भेटिएको ग्यास बिक्रेता महासंघका महासचिव किशोर केसीले बताए । 'भूलवश गल्ती भएको नाममा उद्योगीहरूले दिनहुँ उपभोक्ता लुटिरहेका छन्,' उनले भने । लेदोकै कारण केही कम्पनीले वाषिर्क एक करोड रुपैयाँभन्दा बढी 'अतिरिक्त नाफा' गरेको महासंघका एक केन्द्रीय सदस्यले बताए । 
सिलिन्डरमा लेदो भरिंदै गएपछि हुनुपर्नेजति १४ दशमलव २ किलो तौल नहुँदै तौल पूरा हुन्छ । त्यसबाट सिलिन्डरमा जत्ति लेदो छ, उद्योगीलाई त्यति नै बढी फाइदा हुन्छ । नियमित सफा गरे अतिरिक्त नाफा नहुने भएकाले उद्योगीहरू सिलिन्डरको फोहोर हटाउन खोज्दैनन् । पूरा तौल ग्यास भरे उद्योगीले प्रतिसिलिन्डर २८ रुपैयाँ र बिक्रेताले ३० रुपैयाँ नाफा पाउँछन् । लेदोका कारण बिक्रेतालाई प्रत्यक्ष नाफा नभए पनि वास्तविकभन्दा धेरै परिमाणको कारोबार हुँदा उनीहरूले अप्रत्यक्ष फाइदा गर्ने गरेको गुणस्तर विभागका ती कर्मचारीले बताए ।
ग्यास उद्योग संघका महासचिव सुरेश प्रजापतिले इन्डियन आयल निगमको रिफाइनरीबाट बुलेटमा ग्यास भित्र्याउँदा लेदो पनि आउने गरेको बताए । 'धेरैलाई उद्योगीले ग्यासमा लेदो मिसाए भन्ने भ्रम छ, भारतबाटै त्यस्तै आउने हो,' उनले भने । उद्योगहरूले रित्ता सिलिन्डरको तौल लिएर सफा गरेको उनले दाबी गरे ।
चुल्होमा ग्यास लिक भएका कारण गत वर्ष सभासद रामकुमारीको निधन भएपछि गत भदौमा भएको बृहत् अनुगमनका क्रममा लेदोसहितको सिलिन्डर बरामद भएका दर्जनांै घटना भेटिएका छन् । त्यतिबेला सगर ग्यासका सय सिलिन्डरमध्ये ३० वटामा लिक र लेदो थियो । काभ्रेको नालामा सगरमाथा, अरू ठाउँमा एभरेस्ट र हिमालका सिलिन्डरमा लेदो थियो । केही दिनअघि मोरङमै सुविधा ग्यासमा चार किलो लेदो थियो । लेदोलाई समेत ग्याससँगै जोखेर बेच्ने उद्योगी कारबाहीमा परेका छैनन् ।



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login