सर्लाही, ४ वैशाख नदीमा डुबेर युवाहरूको मृत्यु हुने क्रम बढेपछि सर्लाही र रौतहटको सीमास्थित बागमती नदीमा पौडी खेल्न निषेध गरिएको छ । शनिबार सर्लाहीको कर्मैयामा भएको सर्वपक्षीय भेलाले पौडी खेल्न रोक लगाउन प्रयास सुरु गर्ने निर्णय गरेको हो । रौतहट र सर्लाहीका नागरिकको भेलाले दुर्घटना न्यूनीकरण गर्ने कार्यक्रम पारित गरेको नुनथर क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार भट्टराईले बताए । 'बारम्बार पिकनिक खान आउने युवा नदीमा डुब्न थालेपछि भयावह स्थिति आयो,' उनले भने, 'अनि पौडी खेल्न बन्द गर्ने निष्कर्षमा पुग्यौँ ।' कार्यक्रम लागू गर्न दुर्घटना न्यूनीकरण समिति गठन गरिएको छ । भेला आयोजक इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक कृष्णप्रसाद शर्माले नदी क्षेत्रमा पौडी खेल्न रोक लगाउन प्रहरी परिचालन गर्ने जानकारी दिए । भेलाले नुनथर क्षेत्रलाई सफा र व्यवस्थित गर्ने, लागुपदार्थ सेवन गर्न कडाइ गर्ने, नदीमा चौकीदार राखेर पौडी खेल्न प्रतिबन्ध लगाउने, चेतनामूलक साइनबोर्ड राख्ने आदि कार्यक्रम रहेको बताएको छ । दुई दिनपहिले मात्र दुई युवाको बागमतीमा डुबेर मृत्यु भएको थियो । नुनथरनजिकैको बागमती नदीमा गहिराइ अत्यधिक रहेकाले हरेक वर्ष पौडी खेल्न जाने युवाले ज्यान गुमाउने गरेको स्थानीय दीपक रानाभाटले जानकारी दिए । नुनथरलाई स्थानीय पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नुनथर क्षेत्र विकास समिति गठन गरिएको छ ।
source:-nayapatrika



0 commentaires