२७ पौष, काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्यलाई नेपाल आयल निगमले पनि समायोजन गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । निगमको ४१औँ वार्षिकोत्सको अवरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतले सो कुरा बताउनुभएको हो ।
अन्तर्राष्ट्रिय मूल्यसँग मूल्य समायोजन नगर्ने हो भने सरकार विकास निर्माणमा छुट्टयाइएको रकम कटौति पेट्रोलियम पदार्थमा लगानी गर्न बाध्य हुनुपर्ने उहाँले बताउनुभयो । शिक्षा र विकास निर्माण जस्तो क्षेत्रमा छुट्टयाइएको रकम कटौती गरेर पेट्रोलियम पदार्थमा खर्च गर्नु राम्रो नभएको उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री महतोले अन्तर्राष्ट्रिय मूल्यसँग समायोजन गरेर अघि बढ्न निगमलाई सरकारले कहिल्यै अवरोध नगरेको बताउँदै पनि निगमको व्यवस्थापनले मूल्य समायोजन गरेर अघि बढ्न सक्छ त्यसमा सरकारले अवरोध गर्दैन भन्नुभयो ।
त्यसअघि निगमका कर्मचारी सङ्गठनका प्रतिनिधिहरूले अन्तर्राष्ट्रियस्तरमा भएको पेट्रोलियम पदार्थको मूल्यसँग यहाँको मूल्य पनि समायोजन गर्न मन्त्री महतोलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा बोल्दै निगमका कार्यकारी निर्देशक दिगम्बर झाले पेट्रोलियम पदार्थमा हुने माग अनुसारको आपूर्ति मिलाउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो । माग अनुसारको आपूर्ति गर्न नसके कालो बजारी र मिसावट बढ्ने बताउँदै तीन वर्षको अवधिमा आपूर्ति सहज भएका कारण कालो बजारी र मिसावट कम भएको दाबी गर्नुभयो ।
उहाँले तीन वर्षको अवधिमा निगममा सुधारका धेरै कामहरू भएको बताउँदै यस बीचमा गठन गरिएका विभिन्न आयोगहरूले दिएका सुझावहरूलाई गरेका करण सुधार देखिएको हो भन्नुभयो ।
त्यस्तै ढुवानीमा सुधार ल्याउन २५ वर्ष पुराना ट्याङ्करहरूलाई क्रमशः विस्थापित गर्दै लानुको साथै पूर्वाञ्चलको क्षेत्रका लागि आवश्यक पर्ने मट्टीतेल र पेट्रोल सिल्लीगुडीबाट आयत गर्न सुरु गरिएको छ भन्नुभयो ।
कार्यक्रममा बोल्दै आयल निगम कर्मचारी सङ्घका अध्यक्ष देवीप्रसाद न्यौपानेले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिसँग मूल्य समायोजन गर्न मन्त्रालयले तत्काल निर्णय गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष बाबुराम राई, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डे, नेपाल पेट्रोलियम ढुवानी व्यवासयी महासङ्घका अध्यक्ष खगेश्वर अधिकारी, एलपी ग्याँस उद्योग सङ्घका अध्यक्ष सावरलाल अग्रवाल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनलगायतका व्यक्तिहरूले बोल्नुभएको थियो ।
त्यस अवसरमा निगमको विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट कार्य गर्ने योजना, प्रशासन तथा मानव संशाधन विकास विभागका निमित्त निर्देशक रमेश कोइराला, भानुभक्त खनाललगायतका व्यक्तिहरूलाई पुरस्कृत गरियो ।
source:-onlinekhabar


0 commentaires