२० पौष, कैलाली । पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारीले पर्यटन मन्त्रालयद्वारा खप्तड क्षेत्रमा यसै वर्ष खप्तड महोत्सव आयोजनाको तयारी भइरहेको जानकारी दिनुभएको छ ।
धनगढीमा आयोजित एक कार्यक्रममा उहाँले सुदूरपश्चिमको तराई क्षेत्रलाई मध्यनजर गर्दै कैलालीको घोडाघोडी तालक्षेत्र र पहाडमा रहेको खप्तडक्षेत्रलाई गन्तव्यस्थल तोकेको बताउनुभयो ।
पर्यटनको खानी रहेको सुदूरपश्चिममा समानुपातिक रूपमा पर्यटन गन्तव्यस्थल नछुट्टयाइएकोबारे स्थानीयस्तरबाट आवाज उठिरहेको बेला मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।
उहाँले पर्यटकहरूका लागि कञ्चनपुरको सीमावर्ती क्षेत्र गड्डाचौकी र कैलालीको सीमावर्ती क्षेत्र चिसापानीमा प्रवेशद्वार बनाइने जानकारी पनि दिनुभयो ।
मन्त्री भण्डारीले कैलालीको उर्मा गाउँ विकास समितिको ‘होमस्टे’ गाउँ भादालाई स्तरवृद्धि गर्न सरकारले पहल गर्ने बताउनुभयो ।
‘सुदूरपश्चिम भर्जिन पर्यटनक्षेत्र हो, यसलाई सरकारले प्रचारप्रसार गर्नेछ’-मन्त्री भण्डारीले भन्नुभयो । रासस



0 commentaires