काठमाडौ, पुस२१ - सवारीको नम्बर प्लेटमा चिह्न, संकेत, नारा वा मन पर्ने शब्द लेख्नुभएको छ ? सम्बन्धित निकायसँग अनुमति नलिइकन आफ्नो इच्छा अनुसार मोटरसाइकको स्वरूपसँग चलखेल गर्नुभएको छ कि ? छ भने सुधारिहाल्नुस् । तपाइर्ं कुनै पनि बेला ट्राफिकको कारबाहीमा पर्नुहुने छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्ता सवारीमा कडाइका साथ निगरानी सुरु गरेको छ । महाशाखाका मुद्दा शाखाका निरीक्षक कृष्ण थापाका अनुसार नम्बर प्लेटमा अनावश्यक अक्षर लेखिएका सवारी दुर्घटनाबाट भाग्दा पक्रिन अप्ठ्यारो पर्छ । उनका अनुसार त्यस्ता चालकलाई पहिले चेतावनी त्यसपछि न्यूनतम २५ देखि अधिकम २ सय रुपैयाँसम्म जरिवाना हुन सक्छ । यातायात व्यवस्था ऐन-२०४९ ले स्वरूप परिवर्तन गरे न्यूनतम एक हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवानाको प्रावधान गरेको छ ।
ट्राफिक प्रहरीले गत सोमबारदेखि मंगलबारसम्म नौ दिनको अवधिमा स्वरूप परिवर्तन गर्ने १ सय ७३ चालकलाई कारबाही गरेको थियो । 'सबैलाई स्वरूप परिवर्तनबारे जानकारी नहुन सक्छ । त्यस्ता चालकलाई पहिलोपटक चेतावनी र पुनः गल्ती दोहोर्याए जरिवाना तिराउनुपर्छ,' स्वरूप परिवर्तन गर्दा कारबाहीमा परेका एक चालकले भने ।
ऐनको दफा ३९ ले सवारीधनीले अधिकारप्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिजमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न नहुने उल्लेख गरेको छ । 'बिल बुकमा उल्लेख गरेअनुरूप सवारी हुनुपर्छ,' निरीक्षक थापाले भने, 'कम्पनीले निकालेको मोडेल अनुरूप वाहन हुनुपर्छ ।'
उनका अनुसार चालकले ह्यान्डल बंग्याउने, सक उचाल्ने र तोकिएको हर्नभन्दा फरक आवाज राख्ने गरे कारबाही गरिन्छ । दुर्घटना हुनेमा बढीजसो स्वरूप परिवर्तन गरिएका मोटरसाइकल पर्ने गरेका छन् । सक उचाल्दा प्रायः दुर्घटनामा पछिल्तिर बसेका यात्रुको ज्यान जाने खतरा हुने ट्राफिकले जनाएको छ ।
महाशाखाका प्रमुख डीआईजी विज्ञानराज शर्माले सवारीको स्वरूप परिवर्तनले सडकलाई कुरूप एवं जोखिमपूर्ण बनाएको बताए । उनले भने, 'कडा कानुन छैन भन्दैमा जथाभावी गर्नेलाई ट्राफिकले छाड्दैन । निरन्तर कारबाही एवं जरिवाना हुन्छ ।' पछिल्लो ९ दिनमा फुटपाथ पार्किङ र जथाभावी गुडाउने ४ हजार १ सय ९ मोटरसाइकलाई ट्राफिकले कारबाही गरेको थियो ।
source:-kantipur


0 commentaires