२१ पौष, सुर्खेत । ‘बाँदरको हातमा नरिवल’ भन्ने नेपाली उखानलाई चुनौती दिँदै एउटा बाँदरले एकजना सामान्य व्यक्तिलाई लखपति बनाइदिएको छ ।
पर्सा जिल्लाको पोखरिया थाना गाउँ विकास समितिका ६० वर्षीय वृद्ध अञ्जान चौधरीलाई बाँदरले आफ्नो कमाइबाट बुटवलमा १० कट्ठा जग्गाको मालिक बनाइदिएको हो ।
विगत २५ वर्षदेखि आफ्नो घरमा पालिएको बाँदरलाई लिएर सुर्खेत आएका चौधरीले बाँदरले चटक देखाए वाफत् संकलित रकमले जग्गा मालिक बनेका हुन् । उनले सुर्खेतमा पनि हजारौँ रुपैयाँ सङ्कलन गरिसकेका छन् ।
उनको बाँदर पैसा नदिएसम्म ढोकामै कुरेर बस्ने र पैसा दिएपछि हाँस्दै अर्को पसलमा पुग्ने गर्दछ । बाँदरको यस्ता क्रियाकलाप हेर्नका लागि मानिसको निकै भीडसमेत लाग्ने गरेको छ । यसअघि कुनै व्यक्ति सहयोग माग्न आउँदा रिसाउने पसलेहरु पनि उक्त बाँदरलाई बिना सङ्कोच पैसा दिने गर्दछन् ।
नेपालको पूर्वमेचीदेखि पश्चिममहाकालीसम्म आफू बाँदरका साथ घुमिसकेको भन्दै बाँदर मालिक चौधरीले यसक्रममा हालसम्म १० वटा यस्ता बाँदर मरिसकेको बताए । रासस


0 commentaires