काठमाडौं, पुस १९ - दक्षिण एसियाका चार देश मिलेर ब्रोडव्याण्ड सस्तो बनाउन भारतको सिलगुडीमा अप्टिकल फाइबर हब राख्ने भएका छन्। एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सञ्चालित सासेक परियोजनाले चार देशले फाइदा लिनसक्नेगरि ब्रोडव्याण्ड कनेक्टिभिटी कार्यक्रम चलाउने भएको हो।
आउँदो डेढ वर्षभित्र यो कार्यक्रम सम्पन्न गर्ने योजना अघि बढेको परियोजनाका निर्देशक एवं सञ्चार मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले बताए। यो कार्यक्रमले नेपाल सहित भारत, भुटान र बंगलादेशको लागि सिलगुडीमा मूख्य केन्द्र राखेर ब्रोडव्याण्ड वितरण गर्ने छ। परियोजनाको लागि एडिबीले ९० लाख र नेपाल सरकारले २२ लाख अमेरिकी डलर खर्च गर्ने भएका छन्।
भारतको कोलकाताबाट सिलगुडीसम्म अप्टिकल फाइबरमा ब्रोडव्याण्ड डाटा ल्याएर चार देशमा वितरण गर्ने कार्यक्रम राखिएको छ।
यो कार्यक्रमले नेपालमा अहिले महंगो रहेको ब्रोडव्याण्ड इन्टरनेट अझै सस्तो पार्ने लक्ष्य लिएको छ। कार्यक्रमको अहिलेसम्म प्रगति बारे छलफल गर्न यही जनवरी १९ देखि २१ सम्म एडिबीको मुख्यालय मनिलामा चारवटै देशका सरोकारवाला निकायबीच छलफल आयोजना हुँदैछ।
यो परियोजना अन्तरगत काठमाडौंबाट बनेपा, बर्दिबास, बिराटनगर, जोगबनी हुँदै भारतमा अप्टिकल फाइबर जोडिनेछ। 'विद्युत प्राधिकरणको प्रशारण लाइनमा रहेको अप्टिल फाइबरलाई भाडामा लिएर चलाउने विषयमा केही चरणमा कुराकानी अघि बढिरहेको छ,' रेग्मीले नागरिकसँग भने।
बनेपा-बर्दिबास राजमार्ग छेउमा जमिन खनेर अप्टिकल फाइबर राख्ने ठाउँ नभएपछि विद्युत प्राधिकरणको प्रशारण लाइनमा राख्न लागिएको हो। जमिन खनेर गाड्ने भन्दा पनि बिजुलीको प्रशारण लाइन अझै सुरक्षित हुने भएपछि यस्तो प्रस्ताव राखिएको हो।
यो परियोजनाले अप्किटल फाइबर जाने गाउँ नजिक ई-सेन्टर राख्ने प्रस्ताव समेत राखेको छ। जहाँ सस्तोमा ब्रोडव्याण्ड इन्टरनेट चलाउन पाइनेछ। यो परियोजना आउँदो २०१२ को जुनसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
अमेरिका, युरोपको दाँजोमा एसियाली मुलुकहरुमा ब्रोडव्याण्ड इन्टरनेट निकै महंगो छ। टेलिजोग्राफीले हालै सार्वजनिक गरेको विवरण अनुसार न्यूयोर्कमा प्रति एमबिपिएसको ८ डलरमात्र पर्छ। जवकी एसियामा २८ डलर तिर्नुपर्छ। सासेक परियोजनाले दक्षिण एसियाली मुलुकहरुमा ब्रोडव्याण्ड सस्तो बनाउन यस्तो परियोजना सञ्चालन गरेको हो।
कडाईपछि शोधभर्नाको रकम १४ अर्ब रुपैयाँले घट्यो
source:-nagriknews


0 commentaires