१९ पौष, सर्लाही । आफूले उत्पादन गरेको उँखुको उचित मूल्य माग्ने किसानहरुको आन्दोलन दवाउन सर्लाही प्रशासनले हरिऔन क्षेत्रमा सोमबार विहान आठ बजेदेखि बेलुका पाँचबजेसम्म कर्फ्यु लगाएको छ ।
पूर्वमा लखन्देही नदीदेखि पश्चिममा वागमती नदीसम्म पूर्वपश्चिम राजमार्गको पाँचसय मिटर वरपरको क्षेत्रमा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । उँखु किसानहरुको आन्दोलन शान्तिपूर्ण नभएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो ।
कर्फ्यूको क्रममा यातायात, बजार, मानिसको आवत जावतलगायत सम्पूर्ण क्रियाकलाप नगर्न प्रहरीले नागरिकलाई सचेत गराएको छ ।
उँखुको मूल्य प्रतिक्वीन्टल ४ सय २१ रुपैयाँ माग गर्दै उँखु उत्पादक किसानहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिऔनमा हिजो सडक अवरुद्ध गरेका थिए । बाटो खुलाउने क्रममा प्रहरीसँग झडप हुँदा दुवैतर्फका गरी चालिसजना भन्दा बढी घाइते भएका थिए । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी किसानहरुलाई घाइते बनाएको विरोधमा उँखु किसान संयुक्त संघर्ष समितिले सोमबार विहान ९ बजेदेखि अपरान्ह पाँचसम्मका लागि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेको थियो ।
उँखुको मूल्य ४ सय २१ रुपैयाँ कायम हुनुपर्ने माग राखेर पुस १ गतेदेखि उखु किसानले आन्दोलन गर्दै आएका छन् ।



0 commentaires