सौराहा, पुस २० - कुनै समय दैनिक गुजाराका लागि यहाँका होटलमा काम गर्ने केही कर्मचारी अहिले करोडौंका होटल मालिक बनेका छन् । पर्यटन वर्ष लक्षित गरी तिनले झन्डै तीन करोडको लागतमा आफ्नै होटल सञ्चालनमा ल्याएका छन् ।
अठार वर्षअघि स्थानीय राइनो लजमा 'अलराउन्डर' का रूपमा छिरेका केशव खनालले मालपुरमा करिब ३ करोड लगानीमा 'पिरामिड' शैलीको अर्गानिक होटल मोनालिसा सञ्चालनमा ल्याएका हुन् । चार वर्ष राइनोमा काम गरेपछि उनले 'गाइड आफिस' खोलेका थिए । 'त्यहीँबाट कमाएँ,' उनले भने, 'सेवा लिन पर्यटक लाइन लाग्थे ।' गोरखाबाट २०३२ सालमा बछौली गाविस झर्दा उनको अवस्था टिठलाग्दो थियो । 'एउटा छाप्रोमा सोत्तर लागेर सुत्थ्यौं,' आमाबाबुका १२ सन्तानमध्येका उनले भने । सौराहा काम गर्न आउँदा बुबाले उनलाई बिग्रने डरले नजान भनेका थिए । सल्लाहबिनै आएका उनले बिहारको छप्राहीबाट दुई वटा उँट
ल्याए । होटलमा बस्नेलाई निःशुल्क उँट चढ्ने व्यवस्था गरे । १० कट्ठामा तरकारी खेती लगाए ।
माछा पोखरी बनाए । 'एक हल गोरु र गाडाको व्यवस्था गरेको छु,' उनले भने, 'खाना अर्गानिक खुवाउँछु ।' बारीमा मौरीका चार वटा घार छन् । पर्यटकका लागि गाउँबाट भैंसीको दूध ल्याउने गरेको बताए । शुक्रबार उद्घाटन गरिएको उनको होटलमा २३ कोठा छन् । 'माइस टुरिजम' ख्याल गरेर हल निर्माण गरेका
छन् । 'परिश्रम र इमान्दारिताको फल हो,' उनले भने ।
यसैगरी क्षेत्रीय होटल संघका पूर्वकर्मचारी दामोदर रेग्मीले २ करोडभन्दा बढीको लगानीमा होटल खोलेका छन् । व्यक्तिगत गुजाराका लागि उनले १३ वर्ष संघमा काम गरे । उनको परिवार गोरखाबाट ८० हजार रुपैयाँ बोकेर यहाँ आएको थियो । तीन दाजुभाइ र आमाको व्यवस्थाका लागि पैसा पुगेन । परिवारको दयनीय अवस्था देखेर अग्रज व्यवसायी हरिभक्त घिमिरेले तत्कालीन होटल तथा सामुदायिक विकास समितिमा जागिर लाएका थिए । त्यतिखेर उनको १ हजार ५ सय तलब थियो । गत वर्ष मंसिरमा उनले संघको जागिर छोडे ।
डेढ वर्षअघि ४० हजारका दरले किनेको २६ कट्ठा जमिन ६ महिनापछि ३ लाख ६० हजार प्रतिकट्ठामा बिक्री भयो । त्यतिबेला उनले ६० लाख रुपैयाँ बचत
गरे । तीन वर्षअघि उनले राप्ती किनारमा जग्गा र सफारीका लागि हात्ती किनेका थिए । त्यसको ४० लाख ऋण थियो । 'हात्तीले दुई वर्षमा २० लाख तिर्यो ।' भतिजा रमेशचन्द्र रेग्मीसित मिलेर उनले नेचर हेरिटेज लज निर्माण गरे । आफूसित नगद नभएको बेला आँटेरै होटल निर्माण गरेको उनले बताए । 'बैंकको ऋण छ,' उनले भने ।
११ वर्ष राइनो लजमा काम गरेका राजेन्द्र भण्डारीले डेढ वर्षअघि निर्माण थालेको चितवन भिलेज रिसोर्टले डेढ महिनादेखि सेवा दिँदै आएको छ । एक दशक होटल व्यवस्थापन अनुभव गरेपछि उनी आफैं मालिक बनेका हुन् । 'पैतृक सम्पत्ति बेचें,' उनले भने, 'बैंकको ऋण छ ।' भाउ आकासिनुअघि उनले सौराहामा जग्गा किनेका थिए । 'किसान पृष्ठभूमिबाट आएको हुँ,' उनले भने, 'एक करोडभन्दा बढी लगानी गर्या छु ।'
स्थानीय नवीन नेपालले ७ कोठाको होटल मिस्टी नेपाल सुरुवात गरेका छन् । करिब १ करोडको लगानीमा उनले होटल सञ्चालन गर्नुअघि सौराहा रिसोर्टमा कर्मचारीका रूपमा सात महिना बिताएका थिए । तीन वर्ष एउटा रेस्टुरेन्टमा काम गरे । 'सरसापट गरेर भए पनि लगानी गरें,' उनले भने, 'पर्यटक आउन थालेकाले खुसी छु ।' अर्का व्यवसायी केशव पाण्डे पहिले सनसेट रिसोर्टमा काम गर्थे । अहिले उनी ख्यातिप्राप्त व्यवसायी भएका छन् । ट्राभल जंगल क्याम्पका रामप्रसाद रिजालले राइनोमा काम गरेका थिए । व्यवसायी गंगा गिरी पहिले कर्मचारी थिए । क्षेत्रीय होटल संघ अध्यक्ष तथा अग्रज व्यवसायी शंकर संैजुले पार्क कटेजमा कर्मचारीका रूपमा प्रवेश गरेका थिए । अहिले सौराहाको ठूलो होटलमध्येको वाइडलाइफ क्याम्पका उनी मालिक हुन् । 'लगनशील बनेर काम गर्ने अहिले मालिक बनेका छन्,' घिमिरेले भने, 'गौरव लाग्या छ ।'
source:-ekantipur


0 commentaires