काठमाडौं, माघ १- नारायण वाग्ले र मञ्जुश्री थापा भारतको जयपुरमा हुने अन्तरार्ष्ट्रिय साहित्य महोत्सवमा वक्ताको रुपमा चयन भएका छन्। विश्वस्तरका साहित्यकार सहभागी हुने अन्तरार्ष्ट्रिय महोत्सवमा वाग्ले र थापाले 'नेपाल... इनसर्च अफ अ सङ' शीर्षक अन्तर्गत २५ जनवरीको अपराह्न आफ्नो प्रस्तुति दिनेछन्।
प्रस्तुतिसँगै दुवै लेखक पाठकहरुसँगको अन्तरक्रियामा सहभागी हुने जयपुर लिट्रेचर फेस्टिबलको आयोजक टिमवर्क इन्टरटेनमेन्टको वेबसाइटले उल्लेख गरेको छ। महोत्सवको अन्तिम दिन हुने वाग्ले र थापाको प्रस्तुतिलाई सुजीव शाक्यले सहजिकरण गर्नेछन्। जनवरी २१ देखि २५ सम्म चल्ने यो महोत्सव एशिया-प्यासिफि क्षेत्रको अग्रणी साहित्य मेला मानिन्छ।
वाग्लेको पहिलो उपन्यास पल्पसा क्याफे नेपाली र अंग्रेजी भाषामा उपलब्ध छ। छोटो समयमै अत्यधिक लोकप्रियता पाएको पल्पसा क्याफेले नेपाली पुस्तक बजारलाई नयाँ युगमा पुर्याएको मानिन्छ। उनको दोस्रो उपन्यास मयूर टाइम्स पनि पल्पसा क्याफेकै प्रकाशक नेपालयले सन् २०१० मा बजारमा ल्याएको थियो।
अंग्रेजीमा लेख्ने मञ्जुश्री थापा 'सिजन अफ फ्लाइट', 'टिल्ड अर्थ', सहितका आख्यान तथा गैरआख्यानतर्फ 'फरगेट काठमाण्डू', 'मुस्ताङ भोट इन फ्रागमेन्ट' लगायत पुस्तक प्रकाशित छन्। नेपाली महिलाको डायस्पोरा जीवन बारे केन्द्रित थापाको उपन्यास 'सिजन अफ फ्लाइट' पेन्गुइन बुक्स इन्डियाले प्रकाशित गरेको हो। उनी नेपाली लेखनमा समेत उत्तिकै दख्खल राख्छिन्।
source:-nagariknews



0 commentaires