श्याम भट्ट/बद्रीकुमार न्यौपाने, ललितपुर, माघ ३- बाहुबलका भरमा नख्खु खोलैखोला बनेको सडक र ललितपुर टीकाभैरवका अवैध ढुंगाखानीले काठमाडौं महानगरका दुई लाख उपभोक्ताको धारामा आपूर्ति हुने खानेपानी प्रदुषित भएको छ। लेले र नल्लु गाविसमा सञ्चालित खानी फैलाउन धमाधम जंगल मासिएपछि नख्खु खोलामा पानी घटेको छ। मुहान सुक्न थालेपछि ती धारामा आउने पानी गत वर्षहरूभन्दा कम भएको छ।
उक्त क्षेत्रमा पानीको मात्रा र गुणस्तरमा गिरावट आएको गुनासो बोकेर उपभोक्ता काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) धाइरहेका छन्। ललितपुर बागडोलनजिकै सुन्दरीघाटमा सानो बाँध बनाई केयुकेएलले दुई लाखभन्दा बढी उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ। सुन्दरीघाटको ११ लाख लिटर क्षमताको ट्यांकीमा पानी जम्मा गरेर केयुकेएलले बल्खु, गांखेल, कुलेश्वर, कालीमाटी, ताहाचल, रविभवन, भोटेबहाल, त्रिपुरेश्वर, चोभारलगायत क्षेत्रमा पानी वितरण गरिरहेको छ।
केही वर्षसम्म कञ्चन पानी बग्ने नख्खु खोलामा लेदो मिसिएपछि वितरणमा समस्या आएको केयुकेएलका कर्मचारीले बताएका छन्। सुन्दरीघाट बाँधमा खटिएका केयुकेएलका कर्मचारीले नख्खु खोलामा केही महिनादेखि हिउँदमा पनि हिलो पानी बगिरहेको बताए। उनीहरूले त्यसको दोष खोलैखोला गुडिरहेका टिपर र टीकाभैरवका ढुंगा खानीलाई दिएका छन्।
'अहिले पनि बर्खाजस्तो भेल आइरहेको छ,' आइतबार बाँधमा भेटिएका एक कर्मचारीले नागरिकसँग भने, 'टि्रटमेन्ट गरेर पठाउन खोजेका छौ, तर सफल हुन सकिएको छैन।' ढुंगा खानीका ठेकेदारसँगको डरले नाम उल्लेख गर्न नचाहने ती कर्मचारीका अनुसार वर्खामा पानी ठूलो हुने हुँदा धेरै खेर फालेर भएपनि प्रशोधन गर्न सजिलो छ। 'पानी घटेर एक घट्ट हुन लागेको छ, कति खेर फालेर कति छान्नु!'
खोलैखोला टिपर हिँडेर नख्खु हिलाम्मे भएको हो। खानीले ढुंगा बटुल्दा निस्कने धुलो/हिलो निर्वाध नख्खुमा मिसाएकाले सुन्दरीघाटको खानेपानी ट्यांकीमा हिउँदमा पनि लेदो जमेर भरिन लागेको छ। साइटमा खटिएका कर्मचारीले नाम बताउने हिम्मत नगरे पनि केयुकेएल केन्द्र र जिल्लास्तरीय कार्यालयका अधिकारीले ढुंगाखानी र अवैध सडकविरुद्व बोलेका छन्।
केयुकेएल केन्द्रका प्राविधिक अधिकृत अमरबहादुर धिमालले नख्खुखोला पहिले स्वच्छ रहेकामा सडक बनेपछि समस्या थपिएको बताए। खानीको लेदो पोहोर/परार थेग्रिँदै आउने गरेकामा अहिले टिपरले हुँडल्दै सुन्दरीघाटसम्मै ल्याउने उनले बताए। सुन्दरीघाटबाट केयुकेएलले ११ हजार धारा वितरण गरेको छ। केयुकेएलका अनुसार एक धाराबराबर कम्तिमा २० उपभोक्ता हुन्छन्।
महानगर ११, १२, १३, १४ वडाका कर्मचारी सुन्दरीघाटबाट आपूर्ति भइरहेको पानीको गुणस्तरमा सुधार माग गर्दै केयुकेएल धाइरहेका छन्। बल्खु कुमारी क्लब खानेपानी उपभोक्ता समिति अध्यक्ष गिरिन्द्रराज अधिकारीका अनुसार नख्खु खोलामा टिपर हिँड्न थालेपछि धमिलो पानी आउने समस्याले उपभोक्ता आजित छन्। 'पानीमा सरोवरी मिसिएर आउने हिलोले हाम्रा घरका ट्यांकी भरिन लागेका छन्,' उनले भने।
काठमाडौंको दक्षिण क्षेत्र भूसतहमा कालो माटोको पत्र रहेकाले अधिकांश ठाउँबाट बोरिङ गर्न नमिल्ने भएकाले पानीको वैकल्पिक स्रोत नभएकाले नख्खुखोलाको बचावटमा उपभोक्ताहरूले बढी नै चासो देखाइरहेका छन्। 'हाम्रालागि नख्खुखोला मेलम्चीबराबर नै हो,' अधिकारीले भने, 'ढुंगा ओसार्ने नाममा हाम्रो पानी काट्न पाइन्न।'
बल्खुनिवासी त्रिवि अर्थशास्त्र विभाग प्रमुख रूद्र उपाध्यायले 'पानीजस्तो आधारभूत आवश्यकतामा हेलचेक्र्याइँ गरेर मानवीय स्वास्थ्यमाथि खेलबाड गरेको' बताए। उनले भने, 'उसै पनि थोरै पानी वितरण भइरहेको क्षेत्रमा प्रदूषित पानी वितरण गर्नु जिम्मेवार निकायको अकर्मण्यता हो।'
केयुकेएल त्रिपुरेश्वर शाखाप्रमुख किशोर प्रधानका अनुसार खोलामै टिपर हिँडनुका साथै खानीको माटो खोलामा मिसाउँदा सुन्दरीघाटबाट पानी वितरण गर्न समस्या थपिएको छ। खोलैखोला कुद्ने टिपर र अव्यवस्थित खानीले पुर्याएको असरबारे जिविस र प्रशासनलाई केयुकेएलले पटकपटक जानकारी गराएपनि ती निकायले रत्तिभर चासो दिएका छैनन्। 'हामीले पिउने पानीमै असर पर्यो भनेर सिडिओ र एलडिओलाई धेरैपटक भन्यौ,' प्रधानले भने, 'उहाँहरूले सहयोग नगरेपछि फोहोर पानी नै पठाउनु परेको छ।' उपत्यकामा पानी आपूर्ति गर्ने नख्खु खोला सुन्दरीजल र फर्पिङपछिको स्रोत हो।
वातावरणमैत्री हुनुपर्ने, चेकड्याम बनाउनुपर्ने, गरा बनाउँदै उत्खनन् गर्नुपर्ने, खानीको धुलो उडाउन र बगाउन नपाइने नियम ललितपुरको दक्षिणी क्षेत्रका खानीले पालना गरेका छैनन्। जिविसले सर्वदलीय संयन्त्रको समर्थनमा नख्खु खोला मिचेर सडक बनाएको थियो।
जिविसको खानी समितिले लेले र नल्लुका कुनै खानीले पनि प्रक्रिया नपुर्याएको प्रतिवेदन दिए पनि जिविस र प्रशासनले अहिलेसम्म कारबाही गरेका छैनन्। असारमा गर्नुपर्ने नवीकरणसमेत नगरेका ३१ खानीलाई उल्टै जिविसले नवीकरण गर्न एक साताको म्याद थपेको छ।
नख्खु दायाँबायाँ १२/१२ मिटर छाड्नुपर्ने मन्त्रिपरिषद्को निर्णय लत्याउँदै जिविसले खोलालाई कुलो बनाएर सडक बनाएको छ। प्रक्रिया पूरा नगरी रातारात बनेको १६ किलोमिटर लामो सडक कयौ ठाउँमा खोलैखोला र दुई स्थानमा पुलमुनिबाट पार हुन्छ।
संसदको प्राकृतिक स्रोत साधन समितिले नख्खु मिचिएको तथा खानीबारे जानकारी लिन सरोकारवाला मन्त्रालयका सचिव र कार्यालय प्रमुखलाई सोमबार बोलाएको छ।
source:-nagriknews



0 commentaires