२०१० मा हवाई र स्थल गरी ६ लाख पर्यटक

काठमाडौ, माघ ३ - नेपाल पर्यटन वर्ष औपचारिक रूपमा शुभारम्भ भएको साता नबित्दै आतिथ्य सत्कार उद्योगका लागि अर्को खुसीको खबर आएको छ । सन् २०१० अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटकले नेपाल भ्रमण गरेको वर्ष भएको छ । अध्यागमन विभागका अनुसार हवाई र स्थलमार्ग गरी ६ लाख १० हजार पर्यटकले नेपाल भ्रमण गरे । सडक मार्गबाट आएका भारतीय पर्यटकको संख्या यसमा छैन ।

सन् २००९ मा दुवै मार्ग -स्थल र हवाई) गरी ५ लाख ९ हजार पर्यटक नेपाल आएका थिए । माओवादी द्वन्द्वसँगै झन्डै एक दशक खस्केको पर्यटन व्यवसाय शान्ति स्थापना लगत्तै पुनःस्थापित भइरहेको छ । 'पर्यटन वर्ष घोषणा गरेकै बेला आएको तथ्यांकले सबैतिर उत्साह थपेको छ,' पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले भने ।

अध्यागनका अनुसार २०१० भरि विभिन्न सात नाकाबाट -भारतीयसहित) कुल १ लाख ५३ हजार ७ सय ५७ पर्यटक भित्रिएका छन् । पर्यटन वर्ष सचिवालयले यो वर्ष स्थलबाट १ लाख ५९ हजार  ४ सय पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । 'लक्ष्यअनुसार नआए पनि हाराहारीमा पुगेको छ,' बरालले भने, '२०११ का लागि गरिएको प्रचार प्रसारको नतिजा हो ।' 

हवाई मार्गबाट हालसम्मकै उच्च ४ लाख ४८ हजार पर्यटक भित्रिएपछि २०१० मा पर्यटन व्यवसायीले ६ लाखभन्दा बढी विदेशी पाहुनालाई सेवा दिन पाएका हुन् । सन् २००९ मा विभिन्न नाका हुँदै भित्रिएका पर्यटक संख्या १ लाख ३१ हजार थियो । त्यस्तै सन् २००७ को तुलनामा २००८ मा स्थलमार्ग भएर आउने पर्यटक घटेका थिए । सन् २००७ मा १ लाख ६५ हजार ९ सय पर्यटक आएकामा २००८ मा घटेर १ लाख २५ हजार ६ सयमा सीमित भयो ।

सचिवालयले २०११ मा स्थलमार्गबाट २ लाख २४ हजार पर्यटक भित्र्याउने अपेक्षा गरेको छ । यसका लागि पर्यटन बोर्डले निजी व्यवसायीसँग सहकार्य गरी भारत र अन्य मुलुकमा प्रवर्द्धन कार्यक्रमहरू गरिरहेको छ । स्थलमार्ग भएर आउने कुल पर्यटकमध्ये भारतीयको संख्या २०१० मा ११ हजार ८ सय ८४ रहेको अध्यागमनले जनाएको छ । 'भारतमा गरिने प्रवर्द्धनको प्रतिफल तत्काल देखिन्छ,' बरालले भने, 'त्यसैले बढीभन्दा बढी कार्यक्रम गरिहेका छौं ।' बोर्डका अनुसार २०१० भरि भारतका बैंगलोर, मुम्बई, मद्रास, दिल्ली, चन्डीगढ, हैदराबादलगायत स्थानमा १७ वटा प्रवर्द्धन कार्यक्रम गरिएकोे छ । 

सरकारी तथ्यांकअनुसार भारत हुँदै भैरहवा नाकाबाट सबैभन्दा बढी १ लाख २ हजार, कोदारीबाट ३६ हजार ३ सय, काँकडभिट्टाबाट ६ हजार, कञ्चनपुरबाट १ हजार २ सय, वीरगन्जबाट १ हजार १ सय, नेपालगन्जबाट २ सय ७० र धनगढीबाट ६० भन्दा बढी पर्यटक भित्रिएका छन् । भैरहवाबाट अघिल्लो वर्षभन्दा दोब्बर पर्यटक भित्रिएका छन् ।

यी नाका हुँदै भित्रिएका विदेशी पाहुनामा सबैभन्दा धेरै संख्या श्रीलंकालीको छ । यो वर्ष स्थलमार्गबाट ४४ हजार श्रीलंकाली पर्यटक आए । त्यस्तै थाई पर्यटक २० हजार ३ सय पर्यटक भित्रिए । तर लुम्बिनी आएका अधिकांश पर्यटक भारतीय प्याकेजमा आउने र एक रात पनि नबसी र्फकने भएकाले नेपाली पर्यटनलाई खासै सहयोग पुग्न सकेको छैन । बोधगयासम्म श्रीलंका र थाइल्यान्डबाट सीधा उडान भएकाले यी पर्यटक पहिले उता जाने गरेका छन् । 'भैरहवामा विमानस्थल भए उनीहरू नेपालको प्याकेजमा आउँथे,' नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्सका पूर्वअध्यक्ष रामकाजी कोनेले भने, 'पहिला गौतम बुद्ध जन्मेका ठाउँमा आउनुपर्नेमा उल्टो परिक्रमा भइरहेको छ ।' 

यो अवधिमा चीनबाट १७ हजार ५ सय, दक्षिण कोरियाबाट ५ हजार, अमेरिकाबाट ३ हजार ९ सय र बेलायतबाट ३ हजार ३ सय पर्यटक आएको अध्यागमनको तथ्यांकमा छ । हवाई मार्ग मात्र नभई स्थलबाट पनि धेरै भारतीय पर्यटक आउँछन् । तर सबैको तथ्यांक नभएकाले यति नै संख्या भन्न सकिने अवस्था छैन । पर्यटन बोर्डका अनुसार कुल पर्यटकको ३० प्रतिशतभन्दा बढी भारतीय हुने गर्छन् । 'तारे मात्र होइन ताराविहीन होटलमा समेत भारतीय पर्यटक बढेको जानकारी पाएका छौं,' बरालले भने । तारे होटल व्यवसायीका अनुसार पनि कुल अकुपेन्सीमा ५० प्रतिशत भारतीय छन् । अहिले तारे होटलको अकुपेन्सी ६५ देखि ७० प्रतिशतसम्म छ । 
'संख्या जति बढी हुन्छ, हाम्रो जिम्मेवारी उत्तिकै बढ्छ,' नेपाल होटल संघका प्रमुख कार्यकारी माधवओम श्रेष्ठले भने, 'यसअघि थोरै प्रतिशतमा बृद्धि भइरहेको थियो,' श्रेष्ठले भने '२०१० भने निकै राम्रो वर्ष सावित भएको छ ।'
अन्नपूर्ण क्षेत्रमा ८८ हजार

पोखरा -कास)- पैदलयात्राका लागि विश्वकै उत्कृष्ट दसमध्ये पर्ने अन्नपूर्ण क्ष्ाेत्रमा अहिलेसम्मकै सबैभन्दा बढी पर्यटक घुम्न गएका छन् ।  

त्यहाँ सडक यातायातको पहुँचसँगै पदमार्ग खुम्चिए पनि पर्यटकको संख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) ले जनाएको छ । एक्यापका अनुसार २०१० मा ८८ हजार ४ सय १८ पर्यटक घुम्न आएका थिए । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । गत वर्षको तुलनामा १० दशमलव ६७ प्रतिशतले बढी हो । यो संख्यामध्ये १५ प्रतिशत मात्र सार्क क्षेत्र र बाँकी अन्य मुलुकका पर्यटकले भ्रमण गरेका थिए । 

अधिकांश पर्यटक अन्नपूर्ण बेस क्याम्प, घान्द्रुक, म्याग्दीको घोडेपानी, भुरुङ तातोपानीलगायत क्षेत्रमा जाने गरेको एक्यापका सूचना अधिकृत देवेन्द्र थापाले बताए । 

उनका अनुसार २००५ मा द्वन्द्वका कारण सबैभन्दा कम ३६ हजार २ सय मात्र आएका थिए । त्यसपछि भने वृद्धि हुँदै गए । 'शान्ति प्रक्रियापछि पर्यटकको संख्यामा वृद्धि भएको छ,' थापाले भने, 'अधिकांश क्षेत्रमा मोटरबाटो पुगे पनि पर्यटक भने पैदले हिँड्ने गरेका छन् ।'  

मुलुकमा केही समय यता बन्द, हडताल चक्काजामलगायत आन्दोलनका कार्यक्रम नभएको एक्यापको प्रचारप्रसार पनि राम्रै भएकाले पर्यटकको संख्या बढेको व्यवसायीले बताएका छन् । 'मुख्य कुरा शान्ति हो,' पोखरा पर्यटन परिषद्का अध्यक्ष टीकाराम सापकोटाले भने, 'प्रचारप्रसारले पनि पर्यटकको संख्या बढाएको हो ।' ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल -टान) पोखराका अध्यक्ष सोमबहादुर थापाले अन्नपूर्ण क्षेत्रमा एकपटक पुग्नैपर्ने भन्दै पर्यटक आउन थालेको बताए ।


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login