अमन कोइराला सर्लाही, पुस २५ - जग्गा नापजाँचका लागि निवेदन दिन गठित सुकुम्बासी समस्या सामाधान जिल्ला समितिको सूचना नपाउँदा लालबन्दीका सयौं व्यक्ति छुटेका छन् ।
०५२ मा अस्थायी पुर्जा पाएका जग्गाधनीलाई अहिलेको समितिले स्थानीय एक दैनिक पत्रिका र एफएममा कात्तिक २५ गतेभित्र निवेदन दिन भन्दै ३५ दिने सूचना जारी गरेको थियो ।
निवेदन दिनबाट वञ्चित भएकाले राष्ट्रिय दैनिकमा सूचना प्रकाशित नगरेकाले पुनः गरेर नापजाँचलगायत स्थायी पुर्जाका लागि प्रक्रिया थाल्नुपर्ने जिकिर उनीहरूले गरेका छन् । समितिले भने बजेट अभावमा स्थानीय रेडियो र पत्रिका अवलम्बन गर्नुपरेको जनाएको छ ।
समिति जिल्ला अध्यक्ष उपेन्द्र कुशवाहले ०५२ सालमा लालबन्दीका ३ सय ५० भन्दा बढीले अस्थायी पुर्जा पाएकामा यो पटक १ सय १८ को मात्र पुनः नापी गरिएको बताए । 'सूचना थाहा नपाएर धेरै छुटेको जानकारी आयो,' कुशवाहले भने, 'आगामी साताभित्र छुटेका व्यक्तिहरूबारे के हुने भन्ने निर्णय समितिले लिनेछ ।'
लालबन्दी गाविस सचिव केशव शाहीले भने सूचना अपर्याप्त मात्र नभई आफूलाई समेत पत्राचार नगरेको बताए । यो समितिमा सम्बन्धित गाविस सचिव पदेन सदस्य रहने व्यवस्था रहेको बताउँदै आफूलाई भने केही जानकारी नदिएको उनको गुनासो छ ।
'सूचना प्रकाशित गरेपछि गाविसलाई पत्रद्वारा सूचित गर्न सकिन्थ्यो,' शाहीले भने, 'यस्तो अवस्थामा कसरी १ सय १८ को मात्र निवेदन दर्ता भयो ?' सचिवले समितिको काम पारदर्शी नभएको आरोप लगाए ।
पैसा लिएर घरघरमा खबर गरी तोकिएको हदम्यादभित्रकै मिति राखेर केही निवेदन दर्ता भएको स्थानीयको आरोप छ । लालबन्दी ५ का गोपाल पोखरेलले एकै ठाउँका कसैको निवेदन पर्नु कसैको नपर्नुले शंका उब्जाएको उनले बताए । अधिकांश व्यक्ति सूचना अभावमै छुटेका हुन् ।
यहाँका दलीय प्रतिनिधिलाई पनि समितिको अपारदर्शीबारे चित्त बुझेको छैन । 'पैसा उठायो भन्नेसम्मका हल्ला यहाँ फैलिएको छन्,' दलीय संयन्त्रका स्थानीय संयोजक सीताराम दाहालले भने, 'समितिको कामकारबाही हेर्दा शंका गर्ने प्रशस्त ठाउँ छ ।' दलहरूले पदाधिकारीलाई पारदर्शी ढंगले काम गर्न आग्रहसमेत गरेका छन् ।
पैसा उठाएर समितिले काम गरेको भन्ने आरोप निराधार भएको कुशवाहले बताए ।
भाउ बढ्दा समस्या
सहरीकरण उन्मुख लालबन्दीमा केही वर्षयता जमिनको भाउ अकासिएकाले समितिले काम थालेपछि थप समस्या आएको छ । अधिकांश ऐलानी जमिन रहेको उक्त गाविसमा सुरु नापी हुँदाका धनीले धेरैलाई जमिन टुक्र्याएर बेचबिखन गरिसकेका छन् । बिक्री गरिसकेको जमिनको साबिक धनीकै नाममा स्थायी पुर्जा बन्दा ठूलो विवाद हुने सम्भावना दलका प्रतिनिधिले औंल्याए ।
'पहिले कौडीको भाउमा बेचेको जग्गा अहिले सुनजस्तो भयो,' एमालेका कपिल पौडेलले भने, 'पहिलेकै धनीको नाममा पुर्जा बनेपछि मन फेरियो भने अनर्थ हुन्छ ।'
०६५ पुसमा लालबन्दी ३ मा रुद्रप्रसाद पोखरेलसँग गीताप्रसाद आचार्यले ४५ हजार कठ्ठाका दरले किनेको जमिन अहिले १० लाख पुगेको छ । आचार्यले पनि खरिद गरेकोमध्ये केही जमिन अर्काेलाई बेचिसके । सबै खरिद बिक्री घरसारमा गरेको कागजका भरमा भएको छ । आचार्यको जस्ता सयौं उदाहरण लालबन्दीमा छन् ।
जमिनको भाउ अप्रत्याशित बढेकाले उनीहरूले घरसारमा गरेको कागजका आधारमा खरिद गर्नेको नाममा समितिले पुर्जा बनाउनुपर्ने माग गरेका छन् । उनीहरूको मागप्रति गाविस र स्थानीय राजनीतिक दलसमेत एकमत छन् । पुरानै धनीका नाममा पुर्जा बन्दा आउन सक्ने समस्या थेग्न नसकिने भएकाले पुर्जा दिने बेलामै प्रशस्त गृहकार्य गर्नुपर्ने कांग्रेस लालबन्दी गाउँ अध्यक्ष कृष्ण दाहालको भनाइ छ ।
source:-ekantipur


0 commentaires