वेलावेलामा गायकहरू गुनासो गर्छन्- गाएर खानै पुग्दैन । कलाकारहरू कचकच गर्छन्- राष्ट्रले सम्मानै गर्दैन । कविहरूको कनकन सुनिन्छ- साहित्य लेखेर बाँच्नै सकिँदैन । तर, अहिलेको संगीत बजारका 'चल्तीका गायक' शिव परियार सन्तुष्ट मुद्रामा हाँसे, 'मैले त परिवार पालिरहेकै छु ।'
'क्या दामी भो' भनेर शास्त्रीय शैलीमा लेघ्रो तान्ने यी गायकलाई नेपालका थोरै अपवादमध्ये एक भन्न सकिन्छ । मजदुरले रात-दिन पाखुरा बजार्दा पनि छाक टार्न धौ-धौ हुने देशमा गीत गाएरै 'परिवार पाल्नु' चानचुने कुरा होइन । 'मेरो बाआमा खेतीकिसानी गर्नुहुन्छ,' उनले भने, 'अब बुढेसकालमा उहाँहरूले अपेक्षा गर्ने मैसँग त हो ।' सर्लाहीमा जन्मेका यी गायक परिवारको एक्लो छोरा हुन् । 'तीन बहिनीलाई अहिलेसम्म पढाउने खर्च पनि मैले नै जुटाएको हुँ,' उनले भने ।
गाएरै घरपरिवारको सारा खर्च चलेको छ त ? 'गाएर मात्रै त मैले कमाएको होइन,' परियारले स्पष्टीकरण दिए, 'मैले केही समयअघिसम्म संगीत पनि सिकाउँथँे । जेहोस्, मेरो कमाइ संगीत क्षेत्रबाटै हो ।'
शिव परियार संगीत क्षेत्रमा होमिएको दसक नाघिसक्यो । शास्त्रीय संगीत सिकेर व्यावसायिक गायनमा लागेका परियार अहिलेका एक सफल युवा गायक हुन् । उनका पछिल्ला आधुनिक गीत र गजलहरू सहर-बजारमा रन्किरहेका छन् । स्वर र शैलीमा उनले मौलिक विकास गर्न खोजेको छनक पनि दिएका छन् । परियारको सक्रियता र व्यस्तता बढ्दो देखिन्छ । गाउनकै लागि उनी देशका विभिन्न सहर पुग्छन्, विदेश पुग्छन् । कति कमाए त
उनले ? भन्छन्, 'मैले काठमाडौंमा घर बनाउने गरी पैसा कमाउन सकेको छैन । देख्दा जति नै चलेको देखिए पनि संगीतमा हुने पाइरेसीले हामी कलाकारलाई धेरै मारेको छ ।'
उनले पाइरेसी समस्याबारे लामो प्रवचन नै दिए । लगानीकर्ताले फाइदा नपाएको र संगीतमा लगानी गर्न चाहनेले असुरक्षित महसुस गरेको कुरा पनि सुनाए । गीत हिट भएर पनि कलाकार दुःखी हुनुपर्ने अवस्था भएको दाबी गरे । र, 'यो देशको कानुन बलियो नभएको' आमगुनासो दोहोर्याए ।
एउटा गीत गाएको पारिश्रमिक कति लिन्छन् शिव ? 'सिआरबिटीको रोयल्टी नलिने हो भने १६ देखि २० हजार, लिने हो भने १२ हजार,' यति भनिसकेर परियार मुसुमुसु हाँसे । किन हाँस्नुभएको ? 'मेरो भन्ने पारिश्रमिक यही हो,' झन् खित्का छाड्दै उनले भने, 'तर, मैले अहिलेसम्म कुनै गीतको पनि १२ हजार वा १६ देखि २० हजार लिएको छैन ।'
पारिश्रमिकमा पनि कलाकारको 'देखाउने दाँत' र 'चपाउने दाँत' हुने रहेछ । 'भित्र कसैको सित्तैमा गाइदिनुपर्छ, कसैको आग्रह काट्न सकिन्न, कसैसँग सम्झौता गरेर गाउनुपर्छ, पारिश्रमिक जत्तिको तत्ति लिन्छु भन्ने हो भने समस्या पर्छ,' परियार फेरि हाँसे, 'बाहिर भन्नका लागि एउटा रेट पनि त बनाउनुपर्यो नि ।' उनलाई लागिरहेछ- नेपाली संगीत व्यावसायिक हुनै सकेको छैन । त्यसो त हुँदै गरेको व्यावसायिकताले पनि गायक/गायिकालाई मात्रै 'हिट' बनाउँछ । बजारमा कुनै गीत 'चर्चित' भयो भने त्यसको जस आखिर गाउनेकै थाप्लामाथि ओइरिन्छ । संगीतकार र गीतकारबारे त धेरै बेखबर हुन्छन् । शिव परियारकै 'क्या दामी भो' राजेन्द्र थापाले रचेका हुन् भन्ने धेरै कमलाई थाहा होला ।
नेपाली संगीत बजार सानो छ भन्नेमा परियार सहमत छन् । यही बजार हिन्दी संगीतको पनि हो । लोकसंगीतको पनि हो । आधुनिक संगीतको पनि । अनि परियारलाई शास्त्रीयपाराका गीत गाएर छोटै समयमा 'हिट' भएजस्तो लाग्दैन ? '१०/१२ वर्ष भइसक्यो यो क्षेत्रमा आएको,' उनले आफ्नो करिअर अवधिमाथि गर्व गर्दै प्रतिप्रश्न गरे, 'कहाँ छिट्टै हिट भएको हुँ र ?' परियारका 'कादम्बिनी', 'क्या दामी' लगायत पाँच एल्बम बजारमा आइसकेका छन् । अहिले पनि उनी 'गजल' नामको नयाँ गीतिएल्बमको तयारी गरिरहेका छन् । उनलाई आफ्नो सांगीतिक यात्रा लामै भएको अभिमान रहेछ ।
परियारले हिँडिसकेको भन्दा अब हिँड्नुपर्ने बाटो पक्कै लामो होला । जमाना त्यस्तो आएको छ- आज गाएको गीत भोलि पुरानो हुँदै छ । हिजोभन्दा आज राम्रा गीत पनि आइरहेका छन् । परियारले भने, 'म पनि इमानदार भएर संगीतमा लागेको छु, शास्त्रीय संगीतलाई नै व्यावसायिक बनाउन त सक्दिनँ होला । तर, त्यसमा नयाँपन दिन प्रयास गरिरहेको छु ।'
source:-nayapatrika



0 commentaires