नेपालगन्ज, पुस २१ - रुपैडिहाबाट हतियारसहित नेपालगन्ज आउँदै गरेका भारत कहारनपुरुवा चौखडियाका सोनु कहारलाई बुधवार सीमा सशस्त्र प्रहरीले पक्राउ गरेको छ। नेपालगन्ज मूल भन्सारमा सामान चेक गर्ने बेला कटुवा पेस्तोल र त्यसको गोलीसहित कहार पक्राउ परेको सीमा सशस्त्र प्रहरीका प्रमुख महेशकुमार श्रेष्ठले बताए।
केही समययता भारतबाट हतियार ल्याएर नेपालगन्जमा हिंसात्मक गतिविधि बढेको बेला सशस्त्रले सुरक्षामा कडाइ गरेको श्रेष्ठले बताए।
१९ वर्षीय कहार चन्दा उठाउन नेपालगन्ज आइरहेको हुन सक्ने प्रहरीको अनुमान छ। तराईमा खोलिएका कैयन भूमिगत संगठनमा भारतीयहरूको सलंग्नता भएको गुनासो आइरहेको बेला भारतीय नागरिक कहार पक्राउ परेका हुन्। उनीसँग अर्के व्यक्तिको नाममा जारी गरिएको भारत पन्जाव प्रहरी निरीक्षकको परिचय पत्रसमेत फेला परेको छ।
source:-nagriknews


0 commentaires