सुनसरी, ८ माघ : एमाले अध्यक्ष झलनाथ खनाललाई थप्पड हान्ने सुनसरी भरौल-१ का ४९ वषर्ीय देवीप्रसाद रेग्मीविरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरिएको छ । एमाले पार्टी कार्यालय सुनसरीका कार्यालय सचिव गोविन्द कार्कीले शुक्रबार रेग्मीमाथि कारबाहीको माग गर्दै सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गराएको एमाले नेता राजेन्द्र पोखरेलले जानकारी दिए ।
रेग्मीलाई इलाका प्रहरी कार्यालय इटहरीबाट शुक्रबार नै जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरी ल्याइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले रेग्मीमाथि छानबिन गर्नका लागि १५ दिनको म्याद थप पनि गरेका छन् । अनुसन्धानका लागि १५ दिन म्याद थप गरिएको जनाए । सार्वजनिक ऐनअनुसार कस्तो खालको कारबाही हुने हो अनुसन्धानपछि मात्र भन्न सकिने थपलियाले बताए । स्रोतका अनुसार, रेग्मीलाई सीधै अदालत लैजाने या मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अगाडि बढाउने भन्ने विषयमा बहस भएको स्रोतले बताएको छ ।
यसैबीच, एमाले अध्यक्ष खनालमाथि हातपात गरेको विरोधमा एमालेनिकट विद्यार्थीले इटहरीमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आधा घन्टा इटहरीको मुख्य चोकमा चक्काजाम गरेका थिए । चक्काजामपछि इलाका प्रहरी कार्यालय इटहरी अगाडि कोणसभा गरेका थिए । कोणसभामा विद्यार्थी नेता नवराज नेपालले सुरक्षा दिन नसक्ने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक श्यामल सुब्बालाई पनि कानुनी कारबाही गर्नुपर्ने माग गरे । उनले माओवादीले रेग्मीलाई उकासेर नियोजित तरिकाले आक्रमण गरेको आरोपसमेत लगाए ।
समर्थनमा हस्तक्षार
यता सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार बिहानैदेखि रेग्मीले खनाललाई झापड हानेर सही काम गरेकोमा स्वागत गर्दै उनको विनासर्त रिहाइको माग गर्दै हस्ताक्षर संकलन अभियान थालिएको छ । मधेसी नागरिक समाज इनरुवाको अगुवाइमा हस्ताक्षर अभियान थालिएको हो । उनलाई धरौटी तोकेमा आफूहरू उठाएर तिर्न पनि तयार रहेको समाजका अध्यक्ष नारायण मेहताले बताए । इनरुवा क्षेत्रका बुद्धिजीवीहरूको हस्ताक्षर संकलन गरी सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाउने उनले बताए ।
यसैविच घटनाको अनुसन्धानको लागि प्रहरीले छानविन समिति गठन गरेको छ । कोशी अञ्चल प्रहरी कार्यालयका एसएसपी मिङमार लामाको सयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको हो । समितिका प्रतिवेदनका आधारमा रेग्मी माथि कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
'मेरो छोराले ठीक गर्यो’
सुनसरी/ एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हान्ने रेग्मीकी ७६ वषर्ीया आमा तिलकुमारी रेग्मीले देशको स्थिति हेर्दा आफ्ना छोराले नेतालाई झापड हानेर ठीक गरेको बताएकी छिन् । शुक्रबार बिहान आफ्नै निवासमा कुरा गर्दै उनले छोराले नेतालाई सजग गराउनका लागि झापड हानेकोमा दुःख नलागेको बताइन् ।
नेतालाई सजग गराउन छोराले अध्यक्ष खनाललाई थप्पड हानेर राम्रो काम गरेको उनको दाबी छ । तर, प्रहरीले छोरालाई जेल हालेको दुःख लागेको बताइन् । 'बूढेसकालको सहारा एक मात्र छोरालाई कुटेअरे, प्रहरीले समातेर जेलमा राख्यो रे ! भन्दा मलाई ज्यादै दुःख लागेको छ,' उनले भनिन्, 'छोरालाई अब प्रहरीले छाड्दैनन् होला । अब हामी कसरी बाँच्ने ?' एक मात्रै छोरा भएको पनि प्रहरीले पक्राउ गरेपछि परिवारको बिचल्ली भएको उनले बताइन् । 'मेरा तीन भाइ छोरामध्ये यो माइलो हो । जेठो छोरा १६ वर्षकै उमेरमा बिरामी भएर मर्यो । उसलाई उपचार गर्ने पैसा नभएर हामीले बचाउन सकेनौँ । कान्छो छोराको पनि तीन वर्षअघि ४० वर्षको उमेरमा मृत्यु भयो,' उनले भनिन्, 'अब बूढेसकालको सहाराका रूपमा यही छोरा थियो । उसलाई पनि प्रहरीले समातेर थुन्यो ।'
स्वस्थानीको ब्रत लिएकी देवीप्रसादकी श्रीमती शोभा रेग्मीले आफ्ना श्रीमान्ले खनाललाई झापड हानेकोमा आफूलाई कुनै चिन्ता नलागेको बताइन् । नेपाली जनताले दुःख पाएको देख्दा आफ्ना श्रीमान्ले झापड हानेर ठीक गरेको उनले बताइन् । उनका अनुसार, पहिलेदेखि नै आफू आफ्ना श्रीमान् एमालेप्रति समर्पित भई भोट पनि हाल्दै आएका थिए । तर, एमालेले केही नगरेपछि संविधानसभा निर्वाचनमा माओवादीलाई भोट दिएको उनले बताइन् । श्रीमान्ले खनाललाई झापड हानेको घटनालाई एमालेले राजनीतिक रंग दिएको उनको आरोप छ ।
source:-nayapatrika



0 commentaires