काठमाडौ, माघ ३ - प्रधानमन्त्रीको सिंहदरबार आउ/जाउ गर्ने प्रहरी प्रधान कार्यालय पछाडिको गैरीधारा सडक चोकमा आइतबार मध्याह्न सवारी चाप बाक्लो थियो ।
प्रधानमन्त्री माधवकुमार नेपाल सिंहदरबार लागेकाले पनि दुई लेनको उक्त बाटोमा कमलपोखरी प्रहरी प्रभागका ट्राफिक जवान होमबहादुर सुनार एक्लै सवारी व्यवस्थापनमा थिए ।
खुर्सानीटार हुँदै बालुवाटारबाट आएका सवारीलाई हातको इसारा र सिटीको सहयोगमा धोबीचौरतर्फ पठाइरहेका थिए । त्यताबाट आउँदै गरेकालाई खुर्सानीटारतर्फ पठाउँदै थिए । प्रहरी प्रधान कार्यालयको पछाडितिरको बाटो नक्साल सडक हुँदै खुर्सानीटार र भाटभटेनीतर्फ जाने सवारीलाई उनले रोकेका थिए ।
धोवीचौर र खुर्सानीटार एकतर्फी मात्रै खुला थियो । सवारी चाप रहेका बेला धोबीचौरबाट खुर्सानीटारतर्फ जाँदै गरेका साना गाडीको बीचबाट हुइँकिंदै बढेको कालो रंगको होन्डा बाइकका कारण बालुवाटारबाट धोबीचौरतर्फ जाँदै गरेका गाडी रोकिएर जाम भयो ।
जवान सुनारले झटपट ओभरटेक गर्ने बाइकको चाबी थुते । दुईजना युवा चढेको बाइकका चालकलाई उनले सडक किनारमा साइड लाग्न भने ।
चाबी थुतेपछि बाइक चालक झोक्किँदै ट्राफिकसित बाझ्न थाले । आक्रोशित भावमा उत्रिएका युवक चोकमै ट्राफिकसँग झगडा गर्न थाले, 'तैंले तँ कसलाई
भनेको ?' तँलाई म देखाउँछु, मलाई चिनेको छस्, म को हुँ ?' छेउमै रहेको प्रहरी बिटमा बाइक पार्किङ गर्दै उनले गोजीबाट पर्स झिकेर देखाए, 'ल हेर म को हुँ ?' सवारी साधन व्यवस्थापन गरिरहेका ट्राफिक जवान काम छाडेर बाझाबाझमा उत्रिए ।
'तपाई जोसुकै होस् मलाई के मतलब,' उनले प्रतिकार गरे । सडकमा सवारी हाँक्ने जोसुकै भए पनि ट्राफिकका लागि सबै 'चालक' हुन्, अनुशासन पालना नगरे कारबाही गर्नु हाम्रो ड्युटी हो,' उनले भने ।
बाइक चालकले 'तँ कसलाई भनेको, हेप्ने ?' भन्दै ट्राफिकलाई हपारे । उनले 'तँ' नभनेको 'तपाई साइड लाग्नुहोस्' भनेको दाबी गर्दै 'आमा कसम' भने ।
ट्राफिकले कसम नै खाएपछि सडकमा झुम्मिएका सर्वसाधारणले बाइक चालकलाई भनाभन नगरी, बाटो लाग्न सुझाए तर चालकले मानेनन् । आक्रोशले भरिएका बाइक चालकले परिचयपत्र हेर्न भन्दै झोक्किएर प्रहरी बिटमा परिचयपत्र फ्याँके ।
उनको परिचयपत्र व्यवस्थापिका संसद् (संविधानसभा) ले जारी गरेको रहेछ । उनी धनुषाकी कांग्रेस सभासद सरस्वती चौधरीका छोरा रहेछन् । पीएका रूपमा परिचयपत्र जारी गरिएको रहेछ । उनले ट्राफिकलाई 'देखाउँछु मलाई तँ भन्ने' भन्दै सभासद आमालाई मोबाइलमा फोन लगाए र भने, 'सभासदज्यू कुरा गर्ने रे लिनुहोस् फोन ?' तर ट्राफिकले नकार्दै भने, 'हामी ड्युटीमा कसैको फोनमा कुरा गर्दैनौं' आफ्नो मोबाइल सेटमा कुरा गर्न नमानेपछि उनले आमालाई भने, 'कुरा नगर्ने भन्छ,' उनकी सभासद आमाले के भनिन् थाहा भएन, उनले फोन राखे ।
भीड बढ्दै गइरहेको थियो । सर्वसाधारणले ट्राफिकको पक्ष लिएपछि अन्ततः उनले सवारी चालक अनुमतिपत्र जफत गरे । 'मेरोबारे गुनासो छ भने, कारबाही गर्ने निकायमा जानुहोस्' छेउकै प्रहरी प्रधान कार्यालय देखाउँदै उनले चालकलाई बाइकको चाबी फिर्ता दिए र अनुमतिपत्र लिंदै पुर्जी थम्याए । 'लाइसेन्स लिन भोलि (सोमबार) बग्गीखाना जानु । सभासदका छोरा अजितकुमार चौधरी रहेछन् । उनी फेरि हप्काउन खोज्दै थिए । ट्राफिकले भने, 'बाइक पनि भित्र हालिदिउँ ? धम्क्याउने ?' ट्राफिक जवान झोक्किएपछि उनी 'पख देखाउँछु' भन्दै गैरीधाराबाट निस्किए ।
source:-ekantipur


0 commentaires