काठमाडौ, माघ ३ - काठमाडौं- लिबियास्थित निर्माणाधीन हाउजिङ प्लान्ट स्थानीय बासिन्दाले कब्जा गरेपछि त्यहाँ कार्यरत छ सयभन्दा बढी नेपालीसमेत सुरक्षा घेरामा थुनिएका छन् । लिबिया सरकारले आफ्ना नागरिकको बासस्थानका लागि बनाइरहेका भवनहरू पूरा नहँुदै बिहीबार राति स्थानीय बासिन्दाले कब्जा गरेका हुन् ।
राजधानी त्रिपोलीबाट करिब १३ सय किलोमिटर पूर्व डेर्नामा नागरिकका लागि दुई हजारवटा भवनहरू बन्दैछन् । स्थानीय बासिन्दालाई वितरण गर्न सरकारले बनाएका ती भवन टाढा-टाढाबाट आएका लिबियालीले दाबी गर्दै कब्जा गरेका हुन् । ती भवन आफूहरूले पनि पाउनुपर्ने उनीहरूको माग छ ।
थुनिएका नेपाली कामदार उनीहरू बस्ने क्याम्पभित्रै छन् । 'हामीलाई क्याम्पबाट बाहिर जान दिइएको छैन,' खोटाङका दुवारचन्द्र राईले कान्तिपुरसँग फोनमा भने, 'बाहिर सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।'
तैपनि सुरक्षाकर्मी अति कम भएकाले जुनसुकै बेला झडप हुने त्रास रहेको उनले बताए । उनीहरू बस्ने क्याम्प कब्जा गरिएको हाउजिङभन्दा करिब एक किलोमिटर टाढा पर्छ । 'निर्माणाधीन भवनमा बंगाली र कोरियाली कामदार बस्थे । उनीहरू त्यही दिन लखेटिएका छन्,' उनले भने, 'त्यतिखेर हामी भने धन्न क्याम्पमा आइसकेका थियौं ।' कोरियन कम्पनी 'वन कन्स्ट्रक्सन' ले निर्माण गरिरहेको हाउजिङमा विवाद बढेपछि काम पूर्णरूपमा बन्द छ ।
राईका अनुसार कम्पनीका अधिकारीहरूसमेत सुरक्षा घेरामै छन् । त्यहाँ कार्यरत नेपाली काठमाडौंस्थित एसओएस म्यानपावरबाट गएका हुन् । यो सरकारद्वारा घोषित उत्कृष्ट म्यानपावर हो । यसका अध्यक्ष हेमबहादुर गुरुङले नेपाली कामदार पूर्णरूपमा सुरक्षित भएको बताए । 'हामी कामदारको सुरक्षाको विषयमा निरन्तर कामदार र कम्पनीसँग सम्पर्कमा छौं,' गुरुङले कान्तिपुरलाई भने, 'त्यहाँ अरू देशका करिब तीन हजार कामदार छन् । सबैलाई सुरक्षाकर्मीले पहरा दिइराखेका छन् ।'
निर्माण कम्पनीले पनि नेपालीलगायत सबै विदेशी कामदार सुरक्षाकर्मीको नियन्त्रणमा रहेको जनाएको छ । 'नेपाली, कोरियन, फिलिपिनो, भारतीय, बंगलादेशी, भियतनामी, थाइल्यान्डी र इजिप्सियनी सबै कामदार सुरक्षित छन्,' कम्पनीका नायब महाप्रबन्धक डब्लूएस म्युङले आइतबार सम्बन्धित देशका म्यानपावरलाई दिएको जानकारीपत्रमा भनेका छन्, 'उनीहरूलाई प्रहरी र सेनाले पूर्णरूपमा सुरक्षा दिइरहेका छन् ।' उनले लिबिया सरकार र नागरिकबीच वार्ता जारी रहेको र चाँडै समाधान निस्कने अपेक्षा गरिएको उल्लेख गरेका छन् । निर्माण क्षेत्रमा कार्पेन्टर, पेन्टर, स्टिल फिक्सर, लेबर, कुकलगायत काममा नेपाली कार्यरत छन् ।
source:-ekantipur


0 commentaires