आधुनिक गीत र गजल एउटै हुने हो भने गजललाई छुट्टै विधा नै किन मान्नुपर्यो र ? उर्दू, हिन्दी गजल, हिन्दी गीत, हिन्दी लोकगीत सबै फरक हुन्छन् । हाम्रोमा भने आधुनिक गीत, लोकगीत र गजलमा गायन शैली मात्रै फरक हुन्छ, शब्द उस्तै हुन्छन् ।
झन्डै दुई दसकदेखि शास्त्रीय संगीत सिकाइरहेका गुरुदेव कामत आफै एक कुशल संगीतकर्मी र गायक पनि हुन् । उनी गजल, सुफी, ठुमरी, नेपाली गीत आदि राम्रोसँग प्रस्तुत गर्ने गायक हुन् । अहिलेको नेपाली संगीतबारे उनीसँग गरिएको संक्षिप्त कुराकानीः
पछिल्लो समयका नेपाली गजल कत्तिको सुन्नुभएको छ ?
म गजल सुन्ने मात्रै होइन, आफैँ गाउँछु र कम्पोज पनि गर्छु । मेरो मुख्य विधा शास्त्रीय संगीत भए पनि मैले अरू विधा पनि गाउन सक्छु । अहिलेका नेपाली गजलका शब्द-रचना मैले त्यति स्तरीय भएको पाएको छैन । शब्द राम्रो बनाउन उर्दू शब्दको ज्ञान राख्नुपर्छ । अलिअलि उर्दू शब्द प्रयोग पनि गर्नुपर्छ । गजल आफैँमा उर्दू शब्द भएकाले हामीले उर्दूको ज्ञान राख्नैपर्छ । तर, नेपाली गजलमा त्यस्तो छैन । त्यही शब्द आधुनिकमा प्रयोग भएको हुन्छ, त्यही गजलमा, त्यही लोकगीतमा । त्यस्तो भएपछि गजल कसरी फरक भयो त ? गजलको स्तर बढाउन रचनाकारले बढी सोच्नुपर्छ ।
नेपाली गजलकार वा गायकले गजल विधालाई न्याय नगरेका हुन् त ?
मलाई त्यस्तै लाग्छ । मूलतः रचनाकारले नै गजलमाथि न्याय गर्न सकेका छैनन् । रचनाअनुसार नै संगीतकारले कम्पोज गर्ने हो र त्यसपछि मात्रै गायकले गाउने हो । कम्पोज पनि आधुनिक गीतमा भन्दा फरक हुनुपर्छ । आधुनिक गीत र गजल एउटै हुने हो भने गजललाई छुट्टै विधा नै किन मान्नुपर्यो र ? तपाईंले उर्दू, हिन्दी गजल, हिन्दी गीत, हिन्दी लोकगीत सबै फरक-फरक पाउनुहुन्छ । हाम्रोमा भने आधुनिक गीत र लोकगीतमा पनि गायन शैली मात्रै फरक हुन्छ, शब्द उस्तै हुन्छन् । मलाई अहिलेको नेपाली गजलप्रति त्यत्ति चित्त बुझिरहेको छैन । गजल विधाबारे रचनाकारले बसेर छलफल गर्ने, गजल विधाप्रति अन्तक्रिर्या गर्ने पनि गर्नुपर्छ ।
अहिले बजारमा चलेका आधुनिक गीत कस्ता छन् ?
नेपाली आधुनिक गीतमा भने राम्रो प्रगति भएको छ । गायक-गायिका र संगीतकार पनि एकसेएक आएका छन् । रचना, संगीत र गायन तीनवटै विधा उत्तिकै राम्रा हुनुपर्छ । अहिलेका नेपाली आधुनिक गीतमा गायन पक्ष धेरै राम्रो भएका गीत आइरहेका छन् । आधुनिक गीतको रचना पक्ष पनि राम्रो छ । मूलतः स्वर पक्ष राम्रो देखिन्छ । ट्रयाक सिस्टमले गर्दा धेरै गायक-गायिकालाई सजिलो पनि बनाइदिएको छ ।
तपाईंले शास्त्रीय संगीत सिकाउन थालेकै १८ वर्ष पुगिसक्यो । संगीत सिक्न आउने पहिलेका र अहिलेका विद्यार्थीमा के फरक पाउनुभयो ?
त्यतिवेला यति धेरै गायक-गायिका थिएनन् । अहिलेको जस्तो मिडिया पनि थिएनन् । रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्र मात्रै थिए । संगीतको अहिलेको जस्तो प्रचार-प्रसार पनि हुँदैनथ्यो । शास्त्रीय संगीतको प्रचार-प्रसार त झन् कम हुन्थ्यो । रेडियो नेपालबाट पनि सीमित गायक-गायिकाका गीत बज्थे । अहिले भने मान्छे बाहिरबाट शास्त्रीय संगीत सिकेर आएर आफ्नै लगानीमा स्कुल खोलिरहेका छन् । संगीतको क्षेत्र विस्तार भएको छ । मिडिया बढेका छन् । संगीत सिक्न आउने विद्यार्थी पनि निकै राम्रा-राम्रा छन् । संगीतप्रतिको झुकाव पनि पहिलेभन्दा बढ्दो छ ।
अहिलेका विद्यार्थीमा धैर्यता छैन । हुन त शास्त्रीय संगीतमा मात्रै लागेर बाँच्न पनि नसकिने भएकाले उनीहरू चाँडै सफल हुने बाटो रोज्छन् । दुई/चार महिना सिकेर ठूलो गायक हुने वा एल्बम निकाल्ने रहरले पनि धेरै विद्यार्थी आउँछन् । कतिपय विद्यार्थी त म्युजिक ट्रयाक तयार पारेर रियाजका लागि मकहाँ सिक्न आउनेहरू पनि हुन्छन् । साधना गर्ने जाँगर निकै कम छ ।
नेपाली लोकगीतको अवस्था कस्तो देख्नुभएको छ ?
नेपाली लोकदोहोरी गीत सबै लगभग उस्तै-उस्तै छन् । परिमार्जन हुन बाँकी छ । नेपालमा बढी चल्ने नै लोकदोहोरी हो । तर, लोकगीतकै राम्रो र स्तरीय विकास हुन सकेको छैन । नेपाली लोकगीतलाई अन्तर्राष्ट्रिय रूपमा कसरी पुर्याउने भन्नेतिर पनि हामीले सोच्नुपर्छ । अहिले लोकगीतलाई हामीले नेपालभित्रै पनि राम्ररी प्रचार गर्न सकेका छैनौँ । जस्तै, नेपाली लोकगीत तराईतिर सुनिदै सुनिन्न । मधेस मुलुकको मान्छेले पनि नेपाली लोकगीत, आधुनिक गीत गाउन सक्ने बनाउनुपर्छ । सबैभन्दा पहिले नेपाली गीतलाई नेपाली बजारमै स्थापित गर्नुपर्छ र अन्तर्राष्ट्रियस्तरमा पुर्याउनुपर्छ ।
नेपाली संगीत अझै पनि व्यावसायिक हुन नसकेको हो ?
एल्बम निकाल्नेलाई हेर्नुभयो भने बिजोग छ । उनीहरू रुँदै हिँडेका छन् । कतिलाई कम्पनीले नै डुबाइदिएको छ । कतिको एल्बम नै बिक्दैन । लगानी पनि उठ्दैन । सोख र नामका लागि भनेर धेरै यो क्षेत्रमा लागेका छन् । एकदमै चर्चित केही कलाकारका एल्मबले मात्रै अलिअलि कमाएका होलान् । बरु एल्मबभन्दा अहिले सिआरबिटीबाट केही कमाएका छन् ।
प्रस्तुतिः राजेश राई
source:-nayapatrika


0 commentaires