काठमाडौं, माघ २ - घटनाको एक साताभन्दा बढी भएपनि कमलपोखरीमा ७० लाख लुटिएको घटनाको तथ्य खुल्न सकेको छैन। हतियारसहितको समूहले व्यापारी पवन सरियालाई पुस २२ गते दिउँसो साढे तीन बजे हिमाल असपतालनजिक लुटेको थियो।
मोटरसाइकलमा घरनजिकै आइपुग्दा पैदलै आएका दुई जनाले पेस्तोल देखाएर पैसा भएको ब्याग लुटेको सरियाले बताएका छन्। प्रत्यक्षदर्शीले दिएको हुलियाका आधारमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपनि लुटेराको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।
सरियाले लुटिएको रकमको एकिन विवरण र रकमको स्रोत खुलाउन नसकेकाले अन्योलमा परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए। महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट छुट्टाछुट्टै प्रहरी टोली अनुसन्धानमा खटिएका छन्।
महाशाखाका प्रहरी अधिकारीका अनुसार सरियाकै गतिविधि शंकास्पद देखिएको छ। 'लुटिएको भनिएको रकमको स्रोत र विवरण माग्दा उनले बताउन सकेका छैनन्,' ती अधिकारीले भने, 'कति रकम थियो भन्ने नै जानकारी छैन। ६५ देखि ७० लाख रुपैयाँ रहेको बताउँछन्।'
कमलपोखरी घटनासँगै राजधानीमा दिउँसै भएका लुटपाटका अन्य दुई घटनाको अनुसन्धानमा प्रहरी उपलब्धिहीन देखिएको छ। असोज १० गते नरदेवीमा घर छिर्नै लागेका व्यापारी लक्ष्मीप्रसाद श्रेष्ठको साढे तीन लाख लुटिएको थियो भने दुई महिनाअघि ठमेलमा एक समूहले एक भिक्षुको तीन लाख लुटेका थिए।
बैंकबाट पैसा झिकेर घर आएका श्रेष्ठलाई मोटरसाइकलमा आएका दुई युवकले घरको ढोकैमा पेस्तोल तोकेर रकम लुटेका थिए। बिना मास्क आएका लुटेरासमूहले प्रयोग गरेको मोटरसाइकलको नम्बरसमेत खुलेको थियो। तर प्रहरीले थप तथ्य फेला पार्न सकेको छैन। त्यस्तै त्रिदेवीमार्गमा भिक्षु निमा लामाको रकम लुट्न दुई युवकले गोली नै चलाएका थिए। सो घटनाको पनि उपराध महाशाखा र काठमाडौं परिसर दुवैले अनुसन्धान गरिरहेका छन्।
'तीनवटै घटनाको प्रकृति मिल्ने भएकाले एकै समूहको संलग्नता हुन सक्छ,' महानगरीय अपराध महाशाखाका प्रमुख रणबहादुर चन्दले भने, 'घटनालगत्तै सुरु गरेको अनुसन्धान जारी नै छ।' दिउसो भएका यी तीनै घटना नियोजित देखिएको र समय अन्तरसमेतले एकै समूह संलग्नताको सम्भावना बलियो रहेको उनको तर्क छ। सरियाको घटनाबारे केही तथ्य फेला परिसकेकाले लुटेराहरू चाँडै पक्राउ पर्ने उनको दाबी छ।
source:-nagriknews


0 commentaires