भरतपुर, माघ १ - माघेसंक्रान्ति पर्वका अवसरमा मुलुकका विभिन्न धार्मिक स्थलहरुमा पूजा आजा गर्ने र नदीमा स्नान गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।
चितवन, नवलपरासी र तनहुको पवित्र सगमस्थल देवघाटधाममा दर्शन गर्न आउने श्रदालुको बिहानै देखि घुईचो लागेको छ । हिजो एक कार्यक्रमकाबीच मेलाको औपचारीक उदघाटन भएपछि स्वदेश र विदेशका भक्तजन देवघाट पुग्ने क्रम जारी रहेको छ ।
मेला ब्यबस्थापनको लागी चितवनतर्फ र तनहुंतर्फ सुरक्षाकर्मी परिचालन गरिएका छन् । यस्तै माघेसक्रान्ती मेला भर्न जाने भक्तजनहरुलाई स्नान गर्न सहजहोस् भन्नाका लागि झोलुड्डे पुलमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरेर, जिल्ला प्रहरी कार्यालय चितवन र तनहुंबाट खटाईएका प्रहरीले झलुड्डे पुलको ब्यबस्थापन गरिरहेका छन । सुरक्षब्यबस्था ब्यबस्थित बनाउन जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी नायब उपरिक्षक रबिराज खड्काको संयोजकत्वमा प्रहरी परिचालन गरेको छ ।
हिजो बिहान बेनीमा लिङ्गो गाडेपछि सुरुभएको मेलामा अबिछीन्न भजन किर्तन, होम होमाती भैरहेको छ भने हिजो साझ बिशेष साहित्यीक कार्यक्रम काब्ययामिनी भएको थियो । सोका लागी नेपालका बिभीन्न क्षेत्रबाट श्रस्टाहरु देबघाट पुगेका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतमले ब्यवस्थित र शान्ति पूर्ण तबरले मेला भइ रहेको जनाए ।
कालीगण्डकीमा नुहानेको घुँइचो
माधब अर्याल
पाल्पा- पाल्पा, स्याङ्गजा र गुल्मीको संगम रुरु क्ष्ाेत्रमा शनिवारदेखि माघेसंक्रान्ति मेला सुरु भएको छ । मेलामा विहानैदेखि घुईचो लागेको छ । कालीगण्डकीको तट रिडी रुरुमा विहानै देखि नुहाउनेको भिड लागेको छ । भक्तजनहरु लामो लाईन लागेर पाल्पाको अर्गली गाविसमा रहेको ऋषिकेशब मन्दिरको दर्शन गरेका छन् । मेलामा साधुसन्तको पनि भिड लागेको छ । जेठी, माहिली र कान्छी संक्रान्तिको नामले यहाको मेला चर्चित छ । मेला गर्न देशका विभिन्न भाग तथा स्थानीय बासिन्दा आएका छन् ।
सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मुर्ति फेला परेको र सोही मुर्तिलाई प्रतिष्थापन गरको भन्न किवंदन्ती रहिआएको छ । कालीनदीमा स्थान गरेर ऋषिकेशवको मुर्तिलाईदर्शन गरियो भने मनले चिताएको पुग्ने धारण छ ।
तमोर नदी किनारमा श्रद्धालुको भिड
रमेशचन्द्र अधिकारी
धनकुटा- मकर संक्रान्तिको अवसरमा धनकुटाको प्रसिद्ध धार्मिक स्थल तमोर नदी किनारको मुलघाटमा मकर नुहाउने सर्वसाधारणको आज सबेरैदेखि खचाखच भिड लागेको छ ।
त्यहां नुहाउंदा मनोकांक्षा पुरा हुने र रोग विकार हट्ने विश्वास लिइने गरिन्छ । प्रत्येक वर्ष उक्त स्थानमा धनकुटा, सुनसरी, पाचथर, तेह्रथुम, मोरङ् लगायत जिल्लाबाट हजारौं भक्तजन जाने गर्दछन् । यसैगरी मुलघाटमा रहेको बिश्रान्तिमा पनि आज विशेष पूजा गर्ने सर्वसाधारणको उल्लेख्य भिड लागेकोे छ ।
मोदोबेणीमा भक्तजनको घुँईचो
विमल खतिवडा
पर्वत,माघ १-मांघेसंक्रान्तिको अबसरमा शनिबार पर्वतका प्रसिद्ध धार्मिकस्थलहरु सेतीबेणी र मोदीबेणी घाटमा मेला लागेको छ । सेतीखोला र कालीगण्डकी नदीको संगम तथा बिश्वकै सबैभन्दा ठुलो शालिग्राम शिला रहेको सेतीबेणीधाममा ठूलो मेला लागेको हो । त्यस्तै मोदी र कालीगण्डकी नदीको संगममा रहेको मोदीबेणीघाटमा समेत विहानैदेखि स्नान गर्नेहरुको भिड जमेको छ । कालीगण्डकीमा स्नान गर्न र मेला भर्न हजारौ श्रद्धालुहरुको घुँईचो लागेको हो । सेतीबेणीमा पर्वत, स्याङ्गजा, गुल्मी,भैरहवा र बागलुङ्गबाट ठुलो संख्यामा भक्तजन भेला भएका छन् । यस्तै मोदीबेणीमा माघेसंक्रान्तिकै अबसर पारेर आयोजना गरिएको मेलाको तयारी पुरा भएको मोदीबेनी धाम धार्मिक पर्यटकीय बिकास संस्थाका अध्यक्ष गोपालदास बैरागीले जानकारी दिए ।
source:-ekantipur



0 commentaires