दीपक दाहाल, काठमाडौं, पुस २१- छोराछोरीलाई मेडिकल पढाउने सोच्नुभएको छ भने पहिले ४० लाख रुपैयाँ जोहो गर्नुहोस्। छात्रवृत्ति पाउने ३ सय भाग्यमानीमा नपरे जति नै अब्बल नम्बर ल्याए पनि एकमुष्ठ लाखौं शुल्क तिर्ने ल्याकत हुनैपर्छ।
मेडिकल कलेजहरूको नीति नै छ- चर्को र एकमुष्ठ शुल्क लिने। प्रवेश परीक्षामा ल्याएको राम्रो अंकको त्यहाँ कुनै मूल्यांकन हुँदैन।
शिक्षा मन्त्रालयको छात्रवृत्ति परीक्षामा ८७ प्रतिशत अंक ल्याएका चितवनका अंकुर न्यौपानेले आफ्नो परिवारले लाखौं खर्च गरेर मेडिकल पढाउन नसक्ने बुझेका छन्। उनले आगामी वर्षको परीक्षाका लागि तयारी थालिसकेका छन्। 'छात्रवृत्ति पाउन ३ सयमा पर्नुपर्थ्यो,' अंकुरले भने, 'प्राप्तांकका आधारमा भर्ना हुन पाउँथेँ, तर कहाँबाट तिर्नु शुल्क?'
त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजमा महंगो शुल्क तिर्न नसकेपछि छात्रवृत्तिमा अर्को वर्ष प्रयास गर्नुको विकल्प नरहेको उनी बताउँछन्। उनीभन्दा धेरै कम नम्बर ल्याएका विद्यार्थी निजी खर्चमा एमबिबिएस पढ्दै छन्।
काठमाडौं विश्वविद्यालयले लिने प्रवेश परीक्षामा उत्कृष्ट २ सयभित्र परे पनि उपत्यकाकी एउटी छात्राले पैसा तिरेरै पढ्न पनि रोजेको कलेजमा भर्ना पाइनन्। महंगो शुल्क भएको किस्ट मेडिकल कलेजले विद्यार्थी नपाएपछि बल्ल किस्ताबन्दीमा उनलाई केही दिनअघि भर्ना लियो। किस्टका तुलनामा कम शुल्क भएका कलेज पाए पनि एकमुष्ठ पैसा बुझाउन नसक्दा उनले भर्ना पाइनन्। 'निजी कलेजहरूले किस्ताबन्दी र एकमुष्ठ शुल्क तोके पनि एकमुष्ठ तिर्नेलाई प्राथमिकता दिन्छन्,' इन्स्टिच्युट अफ मेडिकल एजुकेसन (नेम) का निर्देशक डा. नवीन शर्मा भन्छन्।
मेडिकल अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पाटन र धरानस्थित बिपी अस्पतालमा गरेर १ हजार ८ सय ७४ सिट छ। यी सिटमा भर्ना हुन योग्य भन्डै ७ हजार विद्यार्थीको नाम प्रकाशित हुने भए पनि राम्रो नम्बर ल्याउनेभन्दा जसोतसो पास हुने बढी भर्ना हुन्छन्। १९ सय सिटमा ७ हजारको नाम निकाले पनि चर्को शुल्ककै कारण सबै कलेजका कोटामा विद्यार्थी पुगेका छैनन्। केयुको गण्डकी र त्रिविको किस्ट मेडिकल कलेजको सय/सय सिटमा अझै विद्यार्थी भर्ना भइसकेका छैनन्।
त्रिवि, पाटन र धुलिखेलमा ६ सय ७७ र केयुमा ८ सय ३२ जनाले शुल्क तिरेर मेडिकल पढ्न पाउँछन्। शुल्कमा मोलमोलाइ गर्न केयुका ८ सय ३२ सिटमा यो वर्ष सुरुमा १ हजार ३ र पछि थप १ सय ४ जनाको नाम निकालियो। 'सिटभन्दा बढी विद्यार्थी निकालेर भर्नामा चलखेल हुन्छ, एकमुष्ठ र बढी पैसा दिनेलाई राम्रा र पायकका कलेजमा भर्ना दिन्छन्,' काठमाडांै विश्वविद्यालय स्रोतले भन्यो।
त्रिविअर्न्तगत राष्ट्रिय चिकित्सा शिक्षाशास्त्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा.जगदीशप्रसाद अग्रवाल मेडिकलजस्तो गुणस्तरमा सम्झौता गर्नै नसकिने विषयमा विद्यार्थीको 'मेरिट'लाई भर्नाको प्रमुख आधार बनाउनुपर्नेमा मेडिकल कलेजले पैसालाई प्रमुख आधार बनाएको बताए। 'यसले नेपालमा मेडिकल अज्ञानताको महामारी नै निम्त्याउँछ,' अग्रवालले भने। उनले राज्यले शुल्कको सीमा तोकेर विद्यार्थीलाई नम्बरका आधारमा भर्ना लिनुपर्ने बताए।
नेपालका मेडिकल कलेजमा एबिबिएस पढ्न २५ देखि ४० लाख रुपैयाँ लाग्छ, त्यो पनि अधिकांशमा एकमुष्ठ तिर्नुपर्छ। 'शुल्ककै कारण राम्रा विद्यार्थी एमबिबिएस पढ्न बञ्चित छन्, कतिपय मेडिकल कलेजले पढाइ सुरू गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि विद्यार्थी पाएका छैनन्,' नेमका शर्माले भने।
ठूलो लगानी उठाउन पैसालाई भर्नाको आधार बनाउनु परेको कलेज सञ्चालक बताउँछन्। केही कलेजले किस्ताबन्दीको आश्वासन दिएर एकमुष्ठ दिने विद्यार्थीसँग बार्गेनिङ गरिरहेको स्रोत बताउँछ।
'विद्यार्थी नपाउनुको कारण महंगो शुल्क नै हो,' नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघका अध्यक्ष डा.सुरेशकुमार कनौडिया भन्छन्, 'एक्कासी शुल्क बढाएका र भर्खर खुलेकाले विद्यार्थी पाएनन्।'
काठमाडौंको किस्ट मेडिकल कलेजले पाँच वर्षको शुल्क एकमुष्ठ ३४ लाख र किस्ताबन्दीमा ३९ लाख रुपैयाँ तोकेको छ। कलेजले गत वर्षभन्दा १० लाख रुपैयाँ शुल्क बढाएको छ। किस्ताबन्दीमा पनि ५० प्रतिशत सुरूमै बुझाउनु पर्छ। किस्ट कलेजका प्राज्ञिक निर्देशक डा.बालमानसिंह कार्कीले भने, 'ठूलो लगानीमा भर्खरै खोलिएकाले कलेज बचाउन महंगो शुल्क लिन बाध्य भएका हौं।'
नेपाल मेडिकल कलेज जोरपाटीमा एमबिबिएस पढ्न एकमुष्ठ ३० लाख र कलेज अफ मेडिकल साइन्स भरतपुरमा ३४ लाख बुझाउनुपर्छ। सबैभन्दा सस्तो सामुदायिक स्तरमा सञ्चालित धुलिखेलमा २० लाख हाराहारी, निजी क्षेत्रको लुम्बिनी मेडिकल कलेज पाल्पामा एकमुष्ठ २६ लाख र किस्ताबन्दीमा ३० लाख रुपैयाँ तिर्नुपर्छ। शुल्कबाहेक खानबस्न कम्तीमा वार्षिक एक लाख खर्च हुन्छ।
स्रोतका अनुसार काठमाडौंका मेडिकल कलेजले तोकिएभन्दा १ देखि २ लाखसम्म बढी शुल्क लिन्छन्। 'राजधानीका अधिकांश अभिभावक छोराछोरीलाई बाहिर पठाउन नपरोस् भन्ने चाहन्छन्,' चिकित्साशास्त्र डिनको कार्यालय महाराजगञ्ज स्रोतले भन्यो, 'महंगो शुल्क लिएर परिवारको यो भावनासँग फाइदा लिने पनि छन्।'
source:-nagriknews



0 commentaires