शिक्षिकाले कुटेकी बालिका न्युरो अस्पतालमा

खिलानाथ ढकाल, विराटनगर, मंसिर १२- मोरङ उर्लाबारी-१ की सुस्मिता आचार्यको दोष यति मात्र थियो- झोलामा 'मिठा मधु'को खोल भेटियो। त्यसैलाई निहुँ पारेर शिक्षिकाबाट निर्घात पिटिएकी १४ वर्षीया सुस्मिता मानसिक आघात परेको छ।   न्यूरो अस्पताल विराटनगरमा उपचाररत् सुस्मिता दिनमा दुई पटकसम्म होस् गुमाउँछिन्, स्वासप्रश्वास ठप्प हुन्छ, अक्सिजनको सहारा लिइरहनुपर्छ। एकपटक बिसेक भएर घर फर्केकी उनलाई उक्त समस्याले झनै सताउन थालेपछि शुक्रबारदेखि बेडमै राखेर उपचार भइरहेको छ। गत बुधबार दिउँसो करिब २ बजेको घटना। शिक्षिका मिश्र वैजयन्तीले झोलाको तलासी लिने क्रममा दुईवटा मधुका खोल भेटाइन्। भेट्नेबित्तिकै झापड र पाइपले जथाभावी हिर्काइन्।  हिर्काएको केही छिनदेखि होस् गुमाउन थालेकी उनलाई उर्लाबारी अस्पतालमा उपचारका लागि भर्ना गरियो। समस्या बढेपछि विराटनगर ल्याइएको हो। सुस्मिता शनिबार दुई पटक बेहोस् भएकी थिइन्, आइतबार एक पटक। डाक्टरका अनुसार ब्यथाले च्याप्नेबित्तिकै उनलाई अक्सिजनको सहारा चाहिन्छ।  'गालामा हातले र पिँडुलामा पाइपले हिर्काउँदै हुनुन्थ्यो, कति हिर्काउनुभयो पत्तै भएन', न्यूरो अस्पतालमा सुस्मिताले नागरिकसँग भनिन्, 'पछि साथीभाईले सुनाउँदा उहाँले ४०/४५ पटक झापड हान्नुभएको थियो रे।'  उनको उपचारमा संलग्न बरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर रञ्जन थापाका अनुसार सुम्मिता खतरामुक्त त छिन्, तर उक्त घटना बारम्बार सम्भि्कने गरेका कारण ब्यथाले च्यापिरहन्छ। थापाका अनुसार उनलाई 'एक्युट स्ट्रेस् रियाक्सन' अर्थात् तनावले हुने ब्यथाले अत्यधिक च्याप्छ।  'निको हुन कति समय लाग्छ यसै भन्न सकिएन', थापाले भने, 'केही समयपछि हराउन सक्छ।'  'ब्यथाले च्याप्दा उनी अत्यधिक डराउँछिन्, जसले गर्दा स्वासप्रश्वासमा जटिल समस्या आउँछ', थापाले भने, 'अनि अक्सिजन दिइहाल्नुपर्छ।'  सुस्मिताकी आमा शुभद्राका अनुसार उनले बिरामी भइकन जुस र फलफूलबाहेक केही खाएकी छैनन्, धेरै कमजोर भइसकेकी छिन्। 'बिहान ल्याइदिएको नास्ता त्यतिकै छ', उनले भनिन्, 'खानै मान्दिनँ।'  छोरीमाथि शिक्षिकाबाट भएको अमानवीय पिटाइ सहन नसकेर उनले स्थानीय प्रहरीमा उजुरी गर्ने मनस्थिति पनि बनाइन्। तर गाउँकै बुद्विजीवी र प्रहरीहरुले मिलापत्र गराइदिए। 'गल्ती गरेको स्वीकार गरेर अबदेखि यस्तो हुँदैन भनेका छन्', उनले भनिन्, 'उपचारखर्च सबै विद्यालयले नै ब्यहोरिरहेको छ।'  उर्लाबारी-२ स्थित सप्तकोशी उच्च माविमा कक्षा ८ मा पढ्दै गरेकी सुस्मितालाई अब उक्त स्कूलमा पढाउने/नपढाउनेबारे उनी अन्योलग्रस्त छिन्। 'छोरीको अवस्था हेर्दा त्यहीँ पढाउन त्यति उचित हुन्छ जस्तो लागेको छैन', उनले भनिन्।  सप्तकोशी उच्च माविका प्रिन्सिपल लेखनाथ भट्टराईले गम्भीर गल्ती भएको भन्दै समाचार नलेखिदिन आग्रह गरे। 'नोक्सान नपारिदिनुहोला', भट्टराईले भने, 'पीडितसँग एकप्रकारको सम्झौता गरेका छौं', भट्टराईले भने, 'उनी बालिकालाई यही स्कूलमा पढ्ने वातावरण बनाउँछौं, उपचारमा लागेको सबै खर्च ब्यहोर्छौं।'  कुटपिटमा संलग्न शिक्षिका वैजयन्तीले साह्रै ठूलो गल्ती भएको भन्दै पश्चाताप भइरहेको बताइन्। 'मैले अमानवीय व्यवहार गरे, मलाई पश्चाताप भइरहेको छ', वैजयन्तीले भनिन्, 'त्यही विषयमा स्थानीय पत्रिकाको कार्यालय समेत तोडफोड भयो, हामी क्षमा चाहान्छौं।'


source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login